सूर्यविनायक नगरपालिकाले पछिल्लो नौ वर्षको अवधिमा भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, खानेपानी, प्रविधि, पर्यटन र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय सुधार गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको उपलब्धिको विवरणअनुसार सडक सञ्जाल विस्तारदेखि ५० शय्याको नगर अस्पताल निर्माण, मेलम्ची खानेपानी वितरण, डिजिटल घरनक्सा पास प्रणाली र सामुदायिक विद्यालयको शैक्षिक सुधारसम्मका कामलाई प्राथमिकतामा राखिएको छ।
बिज्ञापन
नगर प्रमुख वासुदेव थापाको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको प्रशासनिक व्यवस्थापनमा नगरपालिकाले विकास निर्माणसँगै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सेवा प्रवाहका कार्यक्रम अघि बढाएको हो। राजनीतिक नेतृत्वले तय गरेका विकासका प्राथमिकतालाई प्रशासनिक संयन्त्रमार्फत कार्यान्वयन गर्ने क्रममा नगरपालिकाले पूर्वाधार र संस्थागत सुधारलाई सँगसँगै अगाडि बढाएको देखिन्छ।
बिज्ञापन
नगरपालिकाको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये जगातीमा निर्माण गरिएको ५० शय्याको सूर्यविनायक नगर अस्पताललाई लिइएको छ। अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, प्रयोगशाला तथा विद्युतीय प्रणालीबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। यसले सामान्य उपचारका लागि समेत अन्य अस्पताल धाउनुपर्ने स्थानीयवासीको बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन नगरपालिकाले ‘एक घर, एक स्वास्थ्य बीमा’ अभियानसमेत सञ्चालन गरेको छ। यसअन्तर्गत प्रतिपरिवार एक हजार रुपैयाँ प्रिमियम अनुदान दिने व्यवस्था गरिएको छ। नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने, १४ वटै वडाका स्वास्थ्य संस्थाबाट आधारभूत औषधि वितरण गर्ने तथा घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम पनि अघि बढाइएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हासिल गर्ने भक्तपुर जिल्लाकै पहिलो पालिका बनेको दाबीसमेत नगरपालिकाको छ।
बिज्ञापन
भौतिक पूर्वाधारतर्फ नगरपालिकाले सडक निर्माण र स्तरोन्नतिमा ठूलो लगानी गरेको छ। उपलब्ध तथ्यांकअनुसार नौ वर्षको अवधिमा १५९.२ किलोमिटर सडक कालोपत्रे, ३६.७ किलोमिटर सडक ढलान, ११.५ किलोमिटर सडकमा ब्लक बिछ्याउने र ८१.७ किलोमिटर सडक स्तरोन्नति तथा ग्राभेल गरिएको छ। यसैगरी ४४ वटा पक्की मोटरेबल पुल र नौ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ। ४७.६ किलोमिटर सडक ढल निकास तथा ६३.४ किलोमिटर सडक सीमांकन र सुरक्षा पर्खाल निर्माणले सहरी पूर्वाधारलाई थप व्यवस्थित बनाउने आधार तयार गरेको छ।
खानेपानीको समस्या समाधानका लागि पनि नगरपालिकाले बृहत् आयोजना अघि बढाएको छ। सूर्यविनायक बृहत् खानेपानी आयोजनामार्फत वडा नम्बर २ देखि ६ सम्म मेलम्चीको पानी वितरण भइसकेको छ भने अन्य वडामा विस्तार भइरहेको नगरपालिकाले जनाएको छ। नगरभर २६ वटा ठूला खानेपानी ट्यांकी निर्माण र १२३ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। गुन्डु तथा सूर्यविनायक तीनधारा खानेपानी आयोजनामार्फत स्थानीय मुहानको संरक्षण र वितरण प्रणालीलाई समेत सुदृढ बनाउने प्रयास गरिएको छ।
नगरपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानलाई पनि प्राथमिकता दिएको छ। घरनक्सा पासका लागि कार्यालय धाउनुपर्ने बाध्यता घटाउन घरबाटै आवेदन दिन र प्रक्रिया अघि बढाउन सकिने विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याइएको छ। पुराना घरनक्सा, लालपुर्जा तथा नागरिकका सम्पत्तिसम्बन्धी अभिलेखलाई डिजिटल रूपमा सुरक्षित गर्ने काम गरिएको छ। नगरका घरहरूमा क्युआर कोडसहितको डिजिटल घर नम्बर जडान गर्ने पहलले भविष्यमा राजस्व प्रशासन, भौगोलिक सूचना प्रणाली र विपद् व्यवस्थापनलाई एकीकृत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई केन्द्रमा राखिएको छ। नगरपालिकाले ८७ वटा शिक्षक दरबन्दी मिलान गरेको छ। कक्षा १ देखि ८ सम्म स्थानीय भूगोल, संस्कृति र पहिचान समेटिएको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी लागू गरिएको छ। विद्यालयमा विद्युतीय हाजिरी, कम्प्युटर प्रयोगशाला र शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ। पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकबीच खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरी कार्यसम्पादन करार गर्ने अभ्यासले विद्यालय व्यवस्थापनमा जवाफदेहिता बढाउने लक्ष्य राखेको छ।
