काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेर फर्कने क्रममा सिंहदरबारको गेटबाटै पक्राउ परेका छन्।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिँदै गर्दा प्रहरीले अध्यक्ष तामाङलाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको प्रहरीले जनाएको छ।
बिज्ञापन
रोचक संयोग के छ भने, तामाङ केहीबेर अघिसम्म प्रधानमन्त्री शाहसँगै बाढी प्रभावित क्षेत्रको समस्या, तत्काल चाल्नुपर्ने कदम, राहत तथा पुनरुत्थानका विषयमा छलफलमा सहभागी थिए। प्रधानमन्त्रीले नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेका थिए।
सोही छलफलमा किस्पाङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै अध्यक्ष तामाङ सहभागी भएका थिए। छलफल सकेर सिंहदरबारबाट बाहिरिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउको कारण बाढी प्रभावित क्षेत्रसँग सम्बन्धित विषय नभई बैंकिङ कसुरको मुद्दा रहेको छ। अध्यक्ष तामाङमाथि रहेको बैंकिङ कसुरसम्बन्धी आरोप तथा पक्राउको कानुनी प्रक्रियाबारे थप विवरण भने प्रहरीले अनुसन्धान अघि बढाउँदै सार्वजनिक गर्ने जनाएको छ।



























