मुस्ताङस्थित चीन–नेपाल सीमाको कोरोला नाकाबाट भित्रिएको करोडौँ मूल्य बराबरको इलेक्ट्रोनिक चुरोट (भेप) बरामद प्रकरणले सीमावर्ती क्षेत्रमा सक्रिय सम्भावित तस्करी सञ्जालमाथि गम्भीर प्रश्न उठाएको छ। मुस्ताङ भन्सार कार्यालयको सक्रिय निगरानी र ‘फिल्ड अपरेशन’पछि दुईवटा गाडी नियन्त्रणमा लिँदा करिब १ लाख २० हजार पिस भेप, रेडिमेड सामान तथा जुत्तासमेत बरामद भएपछि घटनाले राष्ट्रियस्तरमै चासो तानेको हो।
बिज्ञापन
यो अपरेशनको नेतृत्व कोरोला भन्सार प्रमुख बिदुर चुडालले गरेका थिए। दुर्गम हिमाली भूगोल, न्यून पूर्वाधार र सीमित जनशक्तिबीच गरिएको उक्त कारबाहीलाई भन्सार वृत्तमा असामान्य सफलताका रूपमा हेरिएको छ। तर, घटनाले अर्को गम्भीर प्रश्न पनि उठाएको छ—यति ठूलो परिमाणको अवैध सामान सीमावर्ती क्षेत्र पार गरेर नेपाल भित्रिन कसरी सम्भव भयो ?
“सूचना बाहिर गइरहेको थियो”
भन्सार प्रमुख चुडालका अनुसार कोरोला नाकाबाट सामान्यतया रेडिमेड सामान आउने गरे पनि क्वारेन्टाइन हुने वस्तु खासै नआउने भएकाले नियमित निगरानी तुलनात्मक रूपमा सहज थियो। तर पछिल्लो घटनामा भने भन्सारको सूचना प्रणालीभन्दा बाहिर गतिविधि भइरहेको संकेत पाएपछि उनीहरू सतर्क बनेका थिए।
बिज्ञापन
“हामीलाई गाडी माथि गइसकेको सूचना आयो। चीनतर्फबाट गाडी निस्किएको जानकारी पाएपछि हामी अलर्ट भएर बसेका थियौँ,” चुडालले भनेका छन्, “यहाँको भौतिक पूर्वाधार राम्रो छैन। राति गाडी जान सक्छ भन्ने अनुमान गरेर भन्सार यार्डभन्दा तल बसेर निगरानी गरिरहेका थियौँ।”
उनका अनुसार राति करिब १२ बजेतिर दुईवटा गाडी नेपालतर्फ प्रवेश गरेपछि टोलीले पछ्याएर पुनः नियन्त्रणमा लिएको थियो। त्यसपछि नेपाल प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई खबर गरिएको थियो।
“पहिले हामी कर्मचारी मात्रै थियौँ। पछि नेपाल प्रहरी र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्यौँ। उहाँहरूको सहयोगपछि गाडीलाई यार्डमा ल्याउन सफल भयौँ,” उनले बताएका छन्।
दुई गाडी, तीन पक्राउ, लेतेबाट ‘ट्र्याक’ गरेर अर्को व्यक्ति पक्राउ
भन्सार कार्यालयले ना ६ ख ४८४३ र ना ५ ख ७९२१ नम्बरका दुईवटा गाडी नियन्त्रणमा लिएको छ। गाडीका चालक सन्तोष लामा र फुन्चु दोर्जेलाई नियन्त्रणमा लिइएको छ भने रविन्द्र दर्नाललाई मुस्ताङको लेते क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार दर्नाल गाडी नियन्त्रणपछि सम्पर्कविहीन बनेका थिए। प्रहरी टोलीले ट्र्याकिङ गर्दै उनलाई लेतेबाट पक्राउ गरेको हो। उनी भाग्ने प्रयासमा रहेको आशंका गरिएको अनुसन्धान स्रोतको भनाइ छ।
खानतलासी तथा कानुनी प्रक्रिया पूरा गर्दा करिब १ लाख २० हजार पिस भेप, रेडिमेड कपडा र जुत्तासहितका सामान बरामद भएको छ। बरामद सामग्री सुरक्षित राख्न जिल्ला प्रहरी कार्यालय मुस्ताङमा राखिएको छ।
