एउटै व्यक्तिलाई एकै पटक कारवाही र पुरस्कार । यस्तो पनि कहिँ कतै हुन्छ ? भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा यस्तै विरोधाभाष भेटिन्छ ।
बिज्ञापन
हिजोमात्र लिक भएको सो प्रतिवेदनमा केही कर्मचारीको बढुवाका लागि सिफारिस समेत गरिएको छ भने तिनै कर्मचारीलाई कारवाहीका लागि समेत सिफारिस गरिएको पाइन्छ । प्रतिवेदनमा केही सुरक्षाकर्मी तथा कर्मचारीलाई नगद पुरस्कार र केहीलाई बढुवा गर्न सरकारसमक्ष सिफारिस गरिएको देखिन्छ। फेरि यसरी पुरस्कृत गर्न सिफारिस गरिएका प्रहरीका उच्च अधिकारीलाई उल्टै कारवाहीको समेत सिफारिस गरिएको छ ।
आयोगले गृह मन्त्रालयका सहसचिव प्रकाश पौडेल,उपसचिव कमल पाण्डे र कम्प्युटर अपरेटर ज्ञानु थापालाई नगद पुरस्कारबाट सम्मानित गर्न सिफारिस गरेको छ । यस्तै, नेपाल प्रहरीतर्फ नायव उपरीक्षक विष्णुप्रसाद सोती, मुकेशकुमार तिवारी,प्रहरी निरीक्षक गजेन्द्र रावल तथा प्रहरी हवल्दार जयकिशनप्रसाद कुर्मीलाई पनि पुरस्कृत गर्न सिफारिस गरिएको छ। त्यसैगरी, उत्कृष्ट कार्यसम्पादन भन्दै प्रहरी सहायक हवल्दार निराज नेपाली र हरिप्रसाद जैशीलाई एक तह बढुवा गर्नुपर्ने आयोगको सुझाव छ। यस्का अलवा आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धी बिक्रम शाहलाई एकातिर कारवाहीको सिफारिस गरेको छ भने अर्काेतिर तिनै व्यक्तिलाई कारवाहीको सिफारिस गरेको भेटिन्छ ।
प्रतिवेदनको ६८९ पृष्ठमा शाहलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । भनिएको छ,भदौ २४ गते टङ्गाल स्थित भाटभटेनी र नक्सालको हिल्टन होटल जलाई आक्रमणकारीहरू नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख प्रअमनि शाहले आक्रमणकारीहरुलाई मूल गेट भित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई पूर्ण रुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नुपर्ने देखिन्छ ।
बिज्ञापन
तिनै व्यक्तिलाई फेरि कारवाहीको सिफारिस गरिएको पाइन्छ । प्रतिवेदनको ७२५ पृष्टमा नेपाल प्रहरीका पदाधिकारीहरूको सूचीमा पनि उनको नाम उल्लेख गरिएको छ । आयोगका प्रतिवेदनमा उनलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । कर्तव्यपालनमा चुकेकासमेत कारणले प्रहरी ऐन, २०१२ को दफा ९ को उपदफा(४) तथा प्रहरी नियमावली २०७१ को नियम १०९ अनुसार कारबाही गर्न सिफारिस गरिँदा उनको नाम पहिलो नम्बरमा राखिएको छ । २३ र २४ मा जेनजी प्रदर्शन हुँदा कार्य विभागको प्रमुख रहेका शाह अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक छन्।


























