भदौ १० गते बिहान करिब ८ः४५ बजेको थियो। हामी रसुवा भन्सार कार्यालय, टिमुरेमा आ–आफ्नो काममा थियौँ। अचानक कार्यालयभित्र ढ्याङ-ढ्याङ, ढुङ-ढुङको ठूलो आवाज आयो। मनमा अनेक प्रश्न खेल्न थाले-भूकम्प हो वा नजिकैको घट्टेखोलातिर ठूलो पहिरो गयो कि वाढी आयो ? अर्थात ज्वालामुखी नै त होइन? के भएको हो, भगवान्?
मनले भनिरहेको थियो—‘यो कुनै न कुनै प्रलय हो, अब पक्का मरिने भयौँ।’
बिज्ञापन
त्यो ठूलो आवाज सुनेको १० सेकेन्डमै हाम्रो आधा होस उडिसकेको थियो। त्यत्तिकैमा हेलिकप्टर ल्याण्डिङ गर्न लागेको जस्तो गरी एक्कासि ठूलो हुण्डरी आयो। हावाको वेग यति तीव्र थियो कि टिनका पाता नै उडाउला जस्तो ! डर झन् बढ्यो। मुटु थरथर काँपिरहेको थियो। होस गुम्दै थियो। हामी अर्धचेतन अवस्थामा पुगिसकेका थियौँ।
हामीले त्यतिबेला देखेको त्यो हावा र जमिनको ढुङ्गढुङ आवाज वास्तवमा आउँदै गरेको विनाशको पूर्वसंकेत रहेछ। हुण्डरी आएको केही सेकेन्डमै करिब १०० मिटरको दूरीमा बाढीको डरलाग्दो कालो मुस्लो देखापर्यो। जमिनभन्दा करिब ५० मिटर माथिसम्म उठेको जस्तो देखिने त्यो पानीको छाल हामीतर्फको पाखामा ठोक्कियो। त्यसपछि पल्लोपट्टिको भित्तामा बज्रियो र फेरि हामीतिरै फर्किएर आउन थाल्यो।
बिज्ञापन
त्यो दृश्य सम्झिँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ। हामीसँग सोच्ने समय थिएन। निर्णय गर्ने समय थिएन। जीवन बचाउने समय केवल केही सेकेन्ड थियो। हामीतिरको पाखाबाट पल्लोपट्टिको पाखामा ठोक्किँदै आएको बाढी करिब १० सेकेन्डमै टिमुरे बजारभित्र पस्यो। जो मानिस केही सेकेन्डमा पाखातिर भाग्न सके, उनीहरू बाँच्न सफल भए। जो तेर्सोतिर भागे, जो भूकम्प आयो भनेर खुला ठाउँतिर दौडे, जो पाखातिर भाग्दा माथिबाट पहिरो आउला भनेर डराए, जो ‘भोटेकोशी यति माथि आउँदैन’ भन्ने अनुमानमा बसे-उनीहरूसँग समयले साथ दिएन। कसैलाई वास्तविक खतरा के हो भनेर बुझ्ने अवसर नै मिलेन।
सबैभन्दा ठूलो समस्या यही थियो-पानीको उग्र रूप देख्नुअघि नै निर्णय गर्नुपर्ने अवस्था। भान्सामा, बाथरुम,पसल, ओछ्यान,भन्सार यार्डमा रहेका मानिसहरूलाई भाग्ने समय नै मिलेन। बालबालिका र वृद्धवृद्धा बगे। पाखा नजिक नभएका, परिस्थितिको तत्काल अनुमान गर्न नसकेका र अनुमान गरे पनि १० सेकेन्डभित्र सुरक्षित स्थानमा पुग्न नसक्नेहरू बाढीको भेलमा परे।
बिज्ञापन
म आफैँ अहिले सोच्दा अचम्म लाग्छ-म कसरी बाँचें? मेरो दिमाग अर्धचेत थियो। मुटु आत्तिएर भटभट गरिरहेको थियो। मैले ‘यतै भागेँ भने बाँचिन्छ’ भनेर कुनै वैज्ञानिक वा तार्किक निर्णय गरेको थिइनँ। हाम्रा कार्यालय प्रमुख र केही कर्मचारी साथीहरू माथितिर भाग्नुभयो। म पनि उहाँहरूको पछि लागेँ। सायद त्यही निर्णयले मेरो जीवन बचायो।
उहाँहरूलाई माथितिर भागेको नदेखेको भए म खुला ठाउँतिर जाने सोचमा थिएँ। त्यो निर्णय गरेको भए आज म यहाँ आफ्नो अनुभव सुनाइरहेको हुने थिइनँ होला।
