बिज्ञापन
ऐन विपरित सुनकोशी गाउँपालिकामा कार्यरत एक कर्मचारी राजनीतिक दलको प्रतिनिधि बनेको पाइएको छ । सुनकोशी गाउँपालिकामा कार्यरत कर्मचारी अशोक किरण लुइँटेल नेपाली कांग्रेसको क्रियाशील सदस्य मात्र होइन, क्षेत्रीय प्रतिनिधिसमेत रहेको विवरण सार्वजनिक भएको हो । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक (चौथो तह)का कार्यरत रहेको लुइँटेल नेपाली कांग्रेसको सुनकोशी १ बाट क्षेत्रीय प्रतिनिधि बनेका हुन् ।
बिज्ञापन
सरकारी सेवामा रहेका कर्मचारी राजनीतिक दलको सक्रिय सदस्य बन्न नपाउने कानुनी व्यवस्थाको धज्जी उडाउँदै उनी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका पाइएको छ । सुनकोशी गाउँपालिका–१, बलखु स्थायी ठेगना रहेका उनको क्रियाशील सदस्यता नम्बर ०५५२१४ र मतदाता क्रम संख्या १४ रहेको विवरणमा उल्लेख छ ।
जबकी निजामती सेवा ऐन, २०४९ को दफा ४४ ले निजामती कर्मचारीलाई राजनीतिमा भाग लिन बन्देज लगाएको छ । जहाँ कुनै कर्मचारीले कुनै पनि राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव पार्न हुँदैन भनेर स्पष्ट लेखिएको छ । कर्मचारीको राजनीतिक तटस्थता र आचरणसम्बन्धी व्यवस्थाले पनि दलगत राजनीतिक गतिविधिमा संलग्नतालाई निषेध गरेको भए पनि यस्ता ऐनलाई धज्जी उडाउँदै उनी पनि क्षत्रीय प्रतिनिधि रहेको खुलेको हो ।





























