नेपाली सेनामा कल्याणकारी कोषको रकम आउने प्रमुख स्रोत शान्तिसेनाबाट प्राप्त रकम हो । यो रकम जम्मा गर्ने क्रममा हालसम्म विदेशी भूमिमा हजारौँ जना घाइते भएका छन् । ७३ जनाले ज्यान गुमाएका छन् भने ६९ जना अशक्त छन् । कल्याणकारी कोषको रकम खर्च हुने प्रत्येक चेकमा प्रधानसेनापतिको दस्तखत हुन्छ । २०७२ साउन २३ बाट २०७५ साउन २३ गतेसम्म प्रधानसेनापति बनेका राजेन्द्र क्षत्रीको कार्यकालमा सबैभन्दा बढी कल्याणकारी कोषको रकम भ्रष्टाचार भएको छ ।
आर्मी लेखिएको ट्र्याकसुट रु. ६०० को दरले चाइनास्थित छङ्तु क्लोदिङ कम्पनीबाट आफ्नो छोरा अभिषेक खत्रीलाई व्यापारी बनाई एक लाख थान ल्याएर सबै सैनिकलाई रु. २२०० का दरले अनिवार्य किन्न लगाइयो । १६ करोडभन्दा बढी रकम चोखै फाइदा भयो । यो ट्र्याकसुट खरिद गर्न जर्नेल रोशन खड्काले राजेन्द्र क्षत्रीलाई कल्याणकारीको रकम उपलब्ध गराएबापत जनसेवाश्री दोस्रो पदक पुरस्कार दिए र महासेनानीमा पदोन्नती पनि भए । नत्र उनी कर्णेलमै घर जान्थे । यिनै रोशनले कल्याणकारीमा हुँदा २०७४ मंसिरमा सञ्जोग समशेर जवराको धोबीघाटस्थित १ रोपनी १५ आना घरजग्गा खरिद गर्दा मध्यस्थताको भूमिका खेले भने २० करोड रकम कल्याणकारीबाट नगद लिएर सञ्जोगलाई बुझाई आभूषणको नाममा पास गरेका थिए ।
तीन पटक स्टाफ कलेज फेल CHARLIE जर्नेल शिशिरचन्द्र केसीले कीर्तिपुर नगरपालिकामा आनाको २ लाख पनि नपर्ने बाटोघाटो केही नभएको जग्गा राजेन्द्र क्षत्रीको छोरालाई जग्गा दलाल बनाई १६ लाख आनाको दरले ५१ रोपनी खरिद गराए र आफूले ९ रोपनी जग्गा कमिसन लिए ।
यसरी अर्बाैं रकम खर्च गरी किनिएको जग्गाको हालसम्म कुनै प्रयोग भएको छैन । राजेन्द्र क्षत्रीले यसबापत शिशिरलाई एकदिने जर्नेलसमेत बनाइदिए । यसरी प्राप्त रकमबाट राजेन्द्रले श्रीमती रीता क्षत्री, बुहारी विदिशा क्षत्रीको नाममा हेटौँडा नगरपालिका वडा नं ४ र ११ मा २५ करोडको घर–जग्गा, सम्पत्ति जोडे । त्यस्तै गरी काठमाडौँको हात्तीसारमा ११ करोड र विशालनगरमा पाँचखाल काण्ड लागेर जागिर खुस्केका जर्नेल प्रयोग राणासँग १८ करोडको घरजग्गा खरिद गरे । यी सबै घरजग्गा र सम्पत्तिको रेखदेख गर्न सेनाबाट १५ जनाभन्दा बढी खटिएका छन् ।
अब त झन् पूर्वचिफ राजेन्द्र क्षत्रीको भाञ्जा नै प्रधानसेनापति अशोकराज सिग्देलको सम्धी भएपछि कारण के चाहियो र ! यही मौकामा उनले आफ्नो जगदल गणका प्रकाशराज थापालाई कल्याणकारीको निर्देशक बनाएका छन् । प्रकाशराज लेबनान मिसन कमाण्डरबाट कोर्टमार्सल भई फर्केका साथै इटहरीका पृतनापति अनन्त कार्कीबाट समेत कारबाहीमा परेका हुन् ।
कल्याणकारी कोषको भ्रष्टाचारउपर जबसम्म स्वतन्त्र निकायबाट छानबिन हुँदैन तबसम्म वास्तविक भ्रष्टाचारीले उन्मुक्ति पाइरहन्छ र रकम दुरूपयोग भइरहन्छ । भूतपूर्व सैनिक संघहरूले के हेरेका छन् ? एमालेको सैनिक संगठनमा जर्नेल विनोद पाण्डे र मदन केसी, नेपाली कांग्रेसमा जर्नेल झंकर कडायत, माओवादीमा जर्नेल कुमार फुदुङ, राप्रपामा पनि त्यस्तै दर्जका ५० जनाभन्दा बढी छन् । रास्वपातिर दिपक बाँस्तोला लागेका छन् यिनले आफ्नो पार्टीलाई भनेर कल्याणकारीको घोटालाबारे छानविन गराउनु पर्दैन ? जन आस्था साप्ताहिक