काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका डिआजी विष्णु भट्टले मधेश प्रदेशको नेतृत्व सम्हालेपछि नेपाल–भारत खुला सीमाबाट हुने तस्करी, सीमा अपराध तथा अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेको देखिएको छ।
बिज्ञापन
मधेश प्रदेशमा सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले पछिल्लो तीन महिनामा मात्रै करिब २७ करोड ८५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। ती सामान ओसारपसारमा प्रयोग भएका करिब १० करोड २२ लाख रुपैयाँ बराबरका सवारीसाधनसमेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीको तथ्यांकले देखाएको छ।
असारदेखि भदौ मसान्तसम्मको अवधिमा भन्सार छली गरी अवैध रूपमा निकासी–पैठारी गरिएका खाद्यान्न तथा किराना सामान, कपडा, सुर्तीजन्य पदार्थ, विद्युतीय सामग्री, हार्डवेयर, मोटरपार्ट्स, कस्मेटिक्सलगायतका सामान बरामद भएका छन्। सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि निगरानी बढाइएपछि तस्करीमा प्रयोग भएका सवारीसाधनसमेत ठूलो संख्यामा नियन्त्रणमा परेका छन्।
बिज्ञापन
यस अवधिमा सशस्त्र प्रहरीले १ हजार १०४ दशमलव ०५ क्युफिट अवैध काठसमेत बरामद गरेको छ। त्यस्तै नेपाली ३० लाख ७ हजार रुपैयाँ र भारतीय ४ हजार २८० रुपैयाँ नगद, ८ दशमलव ५७० ग्राम सुन तथा १०२ ग्राम चाँदी बरामद गरी आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सीमा अपराध तथा अन्य अवैध गतिविधिमा संलग्न ८४ जनालाई पक्राउ गरी अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ। अवैध सामान भण्डारण गरी राखिएका ३५ भन्दा बढी स्थानमा समेत समन्वयात्मक रूपमा खानतलासी गरी ठूलो परिमाणमा सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बिज्ञापन
लागुऔषध नियन्त्रणमा पनि सशस्त्र प्रहरीले कडाइ गरेको छ। तीन महिनाको अवधिमा १९३ दशमलव ६८ ग्राम ब्राउन सुगर, ९ दशमलव ५ किलोग्राम चरेस र १ हजार ६०६ दशमलव ८५७ किलोग्राम गाँजासहित विभिन्न प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ।
सीमावर्ती क्षेत्रमा लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले यस वर्ष मधेश प्रदेशका सीमावर्ती पालिकामा लागुऔषधविरुद्ध राष्ट्रिय अभियानअन्तर्गत पाइलट कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ। सीमावर्ती क्षेत्रलाई क्रमशः लागुऔषधमुक्त क्षेत्र बनाउने उद्देश्यले स्थानीय तहसँगको समन्वयमा कार्यक्रम अघि बढाउने तयारी रहेको सशस्त्र प्रहरी स्रोतको भनाइ छ।
हातहतियार नियन्त्रणतर्फ पनि तीन महिनाको अवधिमा तीन थान कटुवा पेस्तोल, दुई थान सिक्सर र दुई थान भरुवा बन्दुकसहित गोली, राउन्ड तथा बारुद बरामद गरिएको छ। खुला सीमाको फाइदा उठाउँदै हुनसक्ने अवैध हातहतियार ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ।
मानव बेचबिखन नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीको सक्रियता देखिएको छ। बेचबिखनको आशंका गरिएका अवस्थामा २९ महिला र ३० पुरुष गरी ५९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १२ बालक र दुई बालिका रहेका छन्। सीमाबाट हुने मानव ओसारपसार तथा बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा थप निगरानी र आवश्यक समन्वय गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध पनि कारबाहीलाई तीव्रता दिइएको छ। यस अवधिमा २२ ट्र्याक्टर, २६ टिपर र दुईवटा जेसीबी नियन्त्रणमा लिइएको छ। अवैध उत्खननसँग सम्बन्धित तीन जनालाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सीमा सुरक्षासँगै विपद् व्यवस्थापनमा समेत मधेश प्रदेशमा सशस्त्र प्रहरी परिचालन भएको छ। पछिल्लो तीन महिनामा विभिन्न विपद्मा परेका १५ पुरुष र १५ महिला गरी ३० जनाको सकुशल उद्धार गरिएको छ। त्यस्तै २११ पुरुष र ६३ महिलासहित २७४ जना घाइतेको उद्धार तथा ६३ पुरुष र १६ महिलासहित ७९ जना मृतकको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नदीजन्य विपद्मा खोज तथा उद्धारका लागि मधेश प्रदेशमा १२ जना तालिम प्राप्त गोताखोरसमेत रहेका छन्। आवश्यकता र घटनाको प्रकृतिअनुसार उनीहरूलाई नदी तथा जलजन्य विपद्मा खोज तथा उद्धारका लागि परिचालन गर्ने गरिएको छ।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र बाह्य अपराध नियन्त्रणसँगै संगठनभित्रको अनुशासनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। नीति तथा संगठनको आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा ३५ जना अधिकृतसहितका कर्मचारीलाई विभागीय कारबाहीको दायरामा ल्याइएको छ। कार्यक्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ४३ जना कर्मचारीलाई भने पुरस्कृत गरिएको छ।
नेपाल–भारत खुला सीमाका कारण मधेश प्रदेशमा तस्करी, मानव ओसारपसार, लागुऔषध तथा अन्य सीमा अपराध नियन्त्रण सशस्त्र प्रहरीका लागि निरन्तर चुनौती रहँदै आएको छ। पछिल्लो तीन महिनाको तथ्यांकले भने सीमा क्षेत्रमा निगरानी र कारबाहीलाई थप केन्द्रित गरिएको देखाएको छ। बरामद अवैध सामान, नियन्त्रणमा लिइएका सवारीसाधन, पक्राउ परेका व्यक्ति तथा उद्धार गरिएका नागरिकको संख्याले मधेश प्रदेशमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको परिचालन र कारबाहीको दायरा विस्तार भएको संकेत गरेको छ।





























