कालिगण्डकी करिडोरमा ४० भन्दा बढी स्थानमा पहिरो र बाढीको क्षति, मालढुंगा–कोरला सडकको आवागमन प्रभावित

अविरल वर्षाका कारण राष्ट्रिय राजमार्ग–४८ अन्तर्गतको कालिगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्डमा व्यापक क्षति पुगेको छ। सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, कालिगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना, जोमसोमका अनुसार असोज ११ गते दिउँसो १ बजेसम्म सडकका विभिन्न खण्डमा पहिरो, बाढी, डुबान तथा सडक कटानका घटना भएका छन्।

बिज्ञापन


मिति २०८३ असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्नुका साथै कालिगण्डकी नदी तथा स्थानीय खोलाको बहाव बढ्दा सडक कटान र डुबान भएको कार्यालयले जनाएको छ। कतिपय स्थानमा ढुंगा खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने केही ठाउँमा पुलको पहुँचमार्गसमेत बगाएको छ।
कार्यालयका अनुसार मालढुंगाबाट सुरु हुने चेनेजअनुसार लाटीखोला, फर्शे, जुकेखोला, केरावारी, लामाखेत, गलेश्वर, रघुगंगा पुल, बैसरी, वेगखोला, महभीर, भिरकाटे, पोखरेबगर, नौनीबगर, तातोपानी कुण्ड, नार्थ्याङ, जल्थले, सुकेबगर, खाम्भित्ता र दानालगायतका स्थानमा सडक प्रभावित भएको छ।

बिज्ञापन


लाटीखोला, फर्शे, जुकेखोला र केरावारी क्षेत्रमा सडक माथिबाट लेदोसहितको पहिरो खसेको छ। लामाखेतमा कालिगण्डकी नदीको उच्च बहावका कारण सडक डुबानमा परेको छ। गलेश्वर, रघुगंगा पुल, बैसरीका विभिन्न स्थान तथा वेगखोलामा पहिरो खसेको कार्यालयले जनाएको छ। वेगखोलामा पहिरोसँगै कालिगण्डकी नदीको उच्च बहावका कारण सडक डुबानमा समेत परेको छ।


महभीरमा चट्टानसहितको पहिरो खसेको छ भने भिरकाटेमा कालिगण्डकी नदीको उच्च बहावले सडक कटान गरेको छ। पोखरेबगरमा पुलको बायाँतर्फको पहुँचमार्ग नै बगाएको छ। तातोपानी कुण्ड, नार्थ्याङ र खाम्भित्तामा समेत कालिगण्डकी नदीको उच्च बहावले सडक कटान गरेको कार्यालयको विवरणमा उल्लेख छ।

बिज्ञापन


त्यस्तै नौनीबगरमा ढुंगासहितको पहिरो खसेको छ। जल्थले, सुकेबगर र दानालगायतका क्षेत्रमा लेदोसहितको पहिरो सडकमा खसेको छ। रुप्से, काभ्रेभिर, खहरेखोला, घासा र कैकुखोलामा सडक माथिबाट ढुंगा खसेपछि बाटो अवरुद्ध भएको छ। लेतेखोलामा समेत लेदोसहितको पहिरो खसेको कार्यालयले जनाएको छ।


बेनी–जोमसोम खण्ड पार गर्दै जोमसोम–कोरला खण्डतर्फ पनि वर्षाजन्य क्षतिको क्रम देखिएको छ। मार्फामा कल्भर्टमा माटो तथा ढुंगा थुप्रिएर पानीको बहाव अवरुद्ध हुँदा सडकबाट पानी बगेको छ। पाण्डाखोला, एकलेभट्टी, कागबेनी, तिरीगाउँ वारी, ग्रिन ताङ्ग्वे, ताङ्ग्वे खोल्साका विभिन्न स्थान तथा छुसाङ खोल्सामा लेदोसहितको पहिरो सडकमा खसेको छ।


घ्याकर खोलामा खोलाको बहावले सडक कटान गरेको छ भने चैलेमा भारी वर्षाका कारण सडक कटान भएको छ। समरखोला र झोखोलामा खोलाको बहावका कारण सडक कटान भएको कार्यालयले जनाएको छ। स्याङ्वोचे, घमी, चराङ, छोसेर र नेचुङ भन्सार घुम्ती क्षेत्रमा समेत सडक माथिबाट लेदोसहितको पहिरो खसेको विवरण कार्यालयले सार्वजनिक गरेको छ।


यसरी मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्डका दर्जनौँ स्थानमा एकैपटक पहिरो, बाढी र सडक कटान हुँदा उत्तरी मुस्ताङतर्फको यातायात सञ्चालनमा चुनौती थपिएको छ। विशेषगरी कालिगण्डकी नदी तथा विभिन्न खोलामा आएको उच्च बहावका कारण सडकको संरचनामै क्षति पुगेकाले कतिपय स्थानमा तत्काल यातायात सञ्चालन गर्न कठिन अवस्था देखिएको छ।


सडक योजनाले भने उपलब्ध उपकरण तथा जनशक्तिको उच्चतम उपयोग गर्दै सडक खुलाउने र यातायात सञ्चालनलाई सहज बनाउने काम भइरहेको जनाएको छ। कार्यालयले अवरुद्ध तथा जोखिमयुक्त स्थानमा आवश्यक उपकरण परिचालन गरी आवागमन सहज बनाउनेतर्फ काम भइरहेको जानकारी दिएको छ।


सडक योजनाका अनुसार सार्वजनिक गरिएको क्षतिको विवरण असोज ११ गते दिउँसो १ बजेसम्मको अवस्था हो। वर्षा जारी रहेकाले थप क्षति हुन सक्ने सम्भावना रहेकाले सडक प्रयोग गर्दा अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष