तक्मा र विभूषण कस्ता कर्मचारीलाई दिइन्छ ? दलीय भागबण्डा,पुरस्कार समितिसँगको पहुँचका आधारमा तक्मा थापेका कर्मचारीहरुले सो तक्माको गरिमा बचाउन सकेका छन त ? सम्माननीय राष्ट्रपतिकै हातबाट तक्मा थापेका,विभूषित भएका कर्मचारीले समेत सो तक्माको गरिमा बचाउन सकेका छैनन् । राष्ट्रपतिकै हातबाट तक्मा,पुरस्कार थापेका र विभूषित भएका एक पछाडि अर्काे कर्मचारी भ्रष्टाचार,अनियमितता प्रकरणमा मुछिन थालेका एक पछाडि अर्काे घटनाक्रमहरु बाहिरन थालेसँगै तक्मा,विभूषण र पुरस्कार दिँदा पुर्नविचार गर्नुपर्ने सन्देश दिएको छ,उच्च तहमा बसेका प्रशासकहरुलाई ।
बिज्ञापन
हालैमात्र अर्थ सचिवको जिम्मेवारीमा रहेका राजेन्द्रदेव पाण्डेमाथि गण्डकी प्रदेश सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको छ । कुनै समय राष्ट्रपतिकै हातबाट सुप्रवल जनसेवाश्री पुरस्कारबाट विभूषित भएका उनी त्यस यता विवादमा पर्दै आएका छन् । मकवानपुरको ५५ औं सिडियोको रुपमा ७९ असार १७ देखि ०८० असार १५ सम्म जिम्मेवारीमा रहँदा सुप्रवल जनसेवाश्री पुरस्कारबाट विभूषित भएका उनी धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा एक तिब्बती नागरिकलाई नेपाली नागरिकता बेचेको गम्भीर आरोप लाग्यो । तर उनीमाथि छानबिनै भएन । अघिल्लो बर्ष जेठ २१ गते जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी पदमा हाजिर भएका पाण्डेले धादिङ्ग पुगेको महिना दिनपछि कर्मचारीमार्फत चार लाख नगद लिएर तिब्बतीयन नागरिकलाई वंशजको आधारमा नेपाली नागरिकता दिएको बिषय बाहिर आयो । तर उनीमाथि कुनै छानविन र कारवाही भएन । उनकै लापरवाहीका कारण झ्याप्ले खोलामा ३५ जनाभन्दा बढीको ज्यान गएपछि मन्त्रालयमा तानिएका उनी त्यस अघि सिरहाको प्रमुख जिल्ला अधिकारी हुँदा मिटरब्याजीहरुसँगै मिलेर मिटर व्याज पीडितहरुको उजुरी छानबिन नगरेको भन्दै विवादमा परेका थिए । उनी गत बर्ष कार्तिकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेश हुँदै अर्थ सचिवको जिम्मेवारीमा हुँदा आफ्नो गाउँमा २८ करोड बजेट लगेको भन्दै विवादमा परेर अहिले बरण्डामा थन्काइएका छन् ।
बिज्ञापन
उता, पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्मा थापेका कर्मचारीहरु नै भ्रष्टाचार विवादको भूमरीमा पर्दै आएकाछन् । यस्को श्रीगणेश चाहिँ सचिव सुर्य गौतमबाट भएको हो । उनी सर्वोत्कृष्ट निजामती पुरस्कारबाट पुरस्कृत कर्मचारी,तर यसरी पुरस्कृत कर्मचारीले पुरस्कारको गरिमा कायम राख्न नसक्दा ०७३ सालयता एक जनाले पनि सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार पाएका छैनन् । पहिलो सर्वोत्कृष्ट पुरस्कार सुर्यप्रसाद गौतमलाई प्रदान गरिएको थियो । उनी पुरस्कारपछि आफ्नो श्रीमतीको लोक सेवा परीक्षाको कापी आफैं जाँच गरेको भन्दै विवादमा परेका थिए । तर आफ्नै श्रीमती इन्दिरा ढकालको कपी आफैंले जाँचेर उत्तीर्ण गराएपछि निजामती वृत्तमा बदनाम मात्र भएन,त्यस यता २ लाख राशीको पुरस्कार नै दिन छाडिएको छ ।
उनी पछि ७९ वैशाख १ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उत्कृष्ट निजामती कर्मचारीको रुपमा विभूषित भइन, लेखा पनेरु । सो को साता नबित्दै डेढ लाख घुस रकम सहित पक्राउ परिन । उनी त्यस समय जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृतको रुपमा कार्यरत थिइन । अख्तियारले विशेषमा मुद्धा लगे पछि निलम्बनमा परेकही उनी विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले २१ महिनापछि घुस प्रकरणमा दोषी ठहर गर्दै ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाइसकेको छ ।
बिज्ञापन
पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्माको इज्जत घट्दो छ । तक्मा र पुरस्कार थाप्नेहरुले त्यसलाई जोगाउन नसक्दा यस्को गरिमा खस्कन थालेको छ । सिफारिस समितिले पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई हेरेर होइन कि आफ्नो दलको हो वा होइन भन्ने आधारमा नाम सिफारिस गर्दा पुरस्कार र तक्माको गरिमा ओरालो लाग्न थालेको छ । यो प्रंसग किन पनि यहाँ जोडिएको हो भने आगामी भदौं २२ मा सरकारले फेरि निजामती सेवा दिवस बनाउँदै छ । सो अवसरमा पनि यस्तै विवादित,भ्रष्ट कर्मचारी होइन कि दूरदराजमा बसेर इमान्दारीतापूर्वक जनताका सेवा गर्न कर्मचारीहरुले तक्मा र पुरस्कार पाउन र सो को गरिमा कायम रहोस ।