किनेको मूल्य जम्मा १४ करोड मात्र भए पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)ले कूल ५४ करोड लगानीमा जडान गरेको क्यान्सरको उपचार गर्ने टोमोथेरापी मेशिन बिग्रिएको छ । पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मा उत्पादक कम्पनीकै रहने गरी जडान भएको मेशिनले उपचार गर्न छाडेको ७ हप्ता बित्दा पनि मर्मत प्रक्रिया अघि बढाइएको छैन । यो मेशिनबाट गरिब बिरामीहरूको अवस्था हेरी कतिलाई निशुल्क र धेरैलाई नाम मात्रको रकम लिएर पनि उपचार गरिन्थ्यो । आर्थिक अवस्था कमजोर भएका सयौं बिरामीले यसबाट फाइदा लिइरहेको उपचारमा संलग्न एक चिकित्सक बताउँछन् । तर अहिले ती सबै बिरामी नाम्स व्यवस्थापनको लापरवाहीका कारण अकाल मृत्यु व्यहोर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको पनि उनको गुनासो छ । असामान्य परिस्थिति सिर्जना गरी अतिरिक्त आम्दानी गरेरै छाड्ने व्यवस्थापकीय शैलीका कारण मेशिन बिग्रने, समयमा नबन्ने तर यस्तो अवस्थाको दुरूपयोग गरी आफू मालामाल बन्ने क्रम वीरमा सामान्य मानिन थालेको छ ।
बिज्ञापन
उसो त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पतालले मोडल नम्बरसमेत एउटै भएको क्यान्सर उपचारमा प्रयोग हुने टोमोथेरापी मेशिन थोरै समयको अन्तरालमै २० करोडभन्दा बढी फरक मूल्यमा किनेको पाइएको छ । ०७५ सालमा ३४ करोड ८८ लाखमा ल्याइएको मेशिन तत्कालीन वीर अस्पताल व्यवस्थापन र आयातकर्ता ठेकेदारको लापर्वाहीका कारण काम नलाग्ने भएपछि दुरुस्तै सोही खालको मेशिन फेरि मात्र १४ करोडमा ल्याइएको हो । राज्यसंयन्त्र र ठेकेदारको मिलेमतोमा हाकाहाकी २० करोड बढी घोटाला गरेको देखिने यो खरिद काण्डको उठान तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाको कार्यकालमा भएको थियो ।
गगन स्वास्थ्यमन्त्री रहेका बेला २०७४ सालको शुरुवातमा मन्त्रालयका तर्फबाट वीर अस्पताललाई टोमोथेरापी मेशिन खरिद शीर्षकमा ४० करोड रूपैयाँ विनियोजन गरियो । लगत्तै वीरका तत्कालीन निर्देशक डा। भुपेन्द्र बस्नेतले निकट कम्पनीलाई सोही मूल्यको लागत अनुमान बनाउन लगाए । यही अनुमानलाई नाम्सका तत्कालीन उपकुलपति डा। गणेश गुरुङले बिना जाँचबुझ २०७४ जेठ १९ मा स्वीकृत गरिदिए । मेशिन खरिदका नाममा लाटाले पनि सहजै बुझ्नेगरी २० करोडभन्दा बढी तलमाथि पार्ने योजना अति शीघ्र बन्यो र तत्काल कार्यान्वयनमा पनि लगियो । तर उपकरण जडान गरी सेवा दिन भने ६ वर्ष लगाइएको यसको बोलपत्र ०७४ जेठ ३१ गते गोरखापत्रमा प्रकाशन गरिएको थियो ।
रोचक चाहिँ पहिले सरकारी पैसामा करिब ३५ करोडमा खरिद गरिएको मेशिन जम्मा १४ करोडमा आउने रहेछ । एउटै खरिदमा २० करोडभन्दा बढी घोटाला गरिएको खुलासा भएको यस काण्डको शुरुवातअघि तत्कालीन स्वास्थ्यमन्त्री गगन र वीरका तत्कालीन निर्देशक भुपेन्द्रले निकै पटक मन्त्रालयमै लामो गलफत्ती गरेका मन्त्रालयका एक सहचिव बताउँछन् ।
यसरी खरिद गरेको मेशिनले काम नगरेपछि दिन बिराएर पालोपालो उपचार गर्न आउने सयौं गम्भीर रोगका बिरामीहरू तेब्बर मूल्य व्यहोरेर निजी अस्पताल धाउन बाध्य भएका छन् । बिग्रिएको मेशिन देखाएर नाम्स व्यवस्थापन भने फेरि थप कमिसन जुटाउने चक्करमा लागेको वीरकै एक आवासीय चिकित्सकको आशंका छ । भन्छन्– खरिद सम्झौतादेखि निर्माण मापदण्ड विपरित कार्य गरेको आरोपमा ३० प्रतिशत भुक्तानी नपाएको ठेकेदारलाई तत्काल मेशिन बनाउने शर्तमा भुक्तानी दिने योजनामा नाम्स व्यवस्थापन रहेको छ ।
बिज्ञापन
अर्का चिकित्सक भन्छन्– पहिले ३४ करोड ८५ लाखमा ल्याइएको मेशिन लापर्वाहपूर्ण ढंगले बिगारेको नाम्स व्यवस्थापनले यसपटक पनि बिरामीको स्वास्थ्यमाथि लापर्वाही गरिरहेको छ । क्यान्सर रोगका बिरामीलाई सेकताप गर्ने यो मेशिनमा उपचार गरेवापत नाम्सले प्रति बिरामी १ देखि १ लाख २० हजारसम्म शुल्क लिने गरेको छ । यही सेकतापबापत निजी क्षेत्रका स्वास्थ्य संस्थाले प्रतिबिरामी ३ देखि ४ लाखसम्म असुल्ने गरेका छन् । केही दिनको फरकमा नियमित सेकताप गर्नुपर्ने सयौं बिरामी मेशिन बिग्रिएपछि बिचल्लीमा परेका छन् । तर डा. भुपेन्द्रकुमार बस्नेत उपकुलपति रहेको नाम्स व्यवस्थापन भने मेशिन मर्मत गरी बिरामीलाई सेवा दिनुको सट्टा ठेकेदारको भुक्तानीतर्फ मात्र बढी केन्द्रित भएको पाइएको छ ।
मेशिन बिग्रिएपछि नाम्सलाई दैनिक डेढ लाखभन्दा बढी घाटा भइरहेको छ । तर यही दुर्गतिबाट नाम्स व्यवस्थापनले दोहोरो फाइदा लिइरहेको पनि डाक्टरहरूको दाबी छ । एकातिर वीरले भन्दा चौब्बर महंगो शुल्कमा बिरामीलाई निजीमा पठाएर मेशिन नबनाउनेहरूले लाभ लिइरहेको समेत भेटिएको छ ।

























