कर्मचारीलाई जिम्मेवारी दिएर उत्प्रेरित गर्ने कि हप्कीदप्की गरेर झम्टिने ?

जब अत्याचारले सीमा नाघ्छ तब विद्रोहको ज्वारभाटा निस्कँदोरहेछ । ०७२ सालमा महानगरपालिकामा कानुन अधिकृत बनेर सेवा प्रवेश गरेँ । लोकसेवा लडेर नाम निकाल्नु मेरो कमजोरी हो ? लोकसेवाले २ जना कानुन अधिकृतसहित ४८ जना कर्मचारी मागेको थियो । महिला र खुला कोटामा नाम निकालें । त्यसअघि औषधि व्यवस्था विभागमा केही समय काम गरेको थिएँ । लोकसेवा भिडेर, नाम निकालेर ८ वर्षदेखि महानगरपालिकामा कार्यरत रहँदै आएको थिएँ । ०७४ को स्थानीय निर्वाचनपछि न्यायिक समितिमा चार वर्ष काम गरेँ । त्यस समय ऐन, कानुन केही थिएन । ऐन, कानुन बनाएँ । न्यायिक समितिको कामलाई प्रभावकारी बनाएँ । विद्यासुन्दर शाक्यहरू निस्कने र नयाँ जनप्रतिनिधि निर्वाचित हुने समय थियो । क्यान्सर रोग देखियो । अलि असक्त भएका कारण त्यहाँबाट चःमती जग्गा एकीकरण आयोजनामा सरुवा गरियो । कार्यालय प्रमुख हुनुहुन्थ्यो रामबाबु महतो । उहाँले शुरुमै ‘सोर्सफोर्स लगाएर जागिर खान आएको’ भन्नुभयो । एकातिर राज्यको काम गर्छु, जिम्मेवारी देऊ भन्दा दिँदैनन्, अर्काेतिर आफूभन्दा जुनियरको अण्डरमा खटाइएको छ, न त बस्नका लागि टेबुल र कुर्सी नै छ । यो प्रताडना भोगेको वैशाख १० गते तीन वर्ष पुग्दैछ । क्यान्सर रोगीले फोहोरको दुर्गन्ध आउने ठाउँबाट टाढै रहनुपर्छ । तर खटाइएको छ– टेकुस्थित फोहोर फाल्ने चःमती जग्गा एकीकरण आयोजनामा । त्यहाँ गन्धले बस्नै सकिन्न । हाइटेन्सन लाइनको मुनि छ कार्यालय । अनि म आठौं तहको कर्मचारी, शिवराज सोती छैंटो तहको हाकिम छन् । दैनिक कार्यालय जाने र हाजिर गरेर फर्कने सिलसिला चलिरहेको छ तीन वर्षदेखि । दरबन्दी नभएको ठाउँमा आफूभन्दा २ तह जुनियरको मातहतमा हाजिर गराएर राखिँदा एउटा क्यान्सर पीडितको मन कति छिया–छिया हुँदो हो ? कार्यालयमा बस्ने ठाउँसमेत नदिएका कारण दिनभर  भर्याङ वा घरमा बस्न बाध्य पारिएको छ ।

बिज्ञापन

०७९ को स्थानीय निर्वाचनपछि काठमाडौँको मेयर र डेपुटी मेयर नै युवा आए । यसले हामी कर्मचारीलाई पनि आशावादी बनायो । लोकेन्द्र पौडेल त्यसअघि प्रमुख प्रशासकीय हुनुहुन्थ्यो । उहाँसँग गोरु बेचेको साइनो पनि छैन । पौडेल थर मिल्नु मेरो अपराध हो ? त्यही कारण वसन्त अधिकारीलाई लागेछ हामी दम्पती नै पौडेलका मान्छे हौँ । श्रीमान् रामप्रसाद पौडेल दुई दशकभन्दा लामो समयदेखि महानगरपालिकामै कार्यरत हुनुहुन्थ्यो । वसन्त अधिकारीले रामप्रसादको श्रीमती भनेर सदैव हेप्नुभयो । ममा काम गर्न सक्ने आत्मविश्वास र क्षमता छ तर मेरो स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यान नराखी उल्टै हतोत्साहित गराउने, गालीगलौज गर्ने काम भयो । मलाई योग्यताअनुसारको जिम्मेवारी दिन भनेर बारम्बार प्रमुख प्रशासकीय अधिकृत, प्रशासन महाशाखाको हाकिम महेश काफ्ले, दीपक अधिकारी, प्रशासन महाशाखा प्रमुख सरिता राईसँग अनुनय विनय गरँे । तर, केही जिम्मेवारी दिइएन । उपमेयर र प्रवक्ता नवीन मानन्धरसँग पनि काम दिनुहोस्  भनें । यदि, संस्थामा काम गर्न नदिने हो भने अन्य ठाउँमा काम गर्न स्वीकृति दिनुहोस् भनी निवेदन दिएँ । त्यो पनि सुनुवाइ भएन । प्रमुख प्रशासकीय अधिकृतले फाइल कार्यपालिकामा लैजान रोक्नुभयो । मलाई काम गर्न किन नदिएको, त्यसको लिखित जवाफ दिनुहोस् भन्दा त्यो पनि आजसम्म दिइएको छैन । तलब दिएको छ, घरमा टिकटक बनाएर बस्नुहोस् भन्ने जवाफ आउँछ । एउटा जिम्मेवार पदाधिकारीले दिने जवाफ यस्तै हुन्छ ? प्रोत्साहन त परको कुरा उल्टै अपशब्द सुन्नुपर्छ । गालीको वर्षा हुन्छ । के हामी गाली खानका लागि कर्मचारी भएका हौँ ? कार्यालय आउने, हाजिर गर्ने र फर्कनका लागि मात्र हो र राज्यले तलब दिएको ? म गफ र चाकडी होइन, काम गर्ने मान्छे । एउटा कर्मचारीलाई जिम्मेवारी दिएर उत्प्रेरित गर्ने कि हप्कीदप्की गरेर झम्टिने । तिमीहरूका श्रीमान्, श्रीमतीलाई नै जागिर चाहिने भनेर जवाफ फर्काउनुभएको छ ।