त्यसैगरी नगरपालिकाभित्रका तीन हजार २५ जना जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। कक्षा ८ को परीक्षा माध्यमिक शिक्षा परीक्षा (एसईई) कै ढाँचामा सांकेतिक सङ्केत नम्बर प्रयोग गरी सञ्चालन गर्ने अभ्यासले परीक्षाको निष्पक्षता र विश्वसनीयता बढाउने प्रयास गरिएको छ।
धार्मिक तथा सांस्कृतिक पर्यटनलाई नगरको आर्थिक विकाससँग जोड्ने उद्देश्यले १५ वटा ऐतिहासिक शिवालयलाई समेटेर ‘शिव सर्किट’ मार्गको अवधारणा अघि बढाइएको छ। डोलेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, अनन्तलिङ्गेश्वर, धर्मेश्वर, छरखण्डी र रानीकोटलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरिएको छ। ऐतिहासिक फल्चा, २३ वटा पाटी तथा प्रतीक्षालय, मठमन्दिर र सामुदायिक भवनको निर्माण तथा पुनर्निर्माणले स्थानीय सम्पदा संरक्षणमा योगदान पुर्याएको नगरपालिकाको भनाइ छ।
वातावरण संरक्षण र खुला क्षेत्र व्यवस्थापनका लागि ‘फोहोरलाई मोहोर’ र ‘एक घर, दुई बिरुवा’ अभियान सञ्चालन गरिएको छ। ज्येष्ठ नागरिकका लागि १३ वटा मिलन चौतारी तथा विभिन्न स्थानमा बाल उद्यान र पार्क निर्माण गरिएको छ। खोला किनारमा तटबन्ध, करिडोर र ढल व्यवस्थापनका कामलाई पनि अघि बढाइएको छ।
रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनका लागि सिलाइकटाइ, मखमली जुत्ता निर्माण, ऊनी वस्त्र बुनाइ, ब्युटी पार्लर, हस्तकला, प्लम्बिङ तथा विद्युतीय मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ। महिला उद्यमीलाई प्रविधि हस्तान्तरण, आधुनिक कृषि औजारमा अनुदान तथा इन्डक्सन चुलो वितरणजस्ता कार्यक्रम पनि सञ्चालन भएका छन्।
खेलकुद पूर्वाधार विकासमा ५० हजार दर्शक क्षमताको राष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा व्यवस्थापन र आवश्यक प्रक्रिया अघि बढाइएको छ। नगर खेलकुद विकास समितिमार्फत १४३ जना बालबालिका तथा युवालाई निःशुल्क फुटबल प्रशिक्षण दिइँदै आएको छ। मेयर कप फुट्सल, ब्याडमिन्टन, कराँते तथा राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगितालाई नियमित बनाइएको छ।
सामाजिक सुरक्षालाई पारदर्शी बनाउन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली र बायोमेट्रिक औँठाछापमार्फत वितरण गर्ने व्यवस्था गरिएको छ। ८० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर सम्मान गर्ने, अशक्त नागरिकलाई ह्विलचेयर तथा सहायक सामग्री उपलब्ध गराउने र बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने कार्यक्रम पनि सञ्चालनमा छन्। वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गर्नु यसै अभियानको एउटा उपलब्धि हो।
उपलब्धिलाई संस्थागत बनाउने चुनौती
नगरपालिकाले सडक, पुल, खानेपानी र सार्वजनिक संरचनाको निर्माणमा उल्लेखनीय प्रगति गरेको तथ्यांक प्रस्तुत गरे पनि अबको चुनौती निर्माण गरिएका संरचनाको गुणस्तर, दिगोपना र प्रभावकारी उपयोग सुनिश्चित गर्नु हो। नगर अस्पताललाई नागरिकले विश्वास गर्ने पूर्ण सेवा केन्द्रका रूपमा विकास गर्नु, सामुदायिक विद्यालयको सिकाइ उपलब्धि सुधार्नु, सबै वडामा खानेपानीको समान पहुँच पुर्याउनु र सहरीकरणसँगै बढ्दै गएको वातावरणीय तथा पूर्वाधार व्यवस्थापनको चुनौती सम्बोधन गर्नु नगरपालिकाका आगामी प्राथमिकता देखिएका छन्।
नगरपालिकाले आगामी दिनमा करको दर बढाउनेभन्दा करको दायरा विस्तार, डिजिटल राजस्व प्रणाली र करदाता मैत्री प्रशासनलाई प्राथमिकता दिने नीति अघि सारेको छ। त्यस्तै भूमि उपयोग, सडक, ढल, खानेपानी, विद्युत् र हरियालीलाई एकीकृत गरी योजनाबद्ध सहरीकरण गर्ने तथा डिजिटल घर नम्बरलाई सम्पत्ति अभिलेख, राजस्व प्रशासन र विपद् व्यवस्थापनसँग जोड्ने लक्ष्य राखेको छ।
नगर प्रमुख वासुदेव थापाका लागि विकास निर्माणबाट प्राप्त उपलब्धिलाई दिगो र नागरिकले अनुभूति गर्ने सेवामा रूपान्तरण गर्नु राजनीतिक नेतृत्वको मुख्य परीक्षा हुनेछ। त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको प्रशासनिक समन्वय, कर्मचारी व्यवस्थापन, बजेट कार्यान्वयन र संस्थागत क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ।
समग्रमा सूर्यविनायक नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षा, डिजिटल सुशासन, धार्मिक पर्यटन र सामाजिक सुरक्षालाई विकासको प्राथमिकतामा राखेको देखिन्छ। अब यी योजनाको वास्तविक सफलता भने निर्माण भएका संरचना र सार्वजनिक गरिएको तथ्यांकमा मात्र होइन, नागरिकले पाउने सेवाको गुणस्तर, पहुँच र त्यसबाट जीवनमा आउने परिवर्तनले निर्धारण गर्नेछ।





























