देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरेको मौसम विज्ञान विभागले जनाएको छ । नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । देवघाटमा नारायणी नदीको खतरा तह ९ दशमलव ३ मिटर रहेकोमा जलसतह सो तह पार गरिसकेको विभागले जनाएको छ । जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ।
बिज्ञापन
भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ। हालको पूर्वानुमानअनुसार नारायणीको जलसतह ऐतिहासिक अधिकतम ११ दशमलव ६ मिटरभन्दा माथि पुग्न सक्ने तथा करिब १३ मिटर सम्म पुग्ने सम्भावना रहेको छ । नारायणीमा बाढी बढेसँगै पश्चिम चितवनका बस्तीमा बाढी पस्ने सम्भावना बढेको छ । प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिरहेको छ ।
बिज्ञापन
विभागका अनुसार नारायणीको जलसतह आइतबार बिहान करिब ११ बजेतिर १३ मिटर पुग्न सक्ने अनुमान गरिएको छ । जलसतह निरन्तर बढिरहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यसैगरी, रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मीलगायत जिल्लाबाट बहने साना नदी तथा खोलामा समेत बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।विशेषगरी नारायणीसँगै तिनाउ, मर्स्याङ्दी तथा अन्य साना नदी–खोलामा समेत बाढीको जोखिम उच्च रहेको छ ।





























