काठमाडौँ र चीनलाई जोड्ने प्रमुख व्यापारिक राजमार्ग हो – पासाङ ल्हामु राजमार्ग फेरि अवरुद्ध हुन पुगेको छ । राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावती बजारबाट रसुवाको धुन्चेसम्म जोड्ने सडक खण्डको वनुवा घुम्ती सडक अवरुद्ध हुन पुगेको हो । रसुवाको उत्तरगया गाउँपालिका- ५ स्थित बनुवा घुम्तीमा सडक डिभिजन कार्यालयले निर्माण गरेको तारजाली (ग्याबिन) पर्खाल पुनः भत्किएको छ।
बिज्ञापन
बर्ष दिन अगाडि निर्माण गरिएका ग्याबिन पर्खाल १२ महिना नहुँदै फेरि ढलेको हो । पटक पटक पर्खाल भत्किँदा राज्य गम्भीर हुन सकेको छैन, जसले गर्दा राज्यको करोडौँ लगानी बालुवामा पानी सरह बनेको भन्दै स्थानीयहरुले आक्रोश र चिन्ता पोख्न थालेका छन् ।
बिज्ञापन
दीर्घकालीन समाधान नसोची ‘असारे विकास’ शैलीमा पर्खाल निर्माण गर्दा एकातिर राज्यको ढुकुटी रित्तिएको छ भने अर्कोतिर जोखिमपूर्ण सडकका कारण स्थानीय बासिन्दा र यात्रुहरू सास्ती भोग्न बाध्य छन्। टिकाउ प्रविधि र गुणस्तरीय कामको साटो बर्सेनि एउटै काममा बजेट सिद्धिरहँदा सम्बन्धित निकाय भने मौन दर्शक बनेको स्थानीयको गुनासो छ। चर्चित रसुवागढी नाका जोड्ने पासाङल्हामु सडक खण्डअन्तर्गत पर्ने यो सडकसँग सिङ्गो रसुवाको अर्थतन्त्र जोडिएको छ। यो मार्ग यस जिल्लाको मुख्य लाइफलाइन हो तर यसैमा लापरबाही भइरहेको छ। निर्माण कम्पनीको बदमासीका कारण बर्ष दिन नपुग्दै वनुवा घुम्ति सडक भासिएको हो । पहिरोसँगै यहाँका स्थानीयहरुले सास्ती र हैरानी खेप्दै आएका छन् । सेटिग मिलाएर ठेक्का हात पार्ने तर सम्झौता अनुसार ठेकेदारहरुले काम नगरिँदा बेत्रावती–धुन्चे सडकको अवस्था उस्तै दयनीय बन्न पुगेको छ ।
ठेकेदार कम्पनीका लापरवाहीका कारण यो राजमार्ग भएर चल्ने यात्रुदेखि रसुवा जिल्लाबासीले समेत दैनिक आवात जावतमा सकस भोगिरहेका छन् ।जनप्रतिनिधिहरुदेखि कर्मचारीसम्म मिलाएर ठेक्का हात पार्दै आएका न्यू टेक इन्जिनियरिङका मालिक हुन सुकुलाल तामाङ । उनको कम्पनीले जता जता हात हालेको छ,अधिकांश ठेक्काहरु अलपत्र छन् । वनुवा घुम्ती सडक खण्डमा यस अघि आरसीसी प्रविधिबाट काम गर्नुपर्ने भए पनि एकल ग्याबिन वाल मात्र लगाएर आँखामा छारो हाल्ने काम गर्दा समेत उल्टै नियामक निकायको संरक्षण पाएको कम्पनी हो यो । यही निर्माण कम्पनीले रसुवाकै स्याउबारीको काम पनि उनले हात पारेका छन्। सो काम पनि सन्तोषजनक नरहेको स्थानीयहरू बताउँछन्। स्याउबारीसम्मको सडक टालटुल पार्ने दुई वटा फरक फरक १ करोड ३० हातको ठेक्का अगाडि बढाइएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
बिज्ञापन
बेत्रावतीदेखि सदरमुकाम धुञ्चेको दुरी ३९ किलोमिटरमात्र छ । यही सडक खण्डका ठेक्का पाएको न्यू टेक इन्जिनियरिङझैं कामाख्या कन्स्ट्रक्सनले समेत समयमा काम सम्पन्न नगर्दा स्थानीयहरुले सास्ती भोगिरहेको छन् । कामाख्याले धुन्चेसम्म ठाउँ–ठाउँमा कंक्रिट ढलान गर्न २०८१ असारमा करिब १५ करोड रुपैयाँमा ठेक्का हा तारेको भए पनि न समयमा काम सम्पन्न गर्नै सकेको छ न त यस्ता निर्माण कम्पनीमाथि कुनै कारवाही प्रक्रिया नै अगाडि बढाइएको छ ।






