हामी भाग्दाभाग्दै आत्तिएर कार्यालय प्रमुख र म एउटा घरभित्र पुगेछौँ। किन घरभित्र पस्यौँ, हामीलाई नै थाहा थिएन। बाहिर निस्केर फेरि घरको पछाडिको पाखामा पुग्ने समय हामीसँग थिएन। त्यस्तो भएको भए भोटेकोशीले हामीलाई बगाइसकेको हुन्थ्यो। तर भाग्यले अर्को बाटो देखायो। घरभित्रैबाट पछाडितिर निस्कने अर्को ढोका देखियो। केही क्षणअघि मात्र त्यो घरका मानिस त्यही ढोकाबाट भागिसकेका रहेछन्। हामी पनि त्यही ढोकाबाट बाहिर निस्कियौँ र पाखातिर दौडियौँ। पाखामा करिब १० फिट जति उचाइ चढिसकेपछि तल फर्केर हेरेँ।टिमुरे बजार थिएन।
बाढीले बजार बगाइसकेको थियो । घर, बिजुलीका पोलहरू ढलिरहेका थिए। हामी भाग्दा केही क्षणका लागि पसेको त्यो घरसमेत बाढीले बगाइसकेको थियो। इभी गाडी, एम्बुलेन्स, कन्टेनर र विभिन्न सामानहरू पानीको तीव्र वेगमा बगिरहेका थिए। त्यो दृश्य हेर्दा मेरो शरीर काँपिरहेको थियो। बाढी अझ माथि आउँछ कि भन्ने त्रासले हामी घाँस, झाडी समाउँदै अझ माथि चढ्दै गयौँ। बाढीसँगै उडेर आएको ओसिलो बालुवा, धुलो र फोहोरले सास फेर्नसमेत गाह्रो भइरहेको थियो। सबैको छाती दुखिरहेको थियो। करिब तीन किलोमिटर माथि पुगेपछि एउटा सानो बारीको पाटोमा पुगेर हामी थचक्क बस्यौँ।
त्यसपछि केही समयसम्म हामीसँग बोल्ने शब्द थिएनन्। करिब एक घण्टापछि भोटेकोशीबाट उडेको धुलो केही कम भयो। तल हेर्दा देखिएको दृश्यले झन् स्तब्ध बनायो।
टिमुरे बजार, जुन भोटेकोशीभन्दा करिब डेढ सय मिटर उचाइमा थियो, बगरमा परिणत भइसकेको थियो। म टिमुरे गेस्टहाउसको पाँचौँ तलामा बस्थेँ। मेरो कोठा, मेरो बसाइँ र रसुवा भन्सार कार्यालय-सबै बगरमा परिणत भएको देखेँ। त्यो क्षण सपना हो कि विपना, छुट्याउन सकिनँ।
केही मिनेटको प्राकृतिक प्रकोपले यति ठूलो विनाश गर्न सक्छ भन्ने कल्पनासमेत गरेको थिइनँ। करिब आधा घण्टामै दुईवटा हेलिकप्टर आए। माथिबाट हामीले ती हेलिकप्टर रसुवागढीसम्म घुमेर घाइतेको खोजी गरिरहेको देख्यौँ। करिब एक घण्टापछि हामीले आफूहरूमध्ये को-को भागेर बाँच्न सफल भयौँ भनेर खोज्न थाल्यौँ। पाखाभरि साथीहरूलाई बोलायौँ। फोन गर्यौं ।। एक-अर्कालाई खोज्यौँ। अन्ततः बाँच्न सफल साथीहरूलाई एकै ठाउँमा जम्मा गर्यौं ।
रसुवा भन्सारका दुईजना नायब सुब्बासहित घाइतेहरूलाई हेलिकप्टरबाट त्रिशूलीतर्फ लगियो। अन्य घाइतेलाई पनि उद्धार गरियो। करिब २ बजेतिर हामी बसेको ठाउँमा हेलिकप्टर आयो। ७/८ कार्टुन चाउचाउ, बिस्कुट, पानी, मोबाइल चार्ज गर्ने पावर बैंक र तीनवटा टेन्ट झारेर गयो। मैले टेलिभिजनमा बाढीपीडितलाई राहत वितरण गर्दा खानेकुरा लिन मानिसहरू दौडिएको, खोसाखोस गरेको देखेको थिएँ। तर टिमुरेको दृश्य फरक थियो।
