काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गत शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. पौडेललाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो।
बिज्ञापन
जिम्मेवारी पाएसँगै डा. पौडेलले सोमबारदेखि विभागको निमित्त महानिर्देशकको हैसियतमा काम थालेका छन्। उनले मंगलबार औपचारिक रूपमा नयाँ जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।
डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए। अस्पतालको जिम्मेवारीबाट उनलाई स्वास्थ्य सेवा विभागको नेतृत्वमा ल्याइएको हो।
बिज्ञापन
यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए। डा. भट्टचन स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को निर्देशकको जिम्मेवारीमा थिए।
अब भने डा. भट्टचनले ईडीसीडीको निर्देशकको जिम्मेवारीमा मात्रै रहेर काम गर्नेछन्।
स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२औँ तहको हो। स्वास्थ्य सेवाको उच्च तहमा नेतृत्व व्यवस्थापन भइरहेका बेला विभागको नेतृत्वसमेत परिवर्तन भएको हो।
बिज्ञापन
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डा. सङ्गीता मिश्रा तानिएपछि स्वास्थ्य मन्त्रालयमा १२औँ तहका चिकित्सकमध्ये डा. श्रीकृष्ण श्रेष्ठ मात्रै बाँकी रहेको अवस्था छ। यही पृष्ठभूमिमा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. पौडेललाई दिइएको हो।
विभागको नयाँ नेतृत्वसँगै औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाह, महामारी नियन्त्रण तथा मातहतका निकायबीचको समन्वयलगायतका विषयमा अब डा. पौडेलको भूमिका महत्वपूर्ण हुनेछ।

























