सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रशासन र प्राविधिक सेवातर्फ एक–एक गरी दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको छ। सचिव बढुवा सिफारिस समितिले दुवै समूहमा रिक्त एक–एक पदका लागि तीन–तीन जनाको नाम सिफारिस गरिसकेकाले अब मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ।
बिज्ञापन
प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि बढुवा समितिले आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको छ। समितिले योग्यताक्रममा आभालाई पहिलो नम्बरमा राखेको छ।
बिज्ञापन
सिफारिस भएका तीन जनामध्ये आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गर्ने तयारी रहेको स्रोतहरूले बताएका छन्। आभा हाल मधेश प्रदेशमा कार्यरत छिन्। उनी तेस्रो पटक सचिव बढुवाको सिफारिसमा परेकी हुन् भने चक्रबहादुर बुढा दोस्रोपटक र जयनारायण आचार्य पहिलोपटक सिफारिसमा परेका हुन्। तीनै जना २०७१ सालका सहसचिव हुन्।
यसअघि नै प्रशासनतर्फको सचिव बढुवा सिफारिस भइसकेको भए पनि प्राविधिकतर्फको प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको थिएन। सोमबार बसेको सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त एक सचिव पदका लागि डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेपछि दुवै समूहको बढुवा प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो।
बिज्ञापन
प्राविधिकतर्फ पहिलो नम्बरमा सिफारिस भएका डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने तयारी रहेको बताइएको छ। उनी हाल ऊर्जा मन्त्रालयमा निमित्त सचिवका रूपमा कार्यरत छन्। दोस्रो नम्बरमा रहेका नवीनराज सिंह लगानी बोर्डमा र तेस्रो नम्बरमा रहेकी मीना श्रेष्ठ खानेपानी मन्त्रालयमा कार्यरत छन्।
यसरी आजको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएमा आभा श्रेष्ठ कर्ण प्रशासनतर्फ र डा. जगदीश्वर कर्माचार्य प्राविधिकतर्फ सचिवमा बढुवा हुनेछन्।





























