नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले नयाँ मोड लिएको छ । गभर्नर बन्नका लागि मापदण्डमै फेरबदल गरेर पूर्व प्रशासकहरुलाई गभर्नर बनाउने चलखेल भएको भेटिएको हो ।
महाप्रसाद अधिकारी अवकाशमा गएसँगै रिक्त हुन लागेको गभर्नरमा नियुक्तिका लागि प्रवल दावेदार मानिएका थिए ज्ञानेन्द्र ढुङ्गना र निलम ढुङ्गना । ज्ञानेन्द्रले त नविल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।काँग्रेसका सांसद तथा डलरे अर्वपति विनोद चौधरीको बैंकमा सिइओ समेत रहेका र गभर्नर काँग्रेसकै कोटामा परेका कारण उनी गभर्नर नियुक्ति हुन सक्ने आँकलन गरिदैं थियो ।
यस्तै निलम ढुङ्गानालाई समेत विचौलिया दीपक भट्टको साथ र समर्थन रहेको चर्चा थियो । रोचक चाहिँ राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना नाताले ज्ञानेन्द्रकी भतिजी पर्छिन् । गभर्नरको उम्मेदवार भन्दै व्यापक प्रचारमा रहेकी उनीमाथि पनि बिचौलिया दीपक भट्टको सानेपास्थित किरण भवनमा पुगेर भेटघाट गरेको चर्चा व्यापक छ ।
यता यही समयमा गभर्नर नियुक्तिसम्बन्धी मापदण्डमै हेरफेर भएको छ ।अर्थ मन्त्रालय स्रोतका अनुसार यही फागुन अन्तिम साता उक्त मापदण्डमा फेरबदल भएको हो । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ मा जारी गरेको उमेद हद सम्बन्धी व्यवस्थालाई संशोधन गरिएको भेटिएको छ ।
यस अघि उक्त मापदण्डमा सार्वजनिक निकायमा नियुक्तीका लागि ३५ बर्ष पुरा भई ६५ बर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था थियो । नियम ३ ग मा रहेको सो व्यवस्था नयाँ मापदण्डमा हटाइएको छ । यो व्यवस्था हटाएर अब पूर्व प्रशासकहरु पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री,पूर्व सचिव रामेश्वर खनाल वा राष्ट्र बैंककै सञ्चालक रविन्द्रराज पाण्डे मध्ये एकले नियुक्ति पाउने सम्भवना बढेर गएको बताइन्छ ।
बिज्ञापन
गभर्नर सिफारिसका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिमा भूतपूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका भूतपूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य छन् । गत ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसको लागि समिति बनाउने निर्णय गरेको थियो ।
बिज्ञापन
अझैं एक साता गभर्नर नियुक्ति हुने छैन कारण प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक सम्मेलनमा भाग लिन भोलि बैंकक निस्कदै छन् । उनी आगामी शनिबार स्वदेश फर्कने भ्रमण तालिका छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि २५ गते सोमबार बस्ने क्याबिनेट बैठकमा मात्रै गभर्नर नियुक्तिको प्रस्ताव जानेछ र त्यसपछि मात्र गभर्नर नियुक्ति हुने सम्भवना रहेको अर्थ मन्त्रालयल स्रोतले जनाएको छ ।