काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति भइरहेका बेला गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव सुरेश पन्थी विदेश भ्रमणमा रहेका छन् ।
बिज्ञापन
विपद्का बेला खोज, उद्धार, राहत तथा सम्बन्धित निकायबीच समन्वय गर्ने महत्वपूर्ण जिम्मेवारी गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखाको हुन्छ । तर, महाशाखाका प्रमुख पन्थी भने युरोप र अमेरिका भ्रमणमा रहेका छन् ।
बिज्ञापन
भोटेकोशी बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो क्षति भएको छ भने सयौँ नागरिक प्रभावित भएका छन् । कतिपय नागरिक सम्पर्कविहीन रहेको अवस्थामा उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाको भूमिका महत्वपूर्ण मानिन्छ ।
यस्तो संवेदनशील समयमा महाशाखा प्रमुख नै विदेश भ्रमणमा रहनुले मन्त्रालयको विपद् व्यवस्थापन र नेतृत्व प्रणालीमाथि प्रश्न उठेको छ ।
बिज्ञापन
सहसचिव पन्थीको विदेश भ्रमणबारे कर्मचारी प्रेसले गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेसँग प्रतिक्रिया लिन पटकपटक सम्पर्क गर्ने प्रयास गरेको थियो । कर्मचारी प्रेसले ९८५११४०००३ नम्बरमा पटकपटक सम्पर्क गर्दा समेत प्रवक्ता काफ्ले सम्पर्कमा आउन चाहेनन् । भ्रमणको उद्देश्य, अवधि तथा विपद्को समयमा महाशाखा प्रमुख विदेश जानुको औचित्यबारे मन्त्रालयको आधिकारिक धारणा प्राप्त हुन सकेन ।
यसैबीच, पन्थी विदेश भ्रमणबाट फर्किएपछि उनलाई विपद् व्यवस्थापन महाशाखाबाट सरुवा गरी कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी दिने चर्चा गृह मन्त्रालयभित्र चलेको छ । यसबारे भने हालसम्म कुनै औपचारिक निर्णय भएको छैन ।
उता, गृह सचिव केदारनाथ शर्माले पदबहाली गरेलगत्तै मन्त्रालयमा अतिरिक्त समूह अर्थात् ‘बरन्डा’मा रहेका कर्मचारीलाई जिम्मेवारी दिन निर्देशन दिएको स्रोतले जनाएको छ । लामो समयदेखि जिम्मेवारीविहीन अवस्थामा रहेका कर्मचारीलाई आवश्यकता र योग्यता हेरेर महाशाखा तथा शाखाको जिम्मेवारी दिन सचिव शर्माले निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयमा एकातर्फ विपद्को गम्भीर परिस्थितिमा सम्बन्धित महाशाखाको नेतृत्व विदेश भ्रमणमा रहेको विषय चर्चामा छ भने अर्कोतर्फ कर्मचारी व्यवस्थापनमा जिम्मेवारीविहीन कर्मचारीलाई जिम्मेवारी दिने प्रक्रिया अघि बढाइएको छ ।
भोटेकोशी बाढीपछि उद्धार, राहत र बेपत्ता नागरिकको खोजीमा राज्यका विभिन्न निकाय परिचालित भइरहेका बेला विपद् व्यवस्थापनको नेतृत्व गर्ने महाशाखाका प्रमुखको विदेश भ्रमण र फर्किएपछि हुने भनिएको जिम्मेवारी हेरफेरले गृह मन्त्रालयको प्राथमिकता तथा कर्मचारी व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।
























