११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवामा भौतिक संरचना मात्रै तहसनहस पारेन, कैयौँ परिवारलाई अनिश्चित प्रतीक्षामा समेत धकेलेको छ। बाढी आएको ११ दिन बितिसक्दा पनि केही परिवारका लागि विपद् सकिएको छैन। उनीहरूका लागि हरेक दिन एउटै प्रश्न लिएर आएको छ—आफ्ना मान्छे कहाँ छन्?

बिज्ञापन

उत्तरगया गाउँपालिका–४ का माधव लामिछानेको परिवार पनि यही प्रश्नको उत्तर खोजिरहेको छ।

बिज्ञापन

रसुवागढी जलविद्युत् आयोजनामा अपरेशन इन्जिनियरका रूपमा कार्यरत २९ वर्षीय समिर लामिछाने बाढी आएको दिनदेखि सम्पर्कविहीन छन्। आयोजनाको सुरुवाती चरणदेखि नै काम गर्दै आएका समिर बाढी आउँदा ड्युटीमै थिए।

समिरसँग अन्तिमपटक उनकी आमाको अघिल्लो साँझ कुराकानी भएको थियो। त्यसपछि उनको फोन सम्पर्कमा आएको छैन। बाढीबाट जोगिएर कान्छो छोरा सुरक्षित स्थानमा पुगेपछि उनले नै बुवा माधवलाई फोन गरेर ‘दाइलाई फोन गर्नुहोस्’ भनेका थिए। त्यसपछि परिवारले समिरको मोबाइलमा पटक–पटक फोन गर्‍यो। तर फोन लागेन।

बिज्ञापन

दिन बित्दै गए। आठ दिन, नौ दिन हुँदै ११ दिन पुग्यो। तर परिवारले समिर जीवित छन् वा छैनन् भन्ने कुनै आधिकारिक खबरसमेत पाएको छैन।

माधव भने अझै छोराको मृत्यु स्वीकार गर्ने अवस्थामा छैनन्।

‘मेरो छोरा सुरुङभित्रै जीवित छ भन्ने आशा अझै मरेको छैन,’ उनी भन्छन्, ‘छिटोभन्दा छिटो उद्धार गरेर उसलाई बाहिर निकालिदिए हुन्थ्यो।’

समिरको खोजीमा नेपाली सेनाको टोली सुरुङभित्र प्रवेश गरेको थियो। तर करिब २४० मिटर पुगेपछि टोली फर्किएको परिवारको भनाइ छ।

माधवका अनुसार पावर हाउस सुरु हुने क्षेत्र नै करिब २५० मिटरभित्र पर्छ। पावर हाउसको लम्बाइसमेत करिब ७०–८० मिटर रहेको उनको दाबी छ। त्यसैले सुरुङभित्र पर्याप्त गहिराइसम्म पुग्नुअघि नै उद्धार टोली फर्किएको उनको बुझाइ छ।

‘पावर हाउसको मुखसम्म पुग्न करिब १० मिटरजति मात्रै बाँकी हुँदा टोली फर्किएको भनियो,’ उनी भन्छन्, ‘त्यति मात्रै गएर सुरुङमा कोही छैन भनेर कसरी भन्न सकिन्छ?’

उद्धार रोकिएको खबरले परिवारलाई झन् निराश बनाएको छ। सुरुङभित्र पर्याप्त ठाउँ रहेको र पानीको स्रोतसमेत हुन सक्ने भएकाले मानिस केही दिनसम्म जीवित रहन सक्ने सम्भावना रहेको परिवारको आशा छ।

‘इन्जिनियरहरूले फोन गरेर सुरुङभित्र १२–१५ दिनसम्म पनि मान्छे बाँच्न सक्ने सम्भावना रहेको बताएका छन्,’ माधव भन्छन्, ‘त्यहाँ ठाउँ छ, भित्ताबाट पानी रसाउन सक्छ। केही खानेकुरा पनि हुन सक्छ। त्यसैले उद्धार भयो भने उनीहरू बाँच्न सक्छन् भन्ने हाम्रो विश्वास हो।’

बेपत्ता छोराको खोजीका लागि परिवारले आयोजनादेखि जिल्ला प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दलका नेता र सांसदसम्म गुहार मागिसकेको छ। तर उद्धारमा अपेक्षित तदारुकता नदेखिएको माधवको गुनासो छ।

उनका अनुसार बाढीको समयमा पावर हाउसतर्फ कर्मचारी तथा अन्य मानिसहरू सुरक्षित स्थान खोज्दै प्रवेश गरेको हुन सक्ने सम्भावना छ। आयोजनाले पावर हाउसमा १४–१५ जना रहेको बताएको भए पनि वास्तविक संख्या त्योभन्दा बढी हुन सक्ने उनको आशंका छ।

‘हामीले आयोजना, सिडिओ, सहायक सिडिओ, सुरक्षाकर्मी र नेताहरूसम्मलाई भन्यौँ,’ उनी भन्छन्, ‘तर भरपर्दो पहल भएको महसुस भएन।’

उद्धारमा राज्यले असमर्थता जनाउने हो भने सुरुदेखि नै स्पष्ट बताउनुपर्ने उनको भनाइ छ।

‘सरकारले सक्दैनौँ भनेर सुरुमा नै भनेको भए हामी आफैँ तयारी गर्थ्यौँ,’ माधव भन्छन्, ‘अहिले आएर आफैँ गर भनेर भन्नु भनेको के हो?’

