बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मद्धा दायर गरेको छ । अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरुद्ध विशेषमा मुद्धा लगेको हो ।
बिज्ञापन
चीनतर्फको सीमामा रोकिएको सामान आयातका लागि स्वीकृति दिलाउने तथा खाद्य आयात अनुमति सहजीकरण गरिदिने भन्दै अधिकारीसहित विभिन्न व्यक्ति तथा कम्पनीसँग सम्बन्धित व्यक्तिसँग २८ लाख २०हजार घुस रकम मागेको, विभिन्न बैंक खाता तथा क्यूआरमार्फत रकम संकलन गरिएको पुष्टि भएसँगै अख्तियारले विशेषमा मुद्धा दगेको हो । आयोगका अनुसार अधिकृत अधिकारीको नेपाल बैंक खातामा २५ हजार र प्रभु बैंक खातामा १ लाख १४ हजार रकम जम्मा भएको,बस्याल क्षेत्रीको माछापुच्छ्रे बैंक खातामा ८ लाख ९४ हजार ५००, रश्मिता श्रेष्ठको ग्लोबल आइएमई बैंक खातामा १४ लाख ९३ हजार ३७५ र सुरेश चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपैयाँ गरी २८ लाख २० हजार ३७५ रुपैयाँ घुसबापत संकलन तथा प्रयोग भएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको दाबी छ।
अख्तियारले अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० अन्तर्गत मुख्य कसुरदार कायम गरी बिगोबमोजिम जरिवाना तथा कैद सजाय मागदाबी गरेको छ। त्यस्तै, बस्याल क्षेत्री, चौधरी र श्रेष्ठलाई गैरकानुनी लाभ लिने प्रकृतिको मतियारका रूपमा दफा २२ अन्तर्गत कसुर कायम गरी मुख्य कसुरदारसरह सजाय माग गरिएको आयोगले जनाएको छ ।





























