मुलुकमा बेरोजगारीको चित्र कतिसम्म विरहलाग्दो छ भने प्लस टु मात्र होइन स्नातक अर्थात स्नातकोत्तर गरेका जनशक्ति समेत रोजगारी नपाएर छटपटीमा छन् ।
यही दृश्य देखिएको छ निर्वाचन प्रहरी भर्ना हुँदा । सरकारले गत २४ पुसमा निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको थियो । निर्वाचन प्रहरी हुनका लागि साधरण लेखपढ गरेका भए पुग्ने भए पनि एसएलसी,प्लस टु,व्याचलरदेखि स्नातकोत्तर गरेका जनशक्तिले समेत आवेदन दिए । त्यही अनुसार छनौंट समेत भएका छन् ।
बिज्ञापन
१८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेका, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारिरीक र मानसकि रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, पुरुषको हकमा कम्तीमा ५ फिट उचाई, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाई, ४२ केजी तौल र गर्भवती रहेको हुनुपर्ने योग्यता छुट्टाइएको भए पनि काठमाडौंमा मात्र स्नातकोत्तर गरेका ६ जना निर्वाचन प्रहरीमा भर्ना भएको प्रहरीले जनाएको छ । सरकारले फागुन २१ मा हुने ने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरीका लागि देशभरबाट एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट गर्दा काठमाडौं उपत्यकाबाट सात हजार ६३ जनाले आवेदन दिएकामा तीन हजार ८ सय ८५ जना तालिमका लागि छनोट भएका छन् । यसरी छनौट भएकामध्ये काठमाडौंमा मात्र ६ जना डिग्री होल्डर रहेका प्रहरीले जनाएको छ । यस्तै स्नातक तह पार गरेका ३५ जना र प्लस टु गरेका ९ सय ६९ जना रहेको प्रहरीले जनाएको छ ।
बिगतमा झै यस पटक पनि सरकारले १० दिन तालीम र ३० दिन फिल्डमा खटिने कार्यअवधि तोकेर निर्वाचन प्रहरी जनशक्ति व्यवस्थापन गदैछ । जसअनुसार जवान सरहको आधारभूत तलवमान अनुसार हुन आउने रकमअनुसार एकजना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलव, जिल्ला दररेट निर्धारण समितिले तोके अनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउमा जान र फर्किनलाई एक पटकका लागि प्रति व्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एक मुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोशाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलव्ध हुनेछ ।


























