बिज्ञापन
भ्रष्टाचारमा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने बाटो खुलेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ संशोधन गर्दै पोलिग्राफ परीक्षणको सुविधा अख्तियारलाई दिएको थियो ।
बिज्ञापन
मन्त्रिपरिषद्बाट पारित संशोधित नियमावली बिहीबार राजपत्रमा प्रकाशित भएसँगै अब अख्तियारलाई भ्रष्टाचारमा शंकस्पद् व्यक्तिको पोलिग्राफ परीक्षणको बाटो खुलेको हो । संशोधित नियमावलीमा भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा कुनै व्यक्तिको पोलिग्राफ परीक्षण आवश्यक देखिएमा नियमावलीको उपनियमअनुसार फरेन्सिक इकाइ वा प्रयोगशालामा परीक्षण गर्न सकिने व्यवस्था गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाँचौँ संशोधन नियमावली २०८३मा पोलिग्राफसम्बन्धी व्यवस्था गरिएको हो । नियमावलीको नियम १२ मा खण्ड ख मा विवादास्पद सबुद प्रमाण वा व्यक्तिको परीक्षण गरिने व्यवस्था उल्लेख गरिएको छ । त्यसको उपनियम १ मा भ्रष्टाचार सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा संकलित नमुना, विवादास्पद कागज वा डिजिटल सबुद प्रमाण आयोगको फरेन्सिक इकाई वा प्रचलित कानुन बमोजिम स्थापित अन्य प्रयोगशालामा परीक्षण गर्ने भनिएको छ ।उपनियम २ मा पोलिग्राफसम्बन्धी व्यवस्था गरिएको हो ।
पोलिग्राफ परीक्षणमार्फत आयोगले अनुसन्धानका क्रममा व्यक्तिले दिएको बयानमा सत्यता भए–नभएकोबारे पत्ता लगाउने कोसिस गर्नेछ । कानुनसम्मत पोलिग्राफ परीक्षण पनि प्रमाण बन्नेछ । यसले आयोगको अनुसन्धान थप प्रभावकारी बनाउने अधिकारी बताउँछन् । आयोगले यसअघि पनि यस्तो परीक्षण गर्दै आए पनि नियमावलीमा यो विषय नहुँदा प्रमाणका लागि ग्राह्य हुने गरेको थिएन । संशोधित व्यवस्थाले अब पोलिग्राफ परीक्षणलाई अनुसन्धान प्रक्रियाको औपचारिक हिस्सा बनाउने बाटो खोलेको आयोगको बुझाइ छ । आयोगले यस्ता परीक्षणका लागि आफ्नै प्रयोगशाला स्थापना गर्ने तयारीसमेत अघि बढाएको छ । हाल प्रहरीको प्रयोगशालामा परीक्षण हुँदै आएको छ ।





























