प्रहरीले कार्यसम्पादनमा उत्कृष्ट ठहर गर्दै भन्दै पुरस्कृत गरेकाहरु नै धमाधम पक्राउ पर्न थालेका छन । पछिल्लो समय यसरी उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरिएकामध्ये एक भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् भने एक प्रहरीलाई महिलासँग रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाइएको थियो ।
यो प्रकरण सेलाउन नपाउँदै वीरगन्जस्थित एक क्यासिनोबाट प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठजना पक्राउ परेका छन्। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा छापा मारेर पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जनालाई नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
यसरी पक्राउ परेका पौडेल इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी निरीक्षकका रूपमा कार्यरत रहेको पर्सा प्रहरीले जनाएको छ। पौडेल पाँच महिना अगाडि उत्कृष्ट प्रहरी पुरस्कार थापेका व्यक्ति हुन । २१ फागुनमा सम्पन्न निर्वाचनका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मधेश प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका उनी पाँच महिना नबित्दै जुवा खेलिरहेको समयमा पक्राउ परेका हुन ।
उसो त केही महिना अगाडिमात्र काभ्रेपलाञ्चोक नमोबुद्ध ४ मा रहेको प्रहरी चौकी भकुन्डेका इन्चार्ज सई गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका थिए । स्थानीय नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रंगेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका उनी जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी हुन ।
बिज्ञापन
यस अघि लागू औषध सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस डिल गरेका आरोपमा एक प्रहरी पक्राउ परेका थिए । ०८१ सालको पुस महिनामा सम्पादन गरेका कामलाई मूल्याङ्कन गरेर कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा वरिष्ठ हवलदार विष्णु थापा विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनी सम्मानित भएका थिए तर उनै थापा घुससहित पक्राउ परेका थिए । गत भदौं पहिलो साता विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले थापालाई घुस रिसवतमा दोषी ठहर गरेको हो।





























