झोलाभन्दा गुन्टाका फुर्फुर धेरै– यस्तै देखिन्छ सिंहदरबारतिर । गुन्टा हावी हुँदा उच्च प्रशासकहरू मर्नु न मोटाउनुको स्थितिमा छन् । पछिल्लो समय मन्त्रीभन्दा सचिवालयका सदस्यहरूबाट आजित हुन थालेको गुनासो पोखेका छन्, अधिकांश प्रशासकले । न कानुनी जानकारी छ, न त यो निर्णय गर्दा भोलि के असर पर्छ भन्ने दूरदृष्टि नै केही सल्लाह दिन खोज्यो कि निर्देशनअनुसार काम गर्नू भनेर हप्कीदप्की खेप्ने गरेको गुनासो पोख्छन्,कर्मचारीहरु ।
बिज्ञापन
चैत्र १३ गतेबाट बालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा पुगेको अढाइ महिना दिन पुगेको छ । मन्त्रीले सचिवहरूसँग दोहोरो संवाद नगर्ने, निर्णय प्रक्रियामा निजी सचिवालय हावी हुने र प्रशासनिक नेतृत्व क्रमशः कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएको छ । पछिल्लो समय तीन जना सहसचिव, दर्जनौ उपसचिव र शाखा अधिकृतले राजीनामा दिएका छन् । यस्तै २ वर्षदेखि सिंहदरबार नछाड्ने १९ सय बढी र काठमाडौं उपत्यका नछाड्ने ३५ हजार कर्मचारीको विस्तृत सूची तयार पारिएसँगै कतिपयले लामो समय घर बिदा स्वीकृत गराएर बस्न थालेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पाँच वर्षदेखि कार्यरत एक सहसचिवले तीन महिना लामो घर विदा लिएकी छन् ।
उता खानेपानी मन्त्रालयका ड्रिम प्रोजेक्ट मेलम्ची मात्र नभई खानेपानीसम्बद्ध सबै निकायहरू लथालिङ्ग बनेका छन् । एकातिर कर्मचारीहरूले धमाधम राजीनामा दिइरहेका छन् । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठले राजीनामा दिएका छन् । उनलाई मन्त्रालयको योजना महाशाखा प्रमुखबाट सरुवा गरेर मेलम्ची पुर्याइएको थियो । अनावश्यक दबाब थेग्न नसकेपछि उनले राजीनामा दिएका हुन् । इञ्जिनियर श्रेष्ठले पाँच वर्षभन्दा लामो समय सहसचिवको जिम्मेवारी सम्हालेका थिए । यसबीच राजीनामा दिने अर्का सहसचिव हुन्, उज्वल प्रजापति । इञ्जिनियरिङ सेवाअन्तर्गतका उनी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख थिए । श्रेष्ठजस्तै वरिष्ठ सहसचिव उनले जेठमा राजीनामा बुझाएका हुन् । यता, मन्त्रालयले केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक पौडेललाई जबरजस्ती राजीनामा दिन लगाएको छ । हाल केयुकेएलको सिईओ पद रिक्त छ । प्रकाशकुमार राईलाई निमित्त तोकिएको छ ।
यस्तै,शिक्षा मन्त्रालयका दर्जनौ उपसचिवहरुको सामुहिक राजीनामाको तयारीमा रहेको खबर बाहिरिएको समयमा नयाँ सरकर बने यतामा उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुले राजीनामा दिएकामध्ये अधिकांशको राजीनामा स्वीकृत भइसकेको छ । यस्तै शाखा अधिकृत विणा श्रेष्ठ, शाखा अधिकृत शेखरनिधि पौडेल, शाखा अधिकृत दिलसेर राई, शाखा अधिकृत मार्किस दोरंगाले पनि राजीनामा दिएका छन्। यस अघि नै स्थानीय तहमा खटाइएसँगै शाखा अधिकृतद्धय गणेश घिमिरे, हरि पौडेललगायतले राजीनामा दिएका थिए ।





























