सडक खुलाउन महानिर्देशक जैसी फिल्डमै, मालढुंगा–जोमसोम सडक पाँच दिनभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । बाढी, पहिरो र सडक कटानका कारण अवरुद्ध भएका सडक खण्ड सञ्चालनमा ल्याउन सडक विभागका महानिर्देशक डा. विजय जैसी फिल्डमै खटिएका छन्। देशका विभिन्न स्थानमा सडक अवरोध भएपछि महानिर्देशक जैसी अवरोधस्थलमै पुगेर सडक खुलाउने कामको प्रत्यक्ष अनुगमन तथा समन्वय गरिरहेका छन्।

बिज्ञापन

विशेषगरी पोखरा–मालढुंगा–बेनी–तातोपानी–घासा–जोमसोम सडक खण्डमा बाढी तथा पहिरोका कारण क्षति पुगेका स्थानमा सडक विभागले तीव्र गतिमा काम अघि बढाएको छ। विभागका प्राविधिकहरूका अनुसार अधिकांश खण्डमा यातायात सञ्चालनमा आइसके पनि केही स्थानमा सडक पुनर्निर्माण तथा पहिरो हटाउने काम अझै बाँकी छ।

बिज्ञापन

पोखरा–मालढुंगा सडक सञ्चालनमा आइसकेको छ। मालढुंगा–कालीगण्डकी पुल क्षेत्रमा बाढीले क्षति पुर्‍याएको भागमा सडकको भराइ तथा तटबन्ध निर्माणको काम भइरहेको छ। उक्त स्थानमा जालीको बोरामा ढुंगा तथा माटो भरेर सडकको संरचना तयार पार्ने काम भइरहेको छ। हालसम्म करिब ८ सय जालीका बोरा भरिसकिएको र काम निरन्तर अघि बढेमा सात दिनभित्र उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने विभागले जनाएको छ।

मालढुंगा–बेनी सडक पनि सञ्चालनमा आइसकेको छ। बेनी–गलेश्वर सडक तथा गलेश्वर–बैसरी सडक खण्डसमेत सञ्चालनमा रहेका छन्। करिब ८ किलोमिटर लामो गलेश्वर–बैसरी खण्डमा तीन स्थानमा ठूला पहिरो गएकोमा दुई स्थानको पहिरो हटाइसकिएको छ। एउटा ठूलो पहिरो भने अझै सफा गर्न बाँकी रहेको छ।

बिज्ञापन

कुइनेटामा करिब एक सय मिटर सडक बगाएको अवस्थामा रहेको छ। बैसरीमा गएको पहिरोबाट आएको सामग्री प्रयोग गरी उक्त स्थानमा सडकको भाग भर्ने तयारी गरिएको छ। त्यसैगरी बेगखोलामा रहेका पाँच पहिरोमध्ये चारवटा हटाइसकिएको छ भने महभीरमा गएको पहिरो हटाउने काम बाँकी रहेको छ। रातापानीमा गएको पहिरो भने हटाइसकिएको विभागले जनाएको छ।

पोखरेबगरमा भने पुलको पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था रहेको छ। तातोपानीभन्दा माथिल्लो क्षेत्रमा सडकको बाटो खुलिसकेको छ। उक्त क्षेत्रमा मात्रै करिब २० वटा पहिरो हटाएर सडकको बाटो खोलिएको छ। यद्यपि यातायात पूर्ण रूपमा सञ्चालन गर्न अझै करिब १३ किलोमिटर सडक खण्डमा काम गर्न बाँकी रहेको छ।

सडक खुलाउने कामलाई तीव्रता दिन दुई वटा ड्रोनमार्फत करिब ८० लिटर डिजेल आपूर्ति भइरहेको छ। आवश्यक इन्धन तथा निर्माण सामग्रीको व्यवस्थापन गर्दै विभागले अवरुद्ध सडकलाई तत्काल सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। मौसम तथा अन्य प्राविधिक समस्या नआएमा बाँकी काम सम्पन्न गरी पाँच दिनभित्र उक्त सडक खण्डमा यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

फिल्डमा खटिएका प्राविधिक प्रमुख इन्जिनियर नरेन्द्र सुवेदी र योजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध स्थानमा आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी काम भइरहेको छ। सडक विभागले मुख्य राजमार्गमा यातायात सहज बनाउने गरी प्राथमिकताका आधारमा अवरोध हटाउने कामलाई अघि बढाएको जनाएको छ।

यसैबीच काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख सडकहरू भने अधिकांश सञ्चालनमा रहेका छन्। पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ तथा कुलेखानी–भीमफेदी सडक दुईतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

तर बाढी तथा पहिरोका कारण केही महत्वपूर्ण सडक खण्डमा अझै अवरोध कायमै छ। रसुवाको बेत्रावती–धुन्चे सडक खण्डमा बाढीले क्षति पुर्‍याएपछि त्यहाँ नयाँ धातुको पुल निर्माणको काम भइरहेको छ। त्यसैगरी मुस्ताङको गलेश्वर–जोमसोम सडक खण्डमा पनि बाढी तथा पहिरोका कारण सडक पूर्ण रूपमा सहज हुन सकेको छैन।

सडक विभागले अवरुद्ध सडकलाई प्राथमिकताका आधारमा सञ्चालनमा ल्याउँदै लगेको जनाएको छ। महानिर्देशक जैसी आफैँ प्रभावित क्षेत्रमा पुगेर प्राविधिक टोलीसँग समन्वय गर्दै सडक खुलाउने कामको अनुगमन गरिरहेकाले अवरुद्ध सडकमा कामले तीव्रता पाएको विभागका अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

बिशेष