नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन र भुक्तानीलाई लिएर देखिएको विवादले नयाँ मोड लिएको छ। गाउँपालिकाकी लेखा अधिकृत सम्पदा न्यौपानेलाई बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हटाएर स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङको निजी सचिवालयमा कामकाज गर्नेगरी खटाएको छ।
बिज्ञापन
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पत्राचार गर्दै न्यौपानेलाई अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रीको निजी सचिवालयमा कामकाज गर्नेगरी पठाएको हो। तर, उनको पदाधिकार भने सूर्यगढी गाउँपालिकामै कायम रहने र तलबभत्ता गाउँपालिकाबाटै भुक्तानी हुने पत्रमा उल्लेख छ।
कार्यालयका शाखा अधिकृत ऋषिराम भुसालले हस्ताक्षर गरेको पत्रमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको पत्रका आधारमा न्यौपानेलाई मन्त्रीको निजी सचिवालयमा कामकाज गर्न खटाइएको जनाइएको छ।
बिज्ञापन
यो निर्णय कर्मचारी प्रेसले सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन र भुक्तानी रोकिएको विषयमा समाचार प्रकाशन गरेकै दिन भएको हो। समाचार सार्वजनिक भएपछि सोही मितिमा कार्यालयले न्यौपानेलाई कामकाज सरुवाको पत्र थमाएको देखिएको छ।
न्यौपाने र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राहुलकुमार उपाध्यायबीच बजेट कार्यान्वयन र खाता सञ्चालनको विषयलाई लिएर विवाद चर्किएको थियो। चालु आर्थिक वर्ष २०८३/०८४ को शीर्षकगत बजेट प्रणालीमा प्रविष्ट गर्न आवश्यक विवरण प्राप्त नभएको भन्दै न्यौपानेले असोज १३ गते प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई पत्र लेखेकी थिइन्।
उनले बजेटसम्बन्धी विवरण प्राप्त नभएको र खाता सञ्चालनसमेत हुन नसकेको अवस्थामा गाउँपालिकाका विकास निर्माणका काम प्रभावित हुनुका साथै सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलबभत्तासमेत भुक्तानी गर्न नसकिएको जनाएकी थिइन्।
विवाद समाधान हुन नसकेपछि प्रदेश सरकारले लेखा अधिकृत न्यौपानेलाई गाउँपालिकाबाट बाहिर पठाउने निर्णय गरेको हो। यद्यपि, उनको सरुवा नियमित प्रशासनिक प्रक्रिया हो वा गाउँपालिकामा उत्पन्न विवादकै परिणाम हो भन्ने विषय भने थप स्पष्ट हुन बाँकी छ।
बिज्ञापन
गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले भने लेखा अधिकृतको कार्यशैली र मनोमानीका कारण गाउँपालिकाको वित्तीय काम प्रभावित भएपछि नयाँ व्यवस्था गर्नुपरेको दाबी गरेका छन्।
उनका अनुसार लेखा अधिकृतको सरुवापछि रोकिएका भुक्तानीका काम अघि बढ्ने वातावरण बनेको छ। नयाँ कर्मचारी एक–दुई दिनभित्रै आउने र त्यसपछि बजेट प्रणाली सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलबभत्ता भुक्तानीलाई प्राथमिकतामा राखिने अध्यक्ष घलेले बताएका छन्।
‘भुक्तानीमा हाम्रो यस्तोखालको ढिलाइ भएको थिएन। तर उहाँको कारणले गर्दा यो हुन आएको हो,’ अध्यक्ष घलेले भने।
गाउँपालिकाले आर्थिक रूपमा विपन्न तथा गम्भीर प्रकृतिका बिरामीलाई समेत सहयोग गर्दै आएको अध्यक्ष घलेको भनाइ छ। क्यान्सर, मेरुदण्ड भाँचिएका, पक्षघात भएका तथा अस्पतालको सघन उपचार कक्षमा रहेका बिरामीलाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको उनले बताए। तर वित्तीय कारोबार तथा भुक्तानीसम्बन्धी विवादका कारण यस्ता सहायता कार्यक्रमसमेत प्रभावित भएको उनको दाबी छ।
अब नयाँ लेखा कर्मचारी आएपछि बजेट प्रणाली नियमित सञ्चालनमा ल्याउने, रोकिएका भुक्तानी फुकुवा गर्ने र सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलबभत्ता वितरणलाई प्राथमिकतामा राख्ने गाउँपालिकाको तयारी छ।
यससँगै सूर्यगढी गाउँपालिकामा लामो समयदेखि देखिएको बजेट कार्यान्वयनसम्बन्धी विवाद तत्कालका लागि कर्मचारी परिवर्तनमार्फत समाधान गर्ने प्रयास भएको देखिएको छ। यद्यपि, बजेट प्रणालीमा विवरण किन प्रविष्ट हुन सकेन, खाता सञ्चालनमा अवरोध कसरी उत्पन्न भयो र त्यसबाट भएको वित्तीय तथा प्रशासनिक असरको जिम्मेवारी कसले लिने भन्ने प्रश्न भने अझै अनुत्तरित छन्।
कार्यपालिका-लेखा अधिकृतको लफडा,तीन महिना बित्दा समेत सञ्चालन हुन सकेन पालिकाको खाता





























