लोक सेवा आयोगको शाखा अधिकृत, उपसचिव र सहसचिव तीनै तहको परीक्षामा प्रथम स्थान हासिल गर्न सफल सहसचिव विजयकुमार शर्माले लोकसेवा तयारी गरिरहेका प्रतिस्पर्धीहरूलाई सफलता प्राप्त गर्न योजनाबद्ध अध्ययन, अनुशासन र निरन्तर अभ्यास नै सबैभन्दा महत्वपूर्ण आधार भएको बताएका छन्।
बिज्ञापन
उहाँका अनुसार तयारीको सुरुआत स्वअध्ययनबाट हुनुपर्छ। नियमित रूपमा स्तरीय लेख–रचना पढ्ने, समूह अध्ययन गर्ने र विगत पाँचदेखि दस वर्षसम्मका प्रश्नपत्रको गहिरो विश्लेषण गर्दै सम्भव भएसम्म भौतिक रूपमा परीक्षा दिएर अभ्यास गर्ने बानीले आत्मविश्वास बढाउँछ। उत्तर लेख्दा अरूको शैली नक्कल गर्नुको सट्टा आफ्नै मौलिक विचार र विश्लेषण प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव छ।
बिज्ञापन
शर्माले लोकसेवाको तयारीलाई व्यापारिक प्रचारप्रसारसँग जोडेर हेर्न नहुने बताउनुहुन्छ। ‘लाइफटाइम अफर’, ‘पास नगरुञ्जेल’ जस्ता आकर्षक विज्ञापनको पछि लाग्नुको सट्टा सीमित समयभित्र योजनाबद्ध अध्ययनमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ। अध्ययनका क्रममा आवश्यक र आधिकारिक डिजिटल स्रोतको मात्र प्रयोग गर्न, नियमित पुनरावृत्ति गर्न तथा थोरै तर स्तरीय र आधिकारिक पुस्तकहरू पटक–पटक पढ्न उहाँले आग्रह गर्नुभएको छ।
उहाँका अनुसार सम्बन्धित ऐन, कानुन, नीति तथा आधिकारिक तथ्यांकको अध्ययनले उत्तरलाई तथ्यपरक बनाउँछ। परीक्षा हलमा समय व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुने भएकाले निर्धारित समयभित्र उत्तर लेख्ने अभ्यास निरन्तर गर्नुपर्छ। लामो पाठलाई बुलेट, फ्लोचार्ट र डायाग्राममार्फत छोटो तथा सम्झन सजिलो ‘रिभिजन नोट’ मा रूपान्तरण गर्दा तयारी अझ प्रभावकारी हुने उहाँको अनुभव छ।
बिज्ञापन
लोकसेवा तयारी केवल पढाइमा सीमित नहुने भन्दै शर्माले पर्याप्त निद्रा, स्वस्थ खानपान, हल्का व्यायाम र मानसिक सन्तुलनलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउनुहुन्छ। साथै, जानकार साथी वा प्रशिक्षकबाट नियमित सुझाव र प्रतिक्रिया लिएर आफ्ना कमजोरी सुधार्दै जानुपर्ने उहाँको धारणा छ। कानुनका धारा नम्बर घोक्नु भन्दा त्यसको भावना, उद्देश्य र व्यवहारिक प्रयोग बुझेर अध्ययन गर्नुपर्ने उहाँको जोड छ।
अन्त्यमा उहाँले अनावश्यक व्यापारिक विज्ञापन र डिजिटल विचलनबाट टाढा रहँदै डिजिटल अनुशासन कायम राख्न सके लोकसेवा तयारी अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँको भनाइमा, योजनाबद्ध अध्ययन, मौलिक सोच, निरन्तर अभ्यास र अनुशासित जीवनशैली नै लोकसेवामा सफलता हासिल गर्ने सबैभन्दा भरपर्दो सूत्र हो।






























