जग्गा कारोबारदेखि ठेक्कासम्मका व्यवसायमा संलग्न सेनाले अब ग्यास उद्योग समेत खोल्ने भएको छ । उसो त नेपाली सेना जनताको करबाट चल्ने संस्था र निकाय हो तर पछिल्लो समय सेना पेसागत मर्यादाविपरीत निजी कम्पनीझैँ नाफामुखी व्यापारमा सक्रिय छ । घरजग्गा कारोबारदेखि क्यान्टिन सञ्चालनसम्म गर्दै आएको सेनाले अब ग्यास उद्योगमा हात हाल्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेनाको सैनिक कल्याणकारी कोषमार्फत ग्यास बोटलिङ प्लान्ट र भण्डारण गृह सञ्चालन गर्न दिने गृहकार्य अगाडि बढाएको छ ।
बिज्ञापन
यस अघि नै नेपाली सेनाले विद्यालय तथा महाविद्यालय विस्तार, अत्याधुनिक अस्पताल विस्तार, पेट्रोलपम्प विस्तार तथा व्यवस्थापन, मिनरल वाटर तथा अक्सिजन प्लान्ट विस्तार, फार्मेसी सञ्चालन समेत गर्दै आएको छ । यस्का अलवा नेपाली सेनाले घरजग्गामा हात हालेको दोश्रो जनआन्दोलनपछि नै हो । ०६३ देखि सेनाले जग्गा खरिद गरेर प्लटिङ गर्ने, आवास बनाउने र सहुलियत दरमा सेनाका अधिकारीहरूलाई बिक्री गर्दै आएको छ । सेनाले कोषको रकमबाट सुपथ मूल्य क्यान्टिन चलाउँदै आएको छ भने हाइड्रोदेखि पर्यटन उद्योगसम्ममा उसले लगानी गरसकेको छ । यसरी लगानी गरिएका क्षेत्र नाफामुखी देखिएका छैनन् । यस्तै सैनिक कल्याणकारी कोषको रकम ब्याजमा लगानी, सडक तथा जलविद्युत् योजनामा समेत हात हालेकै थियो । ठेक्का पट्टामा समेत सेनाले हात हालेको छ । सेनाको जिम्मामा रहेको सबैभन्दा ठूलो आयोजना काठमाडौं–तराई द्रुतमार्गको लागत २ खर्ब ११ अर्ब ९३ करोड माथि पुगेको छ । जस्को प्रगति एक दशक पूरा हुँदा ५० प्रतिशत काम सम्पन्न हुन सकेको छैन । यस्तै, पानी व्यवसाय, कपडा उद्योग सञ्चालन, जग्गा प्लटिङ र आवास निर्माणमा समेत हात नहालेको ठाउँ कमै छन् अब बालेन सरकारले नेपाली सेनालाई पेट्रोल पम्प समेत चलाउने दिने गृहकार्य अगाडि बढाएको छ । उसो त अहिले पनि नेपाली सेनाले देशभरका सात स्थानमा पेट्रोल पम्प चलाइरहेको छ । व्यापारिक कम्प्लेक्सदेखि पार्टी भेन्यू चलाइरहेको छ। २ खर्ब ११ अर्ब रुपैयाँ लागतको फास्ट ट्र्याक निर्माणको जिम्मा पनि सेनाकै छ। बालेन सरकार बनेसँगै दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन पनि सेनालाई सुम्पेकोमा अब ग्यास बोटलिङ प्लान्ट र भण्डारण गृह सञ्चालनको जिम्मेवारी दिन लागिएको हो ।
बिज्ञापन
उसो त काठमाडौं महानगरपालिकाको मेयर हुँदैदेखि बालेन्द्र शाहको नेपाली सेनासँग निकै नजिक रहेको टिप्पणी हँदै आएको छ । ग्यास बोटलिङ प्लान्ट र भण्डारण गृह सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएको खण्डमा निजी क्षेत्रको ५३ अर्बभन्दा बढीको लगानी जोखिममा पर्ने व्यवसायीहरु बताउँछन् । अहिले व्यवसायीहरुले गर्न थालेको प्रश्न हो यदी सेना र प्रहरीले व्यावसायिक काम गर्न थालेपछि निजी क्षेत्रले के काम गरेर पेट पाल्ने ? रोजगारी कहाँबाट सिर्जना हुने ?
सुरक्षा विद्हरुको टिप्पणी छ नेपाली सेना भनेको मूलत विपद्, राष्ट्रिय संकट, उद्धार तथा रणनीतिक पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्दै आएको निकाय हो तर पछिल्लो समय व्यापार व्यवसायदेखि जग्गाको ठेक्कापट्टामा समेत सेनालाई अगाडि सारिएको छ । एकातिर नेपाली सेना हातहतियारले बलियो निकाय हो । त्यही सेनालाई व्यापारी बनाएर धनी बनाउँदा भविष्यमा लोकतन्त्रमाथि नै खतरा हुने जानकारहरू बताउँछन् । बन्दुक र पैसा दुबै भएपछि भोलिका दिनमा सेनाले राजनीतिक नेतृत्वलाई नटेर्ने सम्भावना रहन्छ, सेनाले पाकिस्तानी मोडेलमा सत्ता सञ्चालनमा सक्रियता देखाउने चिन्ता पोख्छन्,विज्ञहरु ।
उसो त यही नेपाली सेनाका अवकाश प्राप्तहरुलाई सरकारी राजनीतिक नियुक्तिमा प्रथामिकतामा पर्न थालेका छन् । राजदूत,एकीकृत बागमती सभ्यताको अध्यक्ष,वायु सेवा निगमदेखि चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान,पूर्वाधार मन्त्रीका सल्लाहकार समेत नेपाली सेनाकै अवकाश प्राप्त व्यक्तिहरुले नियुक्ति पाउने र यता सरकारले सेनालाई उद्योग धन्दा कलकारखाना चलाउन दिनुले सरकार र सेनाको कनेक्सनका बिषयमा अनेकन सवालहरु उठ्दै गएका छन् ।





























