लुम्बिनी प्रदेश लोक सेवा आयोगले स्थानीय निजामती सेवा अन्तर्गत अधिकृत सातौँ तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलाएको छ ।
बिज्ञापन
आयोगले अप्राविधिकतर्फ शाखा अधिकृत,प्रशासकीय अधिकृत,लेखा अधिकृत,आन्तरिक लेखा परीक्षण अधिकृत र कानुन अधिकृत पदमा ५४ जना कर्मचारी माग गरेको छ । यी पदहरुमा अन्तर तह,खुला,विपन्न (खस आर्य),मुस्लिम (महिला),थारु,दलित,मधेसी कोटामा यी विज्ञापनहरु खुला गरिएको हो ।
यस्तै आयोगले प्राविधिकतर्फ जनस्वास्थ्य अधिकृत,मेडिकल ल्याब टेक्नोलोजिष्ट,नर्सिङ अधिकृत,इन्जिनियर,हाइड्रोलोजिष्ट,पशु चिकित्सक,पशु,कृषि,मस्त्य विकास अधिकृत,कृषि प्रसार अधिकृत,वन अधिकृत र शिक्षा अधिकृतको विज्ञापन खुलाएको छ । आयोगले विभिन्न पदमा गरी १३३ जनशक्ति माग गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि प्राविधिक तथा अप्राविधिक अधिकृत सातौँ तहको विज्ञापन खुला गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ ८ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

























