सरकारले ‘शून्य फाइल’ अभियान चलाइरहँदा केही फाइलहरु गृह मन्त्रालयकै घर्रामा थन्काएर राखिएको र अगाडि नबढाइएको बिषयले चर्चा पाउन थालेको छ । सरकारले सरकारी कामकाजमा वर्षौँसम्म थन्किने फाइलहरूको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले केही समयअघि ‘शून्य बाँकी फाइल’ अभियान सुरु गरेको थियो।
बिज्ञापन
यस अभियानअन्तर्गत सबै मन्त्रालय, विभाग र कार्यालयमा लामो समयदेखि थन्किएका फाइलहरूको अवस्था परीक्षण गर्दै ती फाइलहरू तत्काल टुंग्याउन निर्देशन दिइएको थियो। तर अभियान सुरु भएको केही समयमै केही सचिवहरूले नै नियतवश फाइल लुकाएको वा रोकेको बिषय बाहिरिएको छ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि अहिले मन्त्रालय प्रधानमन्त्री शाह आफैँले चलाइरहेका छन् । तर, गृह मन्त्रालय,सम्बन्धित शाखाहरुबाट एउटा बढुवाको फाइल महिनौंदेखि घर्रामा थन्काएर राखेको बिषयले सशस्त्र प्रहरी हेर्डक्वार्टर असन्तृष्ट बन्न पुगेको छ । गृहका सचिव, सशस्त्र प्रहरीतर्फको बढुवा हेर्ने महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुली, उपसचिवको जिम्मेवारीमा गणेश गैह्रेको जिम्मेवारी र कार्यसम्पादनमाथि गम्भीर प्रश्न खडा भएको छ ।
विशेषगरी प्रहरीको बढुवासँग सम्बन्धित फाइल गृह प्रशासनबाट ‘गायब’ बनाइएको चर्चा अहिले प्रहरी प्रशासनतिर चल्न थालेको छ । मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित एक प्रहरी अधिकारीका अनुसार प्रहरीसँग सम्बन्धित कतिपय फाइलहरू सचिवस्तरमै रोकिने गरेको पाइएको छ। ती फाइलहरू नियमित प्रशासनिक प्रक्रिया अनुसार अघि बढ्नुपर्ने भए पनि विभिन्न कारण देखाएर रोकिएको दाबी गरिएको छ। गृह प्रशासनले सशस्त्र प्रहरीको बढुवाको फाइलै अगाडि नबढाएको बिषयले सशस्त्र प्रहरी रुष्ट हुन पुगेको छ । अबको साता दिन पछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् । आइजीपी अर्यालले तत्कालीन गृहमन्त्री सुधन गुरुङ र गृह सचिव राजकुमार श्रेष्ठसँग पटकपटक बढुवा प्रक्रिया खुलाइदिन अनुरोध गरेका भए पनि गृह प्रशासनले वेवस्था गरेकोप्रति सशस्त्र प्रहरी असन्तृष्ट हुन पुगेको हो ।
सशस्त्र प्रहरीमा करिब ७ डीआईजी, ९ एसएसपी, २० एसपी, २० डीएसपी, ४० इन्स्पेक्टर रिक्त छ । सईका लागि ५५ भन्दा बढी असई बढुवाको प्रतीक्षामा छन् । सशस्त्र प्रहरीका अनुसार,तल्ला तहका समेत जोड्दा झण्डै दुई सय भन्दा बढीको बढुवा महिनौँदेखि सचिवको घर्रामा रोकिएर बसेको छ । सचिव श्रेष्ठले बढुवाको फाइल अगाडि नबढाएका कारण सशस्त्र प्रहरी गृह प्रशासनको कार्यसम्पादनसँग असन्तृष्ट रहेको छ । सशस्त्र प्रहरीमा रिक्त सात डीआईजी बढुवा रोकिँदा त्यसभन्दा तल्लो दर्जाका सम्पूर्ण बढुवा जाम भएका छन् । यसबाट पाँच सयभन्दा बढी सशस्त्र प्रहरी जनशक्ति प्रभावित छ ।
बिज्ञापन
गृहसचिव श्रेष्ठको दोहोरो चरित्रका कारण सशस्त्रमा ठूलो संख्याका कर्मचारीको बढुवा जाम हुन पुगेको छ । वृत्तिविकास रोकिएको छ ।तर गृह सचिव श्रेष्ठले ‘कसैको बृत्तिविकास रोक्ने आफ्नो चाहना नरहेको बताएका छन् । उनले सशस्त्रको बढुवा प्रक्रिया छिट्टै बढ्ने’ जनाए ।






























