अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्ण बहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भिम बहादुर थापा र एमआईएस अपरेटर हरिचन्द्र बिष्टका साथैं बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरूङ तथा गैरकानुनी लाभ लिने छल निर्माण सेवा प्रा लि र सो कम्पनीका मालिक दिपचन्द्र रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
बिज्ञापन
आयोगका अनुसार,यो प्रकरण आर्थिक बर्ष ०७८/०७९ को हो । सो आर्थिक बर्षमा नगरपालिकाको वडा नं ६ स्थित हरियापानी–पालङ्ग–माझफाल हुँदै रूकुम जोड्ने मोटरबाटो निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा सार्वजनिक खरिद ऐनविपरीत सर्तहरू राखेर सबैभन्दा कम ३० लाख ९९ हजार ८१८ रुपैयाँ कबोल गर्ने निर्माण व्यवसायीलाई प्रतिस्पर्धाबाट बाहिर पारिएको र त्यसपछि कानुनविपरीत सबैभन्दा बढी १ करोड ४ लाख ६१ हजार ७७२ रुपैयाँ कबोल गर्ने छल निर्माण सेवा प्रा लिलाई ठेक्का स्वीकृत गरी राज्य कोषलाई ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा नोक्सानी पुर्याइएको भेटिएसँगै आयोगले आठ जना प्रतिवादीहरुबाट जनही ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा बिगो असुलउपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हदैसम्मको कैद र जरिवाना सजाय मागदाबी गरेको छ।

