बिज्ञापन

अहिले महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा प्रदीप परियार आइपुग्नुभएको छ । युवा, जोश र जाँगर बोकेर । सात दिन अगाडि गएर भेटेँ । क्यान्सरसँग जुधिरहेकी महिला कर्मचारी, राज्यको सेवा गर्न चाहन्छु । मेरो गल्ती कमजोरी केही नहुँदा नहुँदै पनि तीन वर्षसम्म काम दिइएन, हाजिर गरेर मात्र फर्किएको विषय जानकारी गराएँ । उहाँले ओहो तपाईंलाई ठूलै अन्याय भएको रहेछ भन्नुभयो र सामाजिक सञ्जालमा असन्तुष्टि पोखेको बदलामा स्पष्टीकरण पत्र पो बुझ्न लगाउनुभयो । निजामती कर्मचारी, शिक्षक, सामाजिक क्षेत्रमा सबै क्षेत्रमा महिला योग्य र सक्षम छन् । निजामती ऐनले नै श्रीमान्, श्रीमती दुवै सरकारी जागिरे छन् भने एकै ठाउँ वा क्षेत्रमा राख्नु भन्छ तर म आफ्नै योग्यताले लोकसेवा भिडेको हुँ, नाम निकालेको हुँ ।

कार्यालयमा रामप्रसादकी श्रीमतीको रूपमा हेरिन्छ । रामप्रसादकी श्रीमती हुनु मेरो दोष हो ? मेरोजस्तै रोग लागेको कर्मचारीलाई बिल्लीबाठ बनाएको छ महानगरपालिकाले । कानुन अधिकृतमा २३ वर्ष काम गर्नुभएको कल्पना श्रेष्ठलाई क्यान्सर भएकै कारण सेवाबाट हटाइएको छ । जीवनका साढे दुई दशक संस्थाको हितका लागि काम गर्नुभएको उहाँलाई संस्थाले हेरेन । नक्सा शाखामा लिना म्याडम हुनुहुन्छ । क्यान्सर देखिएपछि पार्वता दाहाललाई चःमती कार्यालय पठाइएको छ । के चःमती आयोजना भनेका क्यान्सर रोग लागेकाहरूलाई लगेर डम्प गर्ने कार्यालय हो ? झण्डै दुई दशक महानगरपालिकामा कार्यरत रहनुभएका मेरो श्रीमान्ले नै सुलभ फार्मेसी, सुर्तीजन्य बेचबिखन बन्द गर्ने काममा मेयर बालेन साहको दाहिने हात बनेर काम गर्नुभयो ।

बिज्ञापन

 

उहाँलाई सफल बनाउन दिनरात खटिनुभयो तर उहाँलाई स्पष्टीकरणको समेत मौका नदिई वसन्त अधिकारीले पेलेर जिम्मेवारीबाट हटाउनुभयो । श्रीमान्लाई एकल निर्णयबाट बर्खास्त गर्नुभएको छ । कारबाहीका लागि लोकसेवा आयोगमा पठाइयो । पक्कै पनि लोकसेवा आयोगले कालो र सेतो त छुट्टाउला नै । मेयर बालेन साहसँग मेरो केही रिसइबी छैन न त मैले मेयर साहलाई नै देखेको वा भेटेको छु न उहाँले मलाई देख्नु वा चिन्नुभएको छ । म माथि जति पनि अन्याय र अत्याचार भएको छ प्रशासनका हाकिमहरूबाटै भएको छ । उहाँहरूको दुर्वचनले मलाई झनै मानसिक आघात पु¥याएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले तपाईंलाई कानुनमा हामी काम गर्न दिन्नौं । कार्यजिम्मेवारीविहीन बनाएर राख्छौं भन्दै करारमा कर्मचारी भर्ती गर्दा राज्यलाई वार्षिक लाखौं व्ययभार थपिएन र ? त्यही प्रश्न उठाएको हुँ मैले । त्यही जिज्ञासा र प्रश्न राख्दा उल्टै स्पष्टीकरणको पत्र काटिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

बिशेष