कर्णाली प्रदेशका स्थानीय सरकारमा १ हजार ३६३ वटा कर्मचारी दरबन्दी रिक्त रहेको पाइएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो प्रदेशको स्वीकृत दरबन्दी ५ हजार ६६० रहेकोमा १ हजार ३६३ पद रिक्त रहेको जनाइएको छ । सो प्रदेशको कुल स्थायी दरबन्दीको एक चौथाइ रिक्त रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बिज्ञापन
रिक्तको विवरण हेर्दा प्रशासनतर्फ ४७७ पद रिक्त रहेको छ भने इन्जिनियरिङ सेवामा ४२१ पद पदपूर्ति हुन सकेको छैन । यता,कृषि सेवामा २३७ दरबन्दी रिक्त रहँदा स्वास्थ्य सेवामा १५० भन्दा बढी दरबन्दी रिक्त छ । यस्तै,विविध सेवातर्फ २५ पद रिक्त रहेको जनाइएको छ । यस्तै शिक्षा सेवातर्फ ५१ पद रिक्त रहेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
जहाँ प्रशासन सेवामा १ हजार ५४१ दरबन्दीमध्ये १ हजार ६४ पदमा कर्मचारी पदपूर्ति भएको जनाइएको छ । यस्तै स्वास्थ्य सेवातर्फ १ हजार ८८४ दरबन्दीमध्ये १ हजार ७३२, शिक्षा सेवातर्फ १८३ दरबन्दीमध्ये १३२, इन्जिनियरिङ सेवामा १ हजार ५५ दरबन्दीमध्ये ६३४ मात्र पदपूर्ति भएको प्रदेशले जनाएको छ । कृषि सेवामा ८१४ दरबन्दीमध्ये ५७७ पद पूर्ति हुँदा विविध सेवातर्फका १८३ दरबन्दीमध्ये १५८ पदमा कर्मचारी कार्यरत रहेको जनाइएको छ ।
वैशाख २३ गते बसेको कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठकले सङ्घ सरकारले स्थानीय तहका लागि स्वीकृत गरी पठाएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण बमोजिम दरबन्दी अनुसार स्थानीय तहमा रिक्त रहेका पदका लागि दरबन्दीमा पदपूर्तिका विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोही अनुसार, आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र लेख्दै विवरण पठाउन माग गरेको हो ।



































