आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’ अन्तिम समयमा रोकिएको छ । धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा आएसँगै सो चलचित्रको प्रर्दशन रोकिने भएको हो । बुधबार बिहान मात्रै सरकारी मातहतको सेन्सर बोर्डले कुनै पनि दृश्य नकाटी फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ प्रमाणपत्र दिएको थियो।
केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनका लागि ‘युनिभर्सल सर्टिफिकेट’ पाइसकेको फिल्मलाई सूचना तथा सञ्चार मन्त्रालयले तत्काल प्रदर्शन नगर्न निर्देशन दिएको निर्माण पक्षको अलमलमा परेको छ ।
बिज्ञापन
शुक्रबारदेखि देशभरका हलहरूमा रिलिज हुने तयारीसहित मल्टिप्लेक्सहरूमा अग्रिम टिकट बुकिङसमेत खुलिसकेको अवस्थामा गृह मन्त्रालयको समन्वयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शन रोक्न मौखिक निर्देशन दिएको निर्माण पक्षले जनाएको छ ।
बिज्ञापन
सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाएको केही घण्टामै फिल्म रोक्न निर्देशन आएपछि निर्माण टोली अन्योलमा परेको छ । चलचित्रका निर्माण टिमका अनुसार, गृहसचिवको निर्देशनपछि सञ्चार सचिवले फोन गरेर फिल्मको प्रदर्शन तत्काल रोक्न र मन्त्रालयबाट औपचारिक पत्र बुझ्न भनेका छन्। सञ्चारका कर्मचारीले फिल्मको बुकिङ नखोल्न भन्दै निर्माण पक्षलाई फोन गरेका थिए । यही महिनाको २० गतेबाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाललगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा हरिवंश आचार्य (युधिष्ठिर), जितु नेपाल (भीम), आर्यन सिग्देल (अर्जुन) जस्ता सांकेतिक नाम र चरित्रमा प्रस्तुत छन्।महाभारतलाई लाक्षणिक रूपमा जोड्दै फिल्मले मुख्यतः दाजुभाइबीचको सम्बन्ध र पारिवारिक कथालाई प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ ।
यसैबीच पाँच पाण्डव पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ। आज बिहान सञ्चार मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फिल्मकर्मीको प्रदर्शन अधिकारमा हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाएको चलचित्र जाँच पास समितिका सदस्य मनोज पण्डितले जनाएका छन् । यो सँगै भोलिदेखि पाँच पाण्डव हलहरुमा प्रदर्शन हुने बताइएको छ ।





























