निजामती सेवाकै अभिभावक मानिने मुख्य सचिवको भूमिका विस्तारै क्षयीकरण हुँदै गएको अनुभव कर्मचारी वृत्तमा हुन थालेको छ । कर्मचारी परिचालन,सचिवहरुको जिम्मेवारी हेरफेरदेखि निजामती क्षेत्रभित्रै देखिएका कतिपय वेथिति नियन्त्रणमा मुख्य सचिवको भूमिका नै देखिन छाडेको कर्मचारी वृत्तबाट आवाज उठ्न थालेको छ । पछिल्लो समय कर्मचारीमाथि धरपकड हुँदा समेत मुख्य सचिवको प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आवाज कर्मचारी वृत्तबाटै सुनिन थालेको छ । कर्मचारीहरुले आफ्ना अभिभावक विमल कोइराला,लीलामणि पौडेलजस्ता मुख्य सचिव खोजिरहेका छन् तर त्यस्ता भूमिका पछिल्ला मुख्यसचिवहरुबाट देखिन छाडेको टिप्पणी गर्दैछन्,प्रशासकहरु ।
बिज्ञापन
निजामती प्रशासनका कमाण्डर गोविन्द कार्कीको भूमिकालाई लिएर उनको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । हालैमात्रै सिँचाई विभागको महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएर ठेक्का रद्ध गर्न दबाब दिइएको खुलासा भएको हो । झण्डै १६ अर्ब बजेटको सुनकोसी मरिन ड्राइभसर्नको ठेक्का आफूले नपाउने स्थिति बनेसँगै एक निर्माण व्यवसायीको दबाब र प्रभावमा महानिर्देशक र आयोजना प्रमुखलाई बन्धक बनाइएको र अन्तिममा दबाब दिएर ठेक्का रद्ध गर्न लगाइएको बिषय सार्वजनिक भइसकेको छ । यस्तो अबस्थामा समेत मुख्य सचिव गोविन्द कार्कीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्,बहालवाला सचिवहरुले नै ।
बिज्ञापन
सचिवमा बढुवा भएको करिब दुई वर्षको अवधिमै मुख्यसचिव बन्न सफल भएका कार्कीलाई प्रशासनिक क्षेत्रमा अध्ययनशील, शान्त स्वभावका र नतिजामुखी कर्मचारीका रूपमा चिनिन्छ । सरकारी संयन्त्रभित्र समन्वयकारी भूमिका खेल्न सक्ने प्रशासकका रुपमा चिनिएका कार्की मुख्य सचिव बने पछि उनको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्,प्रशासकहरुले नै ।
गत सोमबार मुख्यसचिव कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकमा समेत यस्ता बिषयमा कुनै निर्णय नगरिनुले पनि कर्मचारीहरु मुख्य सचिवको निर्णय क्षमतामाथि प्रश्न गर्न थालेका छन् । गत सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र प्रभावकारी बनाउनेदेखि बजारमा हुने उपभोक्ता ठगी, मिसावट तथा कृत्रिम अभाव नियन्त्रण गर्न सघन अनुगमन गर्ने सहितका सात वटा निर्णय गरे पनि निजामती सेवा अध्यादेश, कर्मचारीलाई गरिएको दुर्ब्यवहार र धरपकडका सम्बन्धमा कुनै निर्णय गर्न सकेनन् । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई केरकार गर्नेदेखि राहदानीको ठेक्का समेत रद्ध गर्ने र तत्कालीन महानिर्देशकलाई दबाबमा मुद्धा चलाइएको थियो ।
बिज्ञापन
यस अघि मुख्य सचिव थिए,सुमनराज अर्याल । सोही समयमा तत्कालीन लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको जन्ममिति दुई थरी भेटिएको थियो । निजामती किताबखानामा भएको विवरणअनुसार उनी चैत १२ गते उमेरहदका कारण लोकसेवाबाट अवकाश हुँदै थिए । प्रधानमन्त्री बालेन साहको सचिवालयले रेग्मीको उमेरका विषयमा प्रमाणपत्रहरू भिडाएर हेर्दा । एसएलसीदेखि उच्च शिक्षासम्मका प्रमाणपत्रमा रेग्मीको जन्ममिति जेठ २० लेखिएको छ भने नागरिकता बनाउँदा उमेर १७ वर्ष थियो । नागरिकता जारी भएको चैत १२ लाई आधार मानेर अवकाश उमेर पनि त्यही कायम गरियो । र, सोहीअनुसार सचिवबाट अवकाश भएका थिए ।लोकसेवाबाट रेग्मी घर नगएपछि उनीबारे बुझ्न प्रधानमन्त्रीको सचिवालय सक्रिय भएको र यसैक्रममा प्रमाण भिडाएर समात्ने योजना बनाइएको बुझिएको छ । संवैधानिक परिषदमा सदस्यसचिव मुख्यसचिव हुने प्रावधान छ । सोही आधारमा अर्यालले सहजीकरण गरेको, अवकाशको उमेरहदकै विवादमा एउटा संवैधानिक आयोगको अध्यक्षलाई त्यसरी पक्राउ गर्नु राम्रो नहुने भनी प्रधानमन्त्री कार्यालयका कर्मचारीले प्रधानमन्त्रीको सचिवालयलाई रिपोर्ट गरेको स्मरण गर्दछन्,एक सहसचिव ।
एक दिन भए पनि थुन्ने साथीहरु थिए तर मुख्यसचिवले बेलैमा भूमिका खेलेका कारण रेग्मी पक्राउ पर्नबाट जोगिएका थिए तर अहिलेका मुख्यसचिवबाट त्यस्को भूमिका निर्वाह हुन नसकेको सहसचिव र सचिवहरुले नै बताउन थालेका छन् ।
कानुनतः मुख्य सचिव प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकार हुन्छन् । मुख्य सचिवलाई प्रशष्तै अधिकार दिइएको छ, त्यो अधिकार प्रयोग गर्ने आँट र इच्छाशक्ति र सुशासन ऐनअनुसारको जिम्मेवारी बहन गर्न नसकेको आरोप र प्रश्नको घेरामा बहालवाला मुख्यसचिव गोविन्द कार्की रहेका छन् । प्रशासनविद्हरु भने पछिल्ला मुख्यसचिवहरु जागिर खाने, वृत्ति विकास हेर्ने र सरकारको निर्णयलाई सदर गर्ने कार्यमामात्र सिमित बनेका कारण मुख्य सचिवको ओहदा र गरिमा खस्कदै गएकोमा चिन्ता प्रकट गर्दछन् ।





























