आगामी २१ फागुनको निर्वाचनमा खटिने कर्मचारीदेखि सुरक्षाकर्मीहरुले शत प्रतिशत भत्ता पाउने भएका छन् । निर्वाचन आयागले कार्यविधि जारी गर्दै आयुक्त,पदाधिकारी,कर्मचारी तथा सुरक्षासमितिका लागि सेवा सुविधा तोकेको छ ।
बिज्ञापन
आयोगले निर्वाचन आयुक्तहरुदेखि सुरक्षाकर्मीसम्मलाई आयोगले तलब बराबर नै भत्ता वितरण गर्ने गरी कार्यविधि तयार पारेको छ । जस अनुसार,आयुक्त, कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन सुरक्षा समितिका पदाधिकारीहरुले भत्ताबापत एक महिना बराबरको तलब सुविधा पाउनेछन् । यस्तै सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी र काजमा खटिने कर्मचारीहरुले समेत शुरु स्केलको शत प्रतिशत रकम भत्ता वापत पाउने आयोगले जनाएको छ । यस्का अलवा यो सुविधा आयुक्तको सुविधामा कार्यरत कर्मचारी,आयुक्त र निजी सचिवका पिएसओले समेत पाउने आयोगले कार्यविधि बनाएको छ ।
यो सुविधा आयुक्तको निवासमा खटिएका सुरक्षाकर्मी,आयोगको मूल गेटमा खटिने दश जनासम्मका प्रहरीहरुले पाउने जनाइएको छ । यसका अलवा आयुक्तले सञ्चार सुविधाबापत प्रति महिना दुई हजार पाँच सय सुविधा पाउनेछन् भने सचिवले दुई हजार, सहसचिवले एक हजार पाँच सय, उपसचिवले एक हजार र शाखा अधिकृतले पाँच सय पाउनेछन् ।
खाजा शीर्षकमा आयोगका सचिवालयमा कार्यरत कर्मचारीहरुले प्रति दिन तीन सय रुपैयाँ र बिदाको दिन खाना खर्चबापत पाँच सय रुपैयाँ पाउनेछन्।
बिज्ञापन
गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति समेत गरी सरकारले करिब सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।


























