चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा इन्फ्लुएन्जा ए (H1N1) pdm09 (स्वाइन फ्लू) संक्रमणका कारण चार दिनअघि तीनवटा जङ्गली बदेल  मरेको घटना सार्वजनिक नगरिएको भन्दै चिडियाखाना व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।

बिज्ञापन

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले तीनवटा जङ्गली बदेल स्वाइन फ्लू संक्रमणका कारण मरेको तथ्य स्वीकार गरेका छन्। तर घटना भएको चार दिन बितिसक्दा पनि चिडियाखानाले कुनै सार्वजनिक सूचना जारी गरेको छैन भने सम्बन्धित मन्त्रालय, सचिव र महानिर्देशकसमेत मौन बसेका छन्।

बिज्ञापन

मृत्यु भएका जङ्गली बदेल संरक्षित वन्यजन्तु भएकाले घटनाले वन्यजन्तु संरक्षणसँगै जनस्वास्थ्यको विषयलाई पनि जोडेको छ। स्वाइन फ्लू सुँगुर प्रजातिमा देखिने इन्फ्लुएन्जा भाइरस भए पनि यसको केही प्रकार मानिसमा पनि सर्न सक्ने र संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा समेत फैलिन सक्ने भएकाले यस घटनालाई संवेदनशील रूपमा हेरिएको छ।

पशु स्वास्थ्य विज्ञहरूका अनुसार स्वाइन फ्लू पुष्टि भएको अवस्थामा सबैभन्दा पहिले अन्य जनावरमा संक्रमण फैलिने जोखिम हुन्छ। एउटै परिसरमा रहेका अन्य बदेल, सुँगुर वा भाइरसप्रति संवेदनशील स्तनधारी जनावरमा संक्रमण सर्न सक्ने सम्भावना रहन्छ। समयमै परीक्षण र निगरानी नगरिए संक्रमण थप फैलिन सक्छ।

बिज्ञापन

विज्ञहरूका अनुसार सबै स्वाइन फ्लू भाइरस मानिसमा सजिलै सर्दैनन्। तर संक्रमित जनावरसँग प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारी, पशुचिकित्सक, जनावरको हेरचाह गर्ने व्यक्ति तथा जैविक नमुना व्यवस्थापन गर्नेहरूमा संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुन्छ। सामान्य रूपमा चिडियाखाना घुम्न आउने सबै आगन्तुकमा जोखिम धेरै उच्च मानिँदैन। तर संक्रमित जनावरसँग नजिकको सम्पर्क भएको, दूषित सतह छोएको वा जैविक सुरक्षा (बायोसिक्युरिटी) का मापदण्ड कमजोर भएको अवस्थामा संक्रमणको सम्भावना बढ्न सक्छ।

विज्ञहरूले अर्को गम्भीर पक्ष पनि औंल्याएका छन्। इन्फ्लुएन्जा भाइरस अत्यन्त परिवर्तनशील हुने भएकाले विभिन्न प्रजातिबीच फैलिँदा नयाँ स्वरूप (स्ट्रेन) विकास हुने जोखिम रहन्छ। त्यसैले यस्ता घटनालाई सामान्य रूपमा लिन नमिल्ने उनीहरूको भनाइ छ।

यसबाहेक सूचना लुकाउँदा रोग नियन्त्रणमा समेत ढिलाइ हुने खतरा रहन्छ। समयमै परीक्षण, संक्रमित क्षेत्रको निगरानी, आवश्यक आइसोलेसन, जैविक सुरक्षा मापदण्डको कार्यान्वयन तथा सम्पर्कमा आएका जनावर र व्यक्तिको स्वास्थ्य परीक्षण प्रभावित हुन सक्छ। यसले संक्रमण नियन्त्रणको प्रयासलाई कमजोर बनाउन सक्छ।

यसअघि यही चिडियाखानामा बर्ड फ्लू देखिएपछि तत्काल चिडियाखाना बन्द गरिएको थियो भने व्यवस्थापकीय जिम्मेवारीसमेत परिवर्तन गरिएको थियो। तर अहिले तीनवटा जङ्गली बदेलको मृत्यु हुँदा पनि चिडियाखाना नियमित सञ्चालनमा रहनु र घटना सार्वजनिक नगर्नुले दोहोरो मापदण्ड अपनाइएको हो कि भन्ने प्रश्न उठेको छ।

चिडियाखाना दैनिक सयौँ सर्वसाधारण, बालबालिका तथा विदेशी पर्यटक पुग्ने सार्वजनिक स्थल हो। त्यही परिसरमा मन्त्रीको सरकारी निवाससमेत रहेकाले जैविक सुरक्षा मापदण्ड पर्याप्त रूपमा पालना गरिएको छ वा छैन भन्ने प्रश्न पनि उठेको छ।

विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले यस्ता संक्रमण देखिएमा तत्काल परीक्षण, निगरानी, प्रभावित क्षेत्रको नियन्त्रण, सम्पर्कमा आएका जनावरको परीक्षण तथा आवश्यक सार्वजनिक सूचना जारी गर्न सिफारिस गर्दै आएका छन्। रोग नियन्त्रणमा पारदर्शिता अपनाउनु संक्रमण रोकथामको महत्वपूर्ण आधार मानिन्छ।

अब मुख्य प्रश्न भनेको, यदि चिडियाखानामा कार्यरत कर्मचारी, त्यहाँ पुगेका आगन्तुक वा अन्य जनावरमा संक्रमण फैलिएको पाइयो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने हो। चार दिनसम्म घटना सार्वजनिक नगर्नुको कारण के थियो, संक्रमण नियन्त्रणका लागि के–कस्ता कदम चालिए, अन्य जनावरको परीक्षण भएको छ कि छैन र आगन्तुकको सुरक्षाका लागि के व्यवस्था गरिएको छ भन्ने विषयमा सम्बन्धित मन्त्रालय, चिडियाखाना व्यवस्थापन तथा स्वास्थ्य निकायले स्पष्ट जवाफ दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

लोमस आचार्यलाई स्टोर शाखा नै चाहिने, अधिकृत पाण्डेलाई भने स्टोरका लागि आचार्य नै चाहिने ?

प्रकाशचन्द्र खतिवडाको कविता  :  कठपुतली सरकार

सरकारको चार महिना : २६ सचिव,८६ सह सचिवको सरुवा

सरकारी कार्यालय र नागरिकको धैर्य : सेवा लिन जाँदा किन सकिन्छ सहनशीलताको परीक्षा ?

कर्मचारीको फेरिएन कार्यशैली

७ सचिव र ४१ सहसचिवसहित किताबखानामा १,३३९ पद दर्ता

बिशेष