यहाँका मानिसहरू राहतको चाउचाउ र बिस्कुटभन्दा पहिले आफ्ना हराएका मान्छे खोजिरहेका थिए। १५ सेकेन्डको भागदौडमा कसैले आफ्ना बच्चा गुमाएका थिए। कसैले बुढाबुढी आमाबुबा गुमाएका थिए। कसैले श्रीमान् गुमाएका थिए। कसैले श्रीमती। कसैले घरबार। छाती पिटीपिटी रोइरहेका ती मानिसहरूको अगाडि राहतका सामग्रीको कुनै अर्थ थिएन। हामीले उनीहरूलाई चाउचाउ, बिस्कुट र पानी दियौँ। खान आग्रह गर्यौं । तर उनीहरूको आँखामा खाना थिएन-आफ्ना मानिस खोज्ने व्याकुलता थियो।
पछि घाइते तथा प्रभावित स्थानीयलाई हेलिकप्टरबाट त्रिशूलीतर्फ पठाइयो।
हामी पनि करिब ४ बजे हेलिकप्टरबाट त्रिशूलीस्थित आर्मी ब्यारेक पुग्यौँ। स्वास्थ्य परीक्षण भयो। स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पाएपछि हामी काठमाडौँतर्फ लाग्यौँ। बाटोमा कान्तिपुर टेलिभिजनका रिपोर्टरहरूसँग भेट भयो। उहाँहरूले हामीलाई पुनर्जीवन प्राप्त गरेकोमा बधाई दिनुभयो र टिमुरेको भयावह अवस्थाबारे जानकारी लिनुभयो। त्यसपछि हामी सोझै भन्सार विभाग पुग्यौँ। त्यहाँ अर्थमन्त्रीज्यू, अर्थसचिवज्यू र महानिर्देशकज्यू हामीलाई कुरेर बस्नुभएको रहेछ। हामीले आफ्ना अभिभावकको अभिभावकत्व पायौँ। तर त्यही क्षण मन झन् भारी भयो। किनकि हामी १६ जना बाँचेर अभिभावकसामु आइपुगेका थियौँ, तर हाम्रा १५ जना सहकर्मी कहाँ छन् भन्ने कुनै जवाफ हामीसँग थिएन। हामीले उनीहरूलाई टिमुरेमै छाडेर आएका थियौँ। उनीहरू चार दिनअघिसम्म हामीसँगै काम गरेका साथी थिए। सँगै बसेका थिए। सँगै हाँसेका थिए। सँगै भविष्यका कुरा गरेका थिए। तर केही सेकेन्डले सबै कुरा बदलिदियो। राति करिब ९ बजे भन्सार विभागमा हामीले टिमुरेको वास्तविक अवस्था सुनायौँ। त्यसपछि आफ्ना व्याकुल परिवारजनकहाँ पुग्यौँ। त्यसपछि हाम्रो अर्को यात्रा सुरु भयो। हराएका १५ जना साथीको खोजी।
भोलिपल्ट र पर्सिपल्ट दिनभर खोजी गर्यौँ। सम्पर्कविहीन सहकर्मीका परिवारजनसँग भेट्यौँ। सम्भावित सुखद् वा अप्रिय अवस्थाबारे छलफल गर्यौं । परिवारका सदस्यहरूका आँखामा एउटै प्रश्न हुन्थ्यो-‘हाम्रो मान्छे कहाँ छ?’ हामीसँग जवाफ थिएन। तर आशा थियो। त्यसैले हामीले टोली बनायौँ। कोही चितवनतिर लागे, कोही नवलपरासी, कपिलवस्तु, नुवाकोट, रसुवा, पोखरा र गोर्खातिर। म अहिले तीन दिनदेखि चितवन-पूर्वी नवलपुर क्षेत्रमा छु।
चार दिनअघि मात्र सँगै काम गरेका ती साथीहरूलाई खोज्दै छु। उनीहरूको बोली सम्झँदै छु। उनीहरूको व्यवहार सम्झँदै छु। उनीहरूको हाँसो सम्झँदै छु।
अनि मनमा एउटै प्रश्न उठ्छ- म १०/१५ सेकेन्डले बाँचेँ। उनीहरू त्यही १०/१५ सेकेन्डले किन हराए? जीवन र मृत्युबीचको दूरी यति छोटो हुन्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ। त्यो दिन हामीले जीवनको सबैभन्दा कठोर सत्य देख्यौँ-प्राकृतिक विपत्तिले मानिसलाई चेतावनी दिने समय मिनेटमा होइन, कहिलेकाहीँ सेकेन्डमा दिन्छ।