“ड्राइभर मात्रै होइनन्, पछाडि ठूलो सञ्जाल हुन सक्छ”
घटनाको सबैभन्दा संवेदनशील पक्ष भने पक्राउ परेका व्यक्तिहरू ‘मुख्य योजनाकार’ नभई ढुवानीमा प्रयोग गरिएका व्यक्ति मात्रै हुनसक्ने आशंका हो। भन्सार र सुरक्षा स्रोतका अनुसार यति ठूलो परिमाणको अवैध सामान सीमावर्ती नाकाबाट सहज रूपमा प्रवेश गर्नु सामान्य घटना नभएको दाबी गरिएको छ।
स्रोतका अनुसार यसमा केही कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा “उच्च पहुँच” भएका व्यक्तिहरूको समेत संरक्षण वा मिलेमतो हुनसक्ने आशंका गरिएको छ। “स्थानीय तहको सहयोगबिना यस्तो खेप नेपाल भित्रन गाह्रो हुन्छ,” एक स्रोतले भन्यो, “यो केवल ड्राइभर पक्राउ गरेर टुंग्याउने विषय होइन।”
अनुसन्धानमा संलग्न अधिकारीहरू पनि प्रारम्भिक रूपमा संगठित तस्करी सञ्जाल सक्रिय रहेको निष्कर्षतर्फ उन्मुख देखिएका छन्। विशेषगरी चीन सीमावर्ती क्षेत्र हुँदै उच्च कर लाग्ने सामग्री नेपाल भित्र्याएर बजारसम्म पुर्याउने गिरोह सक्रिय रहेको आशंका गरिएको छ।
सिआइबी अनुसन्धानमा तानिए मात्रै ‘वास्तविकता’ बाहिर आउला ?
घटनापछि अब अनुसन्धानको दायरा केवल भन्सार उल्लंघनमा सीमित नराखी संगठित अपराध, आर्थिक नेटवर्क र सम्भावित संरक्षणकर्तासम्म विस्तार गर्नुपर्ने आवाज उठ्न थालेको छ।
सुरक्षा स्रोतहरूका अनुसार यो प्रकरणलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गहिरोसँग अनुसन्धान गरे मात्रै वास्तविक ‘नेटवर्क’ बाहिर आउन सक्छ। अन्यथा घटनालाई सामान्य बरामदीमा सीमित पारेर ढाकछोप गरिने सम्भावना रहेको दाबी भइरहेको छ।
“यदि सिआइबी स्तरबाट आर्थिक लेनदेन, फोन सम्पर्क, गाडी मालिक, भन्सार पहुँच र सुरक्षा संयन्त्रको भूमिकामाथि अनुसन्धान भएन भने यो विषय फेरि हराउन सक्छ,” स्रोतले भन्यो।
कोरोला नाका फेरि विवादमा
पछिल्लो समय कोरोला नाका हुँदै रेडिमेड सामान, इलेक्ट्रोनिक्स तथा उच्च कर लाग्ने वस्तुहरू अवैध रूपमा नेपाल भित्रिने क्रम बढेको सुरक्षा निकायको विश्लेषण छ। भौगोलिक कठिनाइ, सीमित निगरानी र पूर्वाधार अभावका कारण नाका ‘संवेदनशील ट्रान्जिट’ बन्दै गएको बताइन्छ।
यो घटनाले सीमावर्ती सुरक्षा प्रणाली, भन्सार निगरानी र अन्तर–निकाय समन्वयमाथि फेरि गम्भीर प्रश्न खडा गरेको छ। अबको अनुसन्धानले पक्राउ परेका व्यक्तिभन्दा माथिका ‘मुख्य खेलाडी’ सम्म पुग्न सक्छ कि सक्दैन भन्ने चासो बढेको छ।
कोरोला नाकाबाट भित्रियो १ लाख २० हजार ‘भेप’ : रविन्द्र दर्नाल सहित तीन जना पक्राउ
कोरोला नाकाबाट शंकास्पद दुई गाडी नियन्त्रणमा, करिब एक लाख ‘भेप’ रहेको आशंका



































