अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध मुद्धा दायर गरेको छ । गत चैत्रमा घुससहित नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध झण्डै पाँच महिना पछि विशेष अदालतमा मुद्धा लगिएको हो ।
बिज्ञापन
आयोगका अनुसार, विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गराइदिने भन्दै घुस लिएको आरोपमा सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । आयोगले तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरिएको हो । आयोगका अनुसार इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै ८५ हजार रुपैयाँ घुस मागेको जनाइएको छ ।
बिज्ञापन
सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका थिए । आयोगका अनुसार इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै ८५ हजार रुपैयाँ घुस मागेको र सोही रकम लिइसकेको अवस्थामा अख्तियारको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो भने आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई धनकुटा र भोजपुरबाट पक्राउ गरेको थियो ।
सो समयमा घुस रकम ८५ हजार रुपैयाँ, तीन थान मोबाइल र सम्बन्धित कागजातसमेत बरामद गरेको आयोगले अनुसन्धानको क्रममा उनीहरूले अन्तिम बिल पास गराइदिने सर्तमा १ लाख ३५ हजार रुपैयाँ घुस मागेको अनुसन्धानबाट खुलेको, घुस रकममध्ये ५० हजार रुपैयाँ सब–इन्जिनियर रविन श्रेष्ठको बैंक खातामा रहेको क्यूआरमार्फत जम्मा गराइएको र बाँकी ८५ हजार रुपैयाँ इन्जिनियर सुमन राईले नगद बुझेको भेटिएसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

























