पढाईमा अब्बल र तेज ठहरिएका निजामती कर्मचारीहरु नै क्रमश घुस काण्डमा मुछिन थालेका छन् । जसमध्ये कलेज टपर सुब्बा र त्रिविको गोल्ड मेडलिष्ट उपसचिव भ्रष्टाचार मुद्धामा दोषी ठहर भइसकेको अवस्था छ भने अर्का सहसचिव पनि भ्रष्टाचार मुद्धा चलेर निलम्बनमा परेका छन् । यस्का पछिल्ला तीन वटा उदाहरण हेरौं, पाल्पाका प्रमोद नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका कर्मचारी हुन । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका उनी एयर ट्राफिक कन्ट्रोलर–एटीसी भएर पनि काम गरे । त्यहाँबाट बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पनि पाए । छात्रवृत्तिमा अध्ययन सकेर नेपाल फर्किएको आठ महिनामै २२ लाख घुससहित अख्तियारको फन्दामा परे,नागपोखरीको एउटा होटल बाट ।
बिज्ञापन
पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गर्र्यो । अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो । सो प्रकरणमा दोषी सावित भएका नेपालविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा चलाएको छ,अख्तियारले । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भएको हिनामिना प्रकरणमा २१ जना प्रतिवादी बनाइँदा नेपालमाथि फेरि अर्काे भ्रष्टाचार मुद्धा चलेको हो । नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक नेपालविरूद्ध अख्तियारले ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। घुस काण्डमा दोषी ठहर भएर जेलको हावा खाइसकेका नेपाललाई अर्को भ्रष्टाचारको मुद्दा थपिएको हो।
यस्तै पढाईमा छुरा थिए नायब सुब्बा,रेबन्त खड्का । उनी त्रिभुवन विमानस्थलमा कार्यरत थिए । विद्युतीय चुरोटभित्र लुकाएर ल्याइएको सुन तस्करसँगको मिलेमतोमा करिब ६ करोड मूल्यबराबरको सुन तस्करी भएको छ भेटिएपछि सिआइबीको टोलीले अनुसन्धान अगाडि बढायो । उनी पनि उपसचिव नेपालझैं पढाईमा अब्बल थिए । १९ वर्षकै उमेरमा सुब्बामा नाम निकालेका खड्का एक वर्षदेखि गौचरस्थित भन्सार कार्यालयमा कार्यरत थिए । एक दशक अघि राजस्व समूहतर्फ नायव सुब्बामा नाम निकालेका उनलाई छिटो धनी हुने र काठमाडौंमा घर घडेरी जोड्ने चाहनाले उनलाई प्रहरीको खोरमा पुगेका उनी माथि अहिले सम्पत्ति शुद्धीकरणको मुद्धा समेत लागेको हो । निकै घमण्डी कर्मचारीको रुपमा चिनिएका २७ बर्षीय खड्का त्रिभुवन विमानस्थलको भन्सार कार्यालय पुग्नभन्दा पहिला राजस्व अनुसन्धान विभाग अन्तर्गतको कार्यालयमा कार्यरत थिए । अर्थमन्त्रलयले खड्कालाई कपिलबस्तु भन्सार कार्यलयमा सरुवा गरेको भए पनि सेटिङ मिलाएर त्रिभुवन भन्सार कार्यालयमा पुगेका थिए । ०७९ माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । विमानस्थलको गोदाममा थन्क्याइएको उक्त बाक्सा साटेर उनै युवा कलेज टपर सुब्बा खड्काले साटेर त्यहाँको सुन निकालेर न्यूरोडमा बेचेको तथ्य बैशाख २६ गते खुलासा भएको थियो । गत माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो ।
सुन तस्करी प्रकरणमा जोडिएर अहिले प्रहरीको खोरमा पुगेका भन्सारका सुब्बाको प्रेमिकाको खातामा ३० लाख रकम भेटिएको अनुसन्धानमा संग्लग्न प्रहरी अधिकारीहरुले जनाएका थिए ।
यता हालैमात्र पढाइमा अब्बल कर्मचारीका रुपमा चिनिएका अर्काे सहसचिव भ्रष्टचार मुद्धा लागेर निलम्बित भएका छन् । सचिव बढुवाका लाइनमा रहेका राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी भ्रष्टाचार मुद्धा चलेर निलम्बनमा परेका हुन । अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला साउन, २०७९ मा घुस लिएको र त्यो रकम दोस्रो तहका मानिसहरु प्रयोग गरेर जग्गा खरिद र ऋण व्यवस्थापनमा काम गरेको अख्तियारको आरोप छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै सचिव हुने बरियताक्रममा रहेका उनी निलम्बनमा परेका छन् ।
बिज्ञापन
अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा घुस प्रकरणमा मुछिएर अहिले निलम्बनमा परेका हुन । उसो त उनी अध्यागमन विभागको महानिर्देशक हुँदा सुन तस्करका नाइके दाबा छिरिङसँगको सम्बन्धका विवादमा तानिएका थिए । यस्तै माओवादीको सत्तामा हुँदा ठूला करदाता कार्यालयका प्रमुख समेत भए । सुन काण्ड लागेर सामान्यको अतिरिक्त हुँदै उनी प्रदेशतिर झरेर जागिर खाइरहेका थिए । अधिकारी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बूढानीलकण्ठ र बालुवाटारमा पहुँच बनाएर विभागको महानिर्देशक बनेका थिए । अधिकारी तत्कालीन प्रधानमन्त्री प्रचण्डको जिल्लाबासी हुन । राजश्व सेवा समूहबाट माथि नउठेका उनी कहाँ कहाँ राजश्व मार्न पाइन्छ त्यही कार्यालय खोजेर र रोजेरै बस्न सफल हाकिम का रुपमा चिनिन्छन् ।
उसो त उनी यस अघि ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको भन्दै उनलाई सामान्यको बरण्डामा केही समय राखेर प्रदेशतिर खटाइएको थियो । अधिकारी पढाईमा तेज कर्मचारीका रुपमा चिनिन्छन् ।


























