शिक्षा तथा खेलकुद मन्त्रालयले सरकारी अनुदान दुरुपयोग भएको आशंकामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । सामुदायिक विद्यालयका करिब दुई लाख विद्यार्थीको विवरणमा गडबडी देखिएपछि सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ।
बिज्ञापन
मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् । यस्तै विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) मा वास्तविक विद्यार्थी सङ्ख्याभन्दा फरक तथा दोहोरो विवरण प्रविष्ट भएको पाइएपछि मन्त्रालयले पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको हो।
मन्त्रालयका अनुसार,अनौपचारिक अध्ययनमा इ एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन्। यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोसाक, पाठ्यपुस्तक तथा अन्य सेवा सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको हो ।
समितिले इ एमआईएस प्रणालीमा यति ठुलो सङ्ख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बदमासीबारे विस्तृत अध्ययन गर्नेछ। गलत तथ्याङ्क पेस गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ। समितिलाई १५ दिनको समय दिइएको छ ।





























