अध्यागमन विभागले विदेशी पर्यटकहरुका लागि पासपोर्ट फ्रि ट्राभलको अवधारणा अगाडि ल्याएको छ । विभागले नेपाल घुम्न आउने पर्यटकहरुका लागि अब सँगै पासपोर्ट बोक्न नपर्ने अवधारणा अगाडि बढाएको हो । अध्यागमन सेवालाई प्रविधिमैत्री बनाउँदै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने अवधारणा अगाडि बढाएको छ ।
बिज्ञापन
अध्यागमन विभागका अनुसार,सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने क्रममा विभागले ई–भिसा जारी गर्ने अन्तिम तयारी गरेको छ । अब मोबाइल एपमै पासपोर्ट र भिसाको डिजिटल विवरण देखाए हुने गरी प्रणाली विकशित गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन सेवालाई प्रविधिमैत्री र फेसलेस बनाउँदै लैजाने रणनीतिअर्न्तगत सेवालाई सरलीकृत गर्दै लगिएको विभागका निर्देशक टिकाराम ढकालले जनाए । विभागले यस अवधारणाको अवधारणापत्र (कन्सेप्ट पेपर) स्वीकृतिका लागि तालुक निकाय गृह मन्त्रालयमा पठाइसकिएको र त्यहाँबाट स्वीकृति प्राप्त हुनासाथ यो व्यवस्था तत्काल कार्यान्वयनमा ल्याइने उनले जनाएका छन् ।
बिज्ञापन
उनका अनुसार,अब सोही एपमा आफ्नो विवरण राखेपछि पासपोर्टविनै देशभित्र विदेशी नागरिकले पनि यात्रा गर्न सक्ने छ । त्यसका लागि पर्यटकले ‘डिपार्टमेन्ट अफ इमिग्रेसन’ मोबाइल एपमा लगइन गरी आफ्नो पासपोर्टको विवरण राख्नुपर्ने हुन्छ । सोही एपमा देखाउने पासपोर्ट र भिसासम्बन्धी विवरणलाई नेपालमा सबै निकायले मान्यता दिनेछन् । यसले पर्यटकलाई पनि सहज हुने र डिजिटल ट्र्याकिङ गर्न सरकारलाई पनि सहज हुने र सुरुमा प्रवेश हुँदा अध्यागमनमा पासपोर्ट देखाएर मोबाइल एपमा लगइन गरेपछि पर्यटकले पासपोर्ट बोक्नुपर्ने छैन ।
ढकालका अनुसार,यो व्यवस्था यसअघि चर्चामा आएजस्तो भिसा फ्रि ट्राभल नभई नेपाल प्रवेश गरिसकेपछि आन्तरिक यात्रामा भौतिक राहदानी बोकिरहनु नपर्ने पासपोर्ट फ्रि ट्राभल मात्र भएको जनाएका छन् । यो व्यवस्था लागु भएपछि नेपाल प्रवेश गरेका विदेशी नागरिकले होटलमा बस्न, नयाँ सिमकार्ड लिन, विदेशी मुद्रा सटही गर्न, आन्तरिक उडानको टिकट काट्न, ट्रेकिङ जानका लागि भौतिक राहदानी साथमा बोकिरहनु पर्ने झन्झटमुक्त हुने बताइएको छ ।

