समिर मात्रै होइन, माधवको परिवारले अर्को सदस्य पनि गुमाएको छ। उनका भाइ बासु लामिछाने रसुवागढी भन्सार क्षेत्रबाट बाढीपछि बेपत्ता छन्।

यसरी एउटै परिवारका दुई सदस्य ११ दिनदेखि बेपत्ता हुँदा परिवारको पीडा दोब्बर भएको छ।

माधवको घर भने बाढीको प्रत्यक्ष चपेटामा परेन। खोलाभन्दा करिब डेढ किलोमिटर माथि भएकाले घर सुरक्षित रह्यो। तर घर जोगिँदैमा परिवार सुरक्षित भएन।

‘हाम्रै परिवारका दुई जनालाई बाढीले बगायो,’ उनी भन्छन्, ‘हाम्रै वडाका सयभन्दा बढी मानिस बेपत्ता छन्।’

समिर परिवारका जेठा छोरा हुन्। परिवारले आगामी मंसिरमा उनको विवाह गरिदिने तयारीसमेत गरेको थियो। विवाहको तयारीमा रहेको परिवार अहिले छोराको खोजीमा छ।

आफ्ना भाइ र छोरा बेपत्ता भएको ११ दिन पुगेपछि माधवले सामाजिक सञ्जालमार्फत सरकारसँग सार्वजनिक रूपमा प्रश्नसमेत गरेका छन्।

उनको प्रश्न उद्धारको गति र प्राथमिकतामाथि केन्द्रित छ।

‘एउटै छाता, एउटै मन्त्रालय, एउटै जिल्ला, एउटै बाढी तर एउटा साइटमा विज्ञ टोली, अर्कोमा मौनता,’ उनले लेखेका छन्, ‘एघार दिन भयो। एउटा खन्ने मेसिन छैन, एउटा प्राविधिक टोली छैन, एउटा जवाफ छैन।’

विपद्का बेला नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको तथा विभिन्न स्थानमा हेलिकप्टर र प्राविधिक जनशक्ति परिचालन गरिएको भए पनि रसुवागढीमा भने उद्धार प्रभावकारी रूपमा अघि नबढेको उनको गुनासो छ।

‘स्रोत थियो, समय थियो, मान्छे भित्रै थिए। तैपनि सुरु भएन। किन?’ उनी प्रश्न गर्छन्।

उनले उद्धारका लागि कुन निकायले के योजना बनाएको छ भन्नेबारे समेत स्पष्ट जानकारी मागेका छन्।

‘रसुवागढीमा कहिले सुरु हुन्छ? मिति भन्नुहोस्, समय भन्नुहोस्, नाम भन्नुहोस्,’ उनको माग छ।

माधवको आक्रोश अब उद्धार ढिलाइमा मात्रै सीमित छैन। उनी राज्यको प्राथमिकतामाथि प्रश्न गरिरहेका छन्।

‘उद्धार नगर्नु पनि एउटा निर्णय हो। त्यो निर्णय कसले गर्‍यो?’ उनी प्रश्न गर्छन्।

उनका अनुसार एउटै विपद्मा परेका नागरिकमध्ये कसैको खोजीमा राज्यको सम्पूर्ण संयन्त्र परिचालन हुने र कसैको खोजीमा मौनता देखिनु न्यायोचित होइन।

‘एउटै बाढीमा छ ठाउँमा मानिस फसे। एउटालाई देशले देख्यो, अर्कोलाई देखेन,’ उनी भन्छन्।

रसुवाका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएपछि विस्थापित तथा उद्धार गरिएका मानिसहरू होल्डिङ सेन्टरमा छन्। त्यहाँ पनि आफन्त गुमाएका र बेपत्ता भएका परिवारको पीडा उस्तै छ।

‘कोहीको बाबा–आमा छैनन्, कोहीका छोराछोरी छैनन्, कोहीको केही बाँकी छैन,’ माधव भन्छन्, ‘होल्डिङ सेन्टरमा पनि सबैको रुवाबासी छ।’

११ दिन बितिसक्दा पनि समिरको कुनै खबर छैन। बासुको अवस्था पनि अज्ञात छ। परिवारका लागि समय बित्नु भनेको आशा कमजोर हुनु हो, तर माधवले त्यो आशा अझै छाडेका छैनन्।

उनी सुरुङभित्र रहेका भनिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावनामा विश्वास गर्छन्।

‘त्यहाँ भएका सबै मानिस जीवित भेटिउन् भन्ने हाम्रो चाहना हो,’ उनी भन्छन्, ‘एउटा ठाउँमा मात्रै सबै शक्ति केन्द्रित गरेर अर्को आयोजनामा उद्धार नै नहुनु दुःखद हो।’

समिरको विवाहका लागि सजिएको परिवारको सपना अहिले रोकिएको छ। आमाबुबाको प्रतीक्षा भने रोकिएको छैन।

उनीहरूलाई अहिले ठूलो आश्वासन होइन, एउटै कुराको उत्तर चाहिएको छ—सुरुङभित्र के भइरहेको छ र आफ्ना मान्छेलाई बाहिर निकाल्न राज्यले अब के गर्दैछ?

माधवको आशा अझै उस्तै छ—समिर फर्केर आउनेछन्।

‘हामीलाई अझै आशा छ,’ उनी भन्छन्, ‘टनेलभित्र उनीहरू जीवितै होलान् भन्ने आशा मरेको छैन। छिटोभन्दा छिटो उद्धार होस्, हामी यही पर्खाइमा छौँ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष