विदेशको तालिम,भ्रमण होस वा हिमाल आरोहण यस्तो लाभ मन्त्रीका सचिवालयमै बसेका कर्मचारीहरुले उठाउन थालेका छन् । पछिल्लो क्याविनेट बैठकले लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्ति पाएका सन्तोष पाण्डे,तिनैमध्येका एक थिए । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका सचिवालयमा कार्यरत रहेका उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा तत्कालीन सचिव गोपाल सिग्देलको नाम काटेर पाण्डे पुगेर फर्किएका थिए । पाण्डे असार दोसो साता मन्त्रीको सचिवालयमा सचिवसरहको पदमा नियुक्त भएका थिए । हालैमात्र उनलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्ति गरिएको छ ।
यस्तै अमेरिकामा आयोजित एक तालिमका लागि समेत मन्त्रीका सचिवालयमा रहेका कर्मचारीहरु छनोट गरेर पठाइएको छ ।
बिज्ञापन
अर्काेतिर हिमाल आरोहणका लागि सरकारले पठाउने लियोजन अफिसरको लाभ समेत मन्त्रीकै सचिवालयका कर्मचारीहरुले अवसर पाएका छन् । एकतिर एक/दुई दिन हिमाल आरोहणको रोमाञ्चक यात्राको अवसर पाइने, अर्कोतिर डलरमा झण्डै तीन सय दैनिक हात पार्ने भएपछि निजामती कर्मचारीका लागि लियाजोन अफिसर (सम्पर्क अधिकृत) हुन हरेक वर्ष होडबाजी नै चल्नेगर्छ ।
बिज्ञापन
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयमा आवद्ध दुई कर्मचारीले यस्तो लाभको अवसर पाएका हुन । मन्त्रीका आसेपासे,निकटस्थहरुले विगतमा पाउँदै आएका यस प्रकारको विकृती सुधार आउने अपेक्षा विपरित यस पटक पनि यस्तो लाभको अवसर पाउनेमा मन्त्रीका सचिवालयतिर बस्नेहरुले नै शक्तिका आडमा सम्पर्क अधिकृत तोकिएको पाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलकी निजी सचिव सुशील पनेरु र मन्त्रालयको कर्मचारी प्रशासन महाशखाका कर्मचारी सुनिल पासवानले लियोजन अफिसर हुने अवसर पाएका छन्। पनेरु र पासवान आमादब्लम हिमाल आरोहणमा लियोजन अफिसर भई फर्किसकेका छन्। लियोजन अफिसर बन्ने अवसर पाउन आफूले २०७५ सालमा तालिम लिए पनि यसपटक मात्र अवसर पाएको पनेरुले प्रतिक्रिया दिएका छन् ।
बिज्ञापन
सरकारले ६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहरणमा जाने समूहमा एकजना सरकारी कर्मचारी सम्पर्क अधिकारीका रूपमा जानुपर्ने कानुनी व्यवस्था छ । आरोहीका गतिविधि अनुगमन गरेर नियम–कानुन उल्लंघन गरेको पाइएमा कारबाही गर्ने अधिकार ती अधिकृतलाई दिइएको हुन्छ ।विभागले सो आरोहण दलको लागि भनेर भूमि व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सचिवालयमा कार्यरत रहेका उपसचिव सुनील पासवान र मन्त्रीकै सचिवालयमा कार्यरत रहेका सुशील पनेरुहरुलाई छनौंट गरेसँगै कर्मचारी वृत्तमा आलोचना शुरु भएको छ ।





























