नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। निगमले सोमबार साँझ जारी गरेको सूचनामार्फत पेट्रोलको मूल्य घटाएको र डिजल तथा मट्टितेलको मूल्य बढाएको जानकारी दिएको हो।
बिज्ञापन
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम हुनेछ। तर, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। संशोधित दरअनुसार अब यी दुबैको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। नयाँ दर सोमबार राति १२ बजेदेखि लागू भएको छ।
बिज्ञापन
यससँगै हवाई इन्धनको मूल्यमा पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। अब यसको मूल्य १२८ रुपैयाँ प्रतिलिटर हुनेछ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्य अमेरिकी डलर २१ ले बढाएर प्रति किलो लिटर १ हजार ७७ डलर कायम गरिएको छ।
निगमले मूल्य समायोजनको आधारबारे जानकारी दिँदै भनेको छ, “नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। पेट्रोलमा अझै प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा रहेको देखिन्छ। तर डिजल र मट्टितेलमा भने थोरै नाफा देखिएको छ।” मूल्य निर्धारण गर्दा औसत खरिद दर, भन्सार महसुल, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजार मूल्यलाई मुख्य आधार बनाइएको निगमको भनाइ छ।
बिज्ञापन
यसपटक एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। एक सिलिन्डर ग्यासको मूल्य १८०० रुपैयाँमै स्थिर छ।
पेट्रोलको मूल्य घटेसँगै सवारी साधन प्रयोगकर्ताले केही राहत पाउने विश्वास गरिएको छ। तर, डिजल र मट्टितेल महँगिदा यातायात भाडा तथा उपभोग्य वस्तुको मूल्यमा असर पर्न सक्ने चिन्ता उपभोक्ताहरूले व्यक्त गरेका छन्।
नयाँ मूल्य दर अनुसार देशभरका सबै डिपो तथा बिक्री केन्द्रहरूबाट इन्धन वितरण सुरु भइसकेको निगमले जनाएको छ।