त्यो १०/१५ सेकेन्डमा सही दिशा रोज्न सक्नेहरू बाँचे। सही दिशा रोज्ने अवसर नपाउनेहरू बगे।
टिमुरेबाट रसुवागढीसम्मको करिब तीन किलोमिटर क्षेत्रमा त्यस दिन मानिसहरूको ठूलो भीड थियो। व्यापारी, मानसरोवर जाने तीर्थयात्री, होटल व्यवसायी, अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सारका कर्मचारी, रसुवागढी जलविद्युत् आयोजना र सडक निर्माणमा खटिएका कामदार-सबैको चहलपहल हुने क्षेत्र थियो। नेपाली समयअनुसार बिहान ८ बज्दा चीनतर्फ १० बजिसकेको हुन्छ। चिनियाँ कार्यालयहरू खुलिसकेका हुन्छन्। त्यसैले रसुवागढी र टिमुरेबीचको तीन किलोमिटर क्षेत्रमा गाडी र मानिसको ठूलो भीड हुने गर्छ। तर त्यो तीन किलोमिटरको भूगोल आफैँमा जोखिमपूर्ण थियो। एकातिर सडकभन्दा माथि ठाडो चट्टानी पहाड, अर्कोतिर तल भोटेकोशी। विपत्ति आयो भने भाग्ने ठाउँ नै थिएन। त्यसैले केही सेकेन्डमा कुन दिशा सुरक्षित हो भनेर निर्णय गर्न नसक्नुको मूल्य धेरैले जीवन दिएर चुकाउनुप¥यो।
आज म आफैँलाई भाग्यमानी ठान्छु कि मैले जीवन पाएँ। तर यो जीवन पाएको खुसीभन्दा ठूलो पीडा मेरा १५ जना सहकर्मी साथीहरू हराएको छ।
त्यसैले अहिले मेरो मनमा एउटा मात्रै उद्देश्य छ- १५ सेकेन्डले बाँचेको म, १५ सेकेन्डले हराएका मेरा साथीहरू खोज्नेछु। चितवन र पूर्वी नवलपुरका नदीकिनार, अस्पताल, प्रहरी कार्यालय, स्थानीय तह र सम्भावित सबै स्थानमा पुग्दैछु। हरेक फोन आउँदा मन झस्किन्छ। कतै साथी भेटिएको खबर पो हो कि? कतै कुनै अस्पतालमा उनीहरू सकुशल पो छन् कि? कतै नदीकिनारमा भेटिएका मानिसमध्ये हाम्रा साथी पो छन् कि? मेरो मनले अझै पनि सुखद् खबरको प्रतीक्षा गरिरहेको छ। म चाहन्छु-हामीले खोजिरहेका ती १५ जना साथीमध्ये प्रत्येकलाई सकुशल भेटौँ। उनीहरूलाई उनीहरूका परिवारको जिम्मा लगाउन सकौँ। यदि त्यो दिन आयो भने, त्यो मेरो जीवनको सबैभन्दा ठूलो खुसी हुनेछ। सायद त्यो नै मेरो जीवनको सर्वाधिक सुनौलो अवसर हुनेछ- आफूले १५ सेकेन्डले पाएको पुनर्जीवनको अर्थ, १५ सेकेन्डले हराएका आफ्ना साथीहरूको खोजीमा लगाएर पूरा गर्ने अवसर। भदौ १० गते टिमुरेमा हामीले मृत्यु आफ्नै आँखाअगाडि देख्यौँ। तर त्यही दिन जीवनको मूल्य पनि बुझ्यौँ। आज पनि त्यही सम्झनाले मुटु काँप्छ।
टिमुरेको त्यो कालो मुस्लो, ढ्याङ-ढ्याङ गरेको आवाज, हुण्डरी, भागदौड, बगिरहेका घर र गाडी, पाखामा पुगेर तल हेर्दा देखिएको उजाड टिमुरे-सबै दृश्य आँखाअगाडि घुमिरहन्छ। र ती सबै दृश्यभन्दा माथि १५ जना साथीको अनुहार आउँछ। हामी १६ जनाले पुनर्जीवन पायौँ। तर हाम्रो पुनर्जीवन तब मात्र पूर्ण हुनेछ, जब ती १५ जना साथीहरूको अवस्था पत्ता लगाउनेछौँ। त्यही आशा बोकेर म अहिले पनि चितवन-पूर्वी नवलपुरमा छु। १५ सेकेन्डले बाँचेको जीवन लिएर, १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा।
हाल भरतपुरबाट






























