तातोपानी नाका बन्द हुँदा व्यवसायीलाई सास्ती

चीनसँगको व्यापारका लागि महत्वपूर्ण तातोपानी नाका डेढ महिनाभन्दा लामो समयदेखि बन्द हुँदा सीमाक्षेत्रमा आयातका सामान बोकेका कन्टेनर थुप्रिन थालेका छन्। नाका सञ्चालनको औपचारिक निर्णय नहुँदा व्यवसायी, मजदुर र यातायात व्यवसायी अन्योलमा परेका छन्।

बिज्ञापन

चिनियाँ पक्षले भदौ १५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। त्यसयता सडक तथा सीमा पूर्वाधार सञ्चालनयोग्य अवस्थामा रहे पनि नाका खोल्ने विषयमा चिनियाँ पक्षबाट औपचारिक जानकारी आएको छैन।

बिज्ञापन

यसअघि पनि अरनिको राजमार्गमा पहिरो गएपछि साउनको सुरुदेखि करिब तीन सातासम्म तातोपानी नाका बन्द भएको थियो। साउन तेस्रो साताबाट सीमित रूपमा यातायात सञ्चालनमा आए पनि भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि चिनियाँ पक्षले नाका पुनः बन्द गरेको हो।

नाका खुलाउने प्रयासस्वरूप गत मंगलबार नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित परराष्ट्र, अर्थ तथा वाणिज्य मन्त्रालय, भन्सार र सडक विभागका अधिकारीले तातोपानी सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि नाका खुल्ने अपेक्षा बढे पनि अहिलेसम्म निश्चित मिति तय भएको छैन।

बिज्ञापन

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीका अनुसार नेपालतर्फ लिपिङ र कोदारी क्षेत्रमा चीनबाट सामान ल्याउने कन्टेनरको लामो लाइन लागेको छ। चीनतर्फ न्यालम क्षेत्रमा दसैंलाई लक्षित गरी ल्याइएका सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्। पराजुलीका अनुसार नेपालतर्फको कोदारी सडक ४० फिटे कन्टेनर सञ्चालन गर्न सकिने अवस्थामा ल्याइए चिनियाँ पक्षले कन्टेनर पठाउन सुरु गर्ने संकेत दिएको छ। खासा बजारको पुनर्निर्माण अन्तिम चरणमा पुगे पनि सीमावर्ती क्षेत्रको जोखिमका कारण तातोपानी नाका नियमित रूपमा सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष अझै निर्णयमा पुगेको छैन।

नाका बन्द हुँदा सिन्धुपाल्चोकको तातोपानी क्षेत्रको स्थानीय अर्थतन्त्रमा समेत प्रत्यक्ष असर परेको छ।  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार नाकामा निर्भर करिब एक हजार कन्टेनर चालक तथा सहचालक र झन्डै सात सय लोडर तथा मजदुर प्रभावित भएका छन्। नाका बन्द हुँदा साना व्यवसायीदेखि ढुवानी व्यवसायसम्मको कारोबार प्रभावित भएको उनको भनाइ छ।

तातोपानी नाका सञ्चालन हुँदा काठमाडौंसम्म एउटा कन्टेनर ल्याउँदा करिब ५० हजार रुपैयाँ ढुवानी खर्च लाग्ने गरेकोमा वैकल्पिक मार्गबाट ल्याउँदा लागत निकै बढेको व्यवसायीको भनाइ छ। कोरला नाका हुँदै सामान ल्याउँदा करिब पाँच सय किलोमिटर घुम्नुपर्ने र एउटा कन्टेनरको ढुवानी खर्च करिब चार लाख रुपैयाँसम्म पुग्ने गरेको उनीहरूले बताएका छन्। ढुवानी खर्च बढेपछि त्यसको असर उपभोक्ता मूल्यमा समेत पर्ने व्यवसायीको दाबी छ।

तातोपानी बन्द भएपछि दसैं र तिहारलाई लक्षित गरी ल्याइएका फलफूल, बालबालिकाका कपडा तथा जुत्ता, सजावटका सामग्री, ड्राइफ्रुट्स र लसुनलगायतका सामानसमेत सीमामै रोकिएका छन्। फलफूल व्यवसायी पराजुलीका अनुसार कोरला नाकामा मात्रै नेपालतर्फ करिब ७० र चीनतर्फ करिब ५० कन्टेनर स्याउ रोकिएका छन्। दसैंअघि काठमाडौं ल्याउन नसके ठूलो परिमाणको फलफूल नोक्सान हुने जोखिम रहेको उनले बताए। यसबीच, तातोपानी नाका कहिले खुल्छ भन्ने अनिश्चितताले व्यवसायीको ध्यान सीमामा रोकिएका कन्टेनर र दसैंअघि सामान काठमाडौं भित्र्याउन सकिने–नसकिनेतर्फ केन्द्रित भएको छ। नाका सञ्चालनका लागि सरकारी तथा कूटनीतिक पहल भइरहे पनि चिनियाँ पक्षको औपचारिक निर्णय नआएसम्म तातोपानीको व्यापारिक गतिविधि पूर्ववत् हुने अवस्था स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

बिशेष