नेपाल प्रहरीमा तीन दशक अगाडिकै घटना दोहोरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई आईजीपी बनाउने निर्णय गर्दा २०५३ सालको अच्युतकृष्ण खरेल प्रकरणको नजिर फेरि बहसमा आएको छ । हिजो मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रहरी प्रमुख दानबहादुर कार्कीलाई पदबाट हटाइयो । कार्कीको ठाउँमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धानमा विभागको नेतृत्व गरिरहेका एआईजी मनोज केसीलाई प्रहरी प्रमुख बनाइयो । दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्ति गरिएको दाबी सरकारले गर्यो ।
बिज्ञापन
जसरी प्रहरीमा तीन दशक अगाडिको घटना दोहोरियो उसैगरी निजामतीतर्फ पनि कतै गिरिजाकालीन घटना दोहोरिने त होइन ? अहिले यो प्रश्न उठ्न थालेको छ,निजामती वृत्तमा । पार्टीको निर्देशन अनुसार आइजीपी कार्कीलाई नहटाइएको प्रवक्ता जगदीश खरेलले स्पष्ट पारिसकेका छन् । यस्तै,रास्वपा पार्टीका सभापतिका अलवा सभामुख र विभागीय मन्त्रीसमेत संसद्मा विधेयक दर्ता भइसकेको अवस्थामा अध्यादेश ल्याउन नहुने पक्षमा छन् । अध्यादेशबाट निजामती कानुन बनाउन नहुने पक्षमा छन् । यदी अध्यादेशबाट केही नेपाल ऐन संशोधन गरी निजामतीको अवकाशको हद ५८ बाट ५५ मा झारिँदा साढे तीन दशक अगाडिकै स्थितिमा त पुर्याउने होइन निजामती सेवालाई ? ०४८/४९ मा रास्वपा सरकारभन्दा भर्भराउँदो शक्ति थियो नेपाली कांग्रेस । गिरिजाप्रसाद कोइरालाको राज थियो ।
बिज्ञापन
पञ्चायतकालीन कर्मचारी फाल्नका लागि सो समयमा ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरहद लागू गरेर एकै साथ तीन हजार कर्मचारीलाई बिदा गरिएको थियो । परिणामतः एकाध वर्षपछि नै मुख्य सचिव र सचिव बन्ने योग्य व्यक्ति नभेट्दा बाहिरबाट करारमा मुख्य सचिव र सचिवहरू भर्ती गर्नुपरेको थियोे । ती पूर्व सचिवका अनुसार सो समयमा मधुसुदनप्रसाद गोर्खालीलाई मुख्यसचिव र शारदाप्रसाद दाहाल, यादवकान्त सिलवाल, रमेशजंग थापा, दुर्गाप्रकाश पाण्डे, डा. ठाकुरनाथ पन्त, जितबहादुर मानन्धर, विन्देश्वरीप्रसाद सिन्हा लगायतलाई करारमा सचिव भर्ना गरिएको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, केही नेपाल ऐनलाई संशोधन गरी कर्मचारीको उमेर हद ५८ बाट घटाएर ३० वर्ष र ५५ वर्ष उमेर पुगेकालाई घर पठाउने गरी मस्यौदा तयार अवस्थामा छ । अध्यादेश जारी भएको बखत कुनै कर्मचारी ५४ वर्ष ११ महिना २९ दिन पुगेको रहेछ भने पनि उसले जागिरबाट हात धुनु परेन । ६० वर्षसम्म काम गर्न पाउने तर ५५ वर्ष पूरा भएका कर्मचारीलाई घर पठाउने विभेदकारी प्रावधानका कारण कर्मचारीहरू त्रस्त छन् । यो व्यवस्था लागू भएमा हाल ५९ जना सचिव रहेकामा ४७ जना घर जानेछन् ।





























