पछिल्लो समय निजामती सेवा र प्रहरी सेवामा राजीनामा दिनेको लर्काे लागेको छ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बीचमै राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । यसरी बीचमै जागिर छाड्नेमा तल्ला तहका कर्मचारीहरुदेखि सचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।
बिज्ञापन
हालैमात्र राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिए ।निजामतीतर्फ गत साउनदेखि असोजसम्ममा उच्च पदस्थ सचिव तहका तीन जनाले राजीनामा दिएका छन् । कसैको जागिर अवधि अढाइ बर्ष त केहीको चार महिना अवधि बाँकी हुँदै पदबाट राजीनामा दिएका हुन । हालैमात्र राष्ट्रिय सभाका सचिव अर्यालले पदबाट राजीनामा दिए । गत ८० साल वैशाख २१ गते राष्ट्रिय सभाको सचिवमा नियुक्त भएका अर्यालले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् । पाँच बर्ष कार्यकालका लागि नियुक्ति पाएका अर्यालले साढे दुई बर्षमै पदबाट राजीनामा दिएका हुन । अर्यालले दिएको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।
यस अघि राष्ट्रिय सभाकै सहसचिव रहेका अर्याल बढुवा हुँदै राष्ट्रिय सभाका सचिवमा नियुक्त भएका थिए । तर जिम्मेवारी पाएको अढाइ बर्षमै उनले पदबाट राजीनामा दिएका हुन ।
बिज्ञापन
यस अघि नायब महान्यायाधिवक्ता डा टेकराज घिमिरे र सचिव भरतमणि सुवेदीले राजीनामा दिएका थिए । साउन ५ गते अनिवार्य अवकाशमा गएका घिमिरेले साउन २ गते राजीनामा दिएका थिए । उनको राजीनामा साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । घिमिरेको राजीनामा स्वीकृत भएको एक महिना नपुग्दै उनले अर्को राजनीतिक नियुक्ति पाएका छन् । उनलाई भदौ २ गतेको मन्त्रिपरिषद्को बैठकले प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गरेको छ । घिमिरेले राजीनामा दिएर अर्को पदमा नियुक्त भएको एक सातामै अर्का सचिव सुवेदीले राजीनामा दिएका थिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव सुवेदीले पाँच वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जानुभन्दा ४ महिना अगाडि नै पदबाट राजीनामा दिए । भदौ ८ गते सचिव सुवेदीले दिएको राजीनामा भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत भएको थियो । सचिव सुवेदी आगामी पुस २९ गते पाँच वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जाने थिए । त्यसको ४ महिना अगाडि नै उनी निजामती सेवाबाट बाहिरिएका हुन् । गत महिनामात्र सहसचिवद्धय रमेश शर्मा पौड्याल र रामगोविन्द अर्याल बीचमै सेवाबाट राजीनामा दिएका थिए । उनीहरुले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ ।
यस्तै,मुख्य सचिव बन्नबाट बञ्चित भएका तोयनारायण ज्ञवालीले पदबाट राजीनामा दिएका थिए । सरकारले एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीले राजीनामा दिएका छन्। मुख्यसचिवको प्रतिस्पर्धामा सचिव ज्ञवालीले पदबाट राजीनामा दिएका थिए । अघिल्लो बर्षमात्र नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिए । उनी ५८ वर्षीय उमेर हदले अवकाश पाउनु पाँच महिना अगावै पदबाट राजीनामा दिएका थिए । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए। उनी अघि संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिए । घिमिरे उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै राजीनामा दिएका थिए । यस्तै अर्काे उच्च प्रशासक उर्जा सचिवको जिम्मेवारीमा रहेका दिनेश कुमार घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले महिना दिन अगावै सचिव पदबाट राजीनामा दिएका थिए ।
बिज्ञापन
यसरी राजीनामा दिने मध्ये केही पेन्सनका लोभमा दुई चार दिन अगावै राजीनामा दिन्छन् भने केहीले लगतै अर्को नियुक्ति खानका लागि । पदबाट राजीनामा दिएर दिनेश थपलियाहरु निर्वाचन आयोग,प्रेम राई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,तोयम राया महालेखा परीक्षकको नियुक्ति पाएका छन् । केही सचिवहरुले यहाँबाट पदबाट राजीनामा दिएर विदेशी आइएनजिओहरुमा जागिर खानका लागि समेत पदबाट राजीनामा दिने विकृती बढ्दो छ । त्यसलाई संघीय निजामती सेवा विद्येयकले कस्न खोजेको थियो तर संसद नै नरहेका कारण सो विद्येयक पनि निस्क्रिय हुन पुगेको छ ।
यसरी निजामती सेवामा गत चार वर्षको अवधिमा २८९० जना निजामती कर्मचारीले बिचैमा जागिर छाडेका छन् ।किताबखानाको तथ्यांक अनुसार ०७८ ७९ मा ७६९ जनाले बीचमै जागिर छाडेका थिए भने ०७९/ ८० मा ८०४ जना, २०८०/ ८१ मा ७१४ जनाले बीचमै जागिर छाड्दा अघिल्लो आर्थिक बर्षमा ५ सय ९८ जना कर्मचारीले जागिर छाडेर हिडेका छन् । यसरी बीचमै जागिर छाड्नेमा कार्यालय सहयोगीदेखि सचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।
उता,उता नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले यही समयमा राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन् । प्रहरी केन्द्रीय कार्यालयले उपलव्ध गराएको विवरण अनुसार,०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेका छन् । यसरी जागिर छाड्नेहरुमा १९ जना सिनियर अधिकृत छन् । अघिल्लो आर्थिक बर्षमा मात्र ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएको विवरण हेर्ड क्वार्टरले उपलव्ध गराएको छ । जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । पछिल्लो पाँच बर्षमा झण्डै आठ हजार प्रहरीहरुले सेवा अवधि बाँकी छँदै राजीनामा ठोकेर हिडेका छन् ।
नेपाल प्रहरीमा पछिल्लो तीन महिनामा साढे ४ सय प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । प्रहरीका अनुसार २० वर्ष सेवा पूरा गरेका र कोही ५ वर्ष मात्रै सेवा गरेकाले राजीनामा दिएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० र अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् ।


 
							 
    








 
											 
											 
											 
											 
											















 
								 
								 
								 
                                 
                                 
                                 
                                