स्वास्थ्य सचिव नियुक्तिमा बागमतीमा लफडा, प्रदेशकै ६ वरिष्ठ कर्मचारी आन्दोलनको तयारीमा

काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा सचिव नियुक्तिको विषय पेचिलो बन्दै गएको छ। प्रदेशमै सचिव बन्न योग्य ११औँ तहका ६ जना वरिष्ठ कर्मचारी कार्यरत हुँदाहुँदै संघीय सरकारले आफ्नै कर्मचारीलाई सचिव बनाएर पठाउने तयारी गरेको भन्दै प्रदेशका स्वास्थ्य सेवाका कर्मचारीहरू आन्दोलनको तयारीमा जुटेका छन्।

बिज्ञापन

प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीहरूले स्वास्थ्य सचिवको जिम्मेवारी प्रदेशकै कर्मचारीलाई दिनुपर्ने अडान लिएका छन्। उनीहरूले आफ्नो माग बेवास्ता गर्दै संघीय सरकारबाट सचिव पठाइए मन्त्रालयको कामकाज नै प्रभावित हुने गरी आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

बिज्ञापन

बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको सरुवा भएसँगै रिक्त भएको सचिव पदमा कसलाई जिम्मेवारी दिने भन्ने विषयले कर्मचारीबीच असन्तुष्टि बढाएको हो। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो। त्यसयता बागमती प्रदेशको स्वास्थ्य सचिवमा नयाँ कर्मचारी पठाइएको छैन।
प्रदेशको स्वास्थ्य सेवामा हाल ११औँ तहका ६ जना वरिष्ठ कर्मचारी कार्यरत छन्। विभिन्न कार्यालय तथा निकायको नेतृत्व सम्हालिरहेका उनीहरूले आफूहरूमध्येबाटै एक जनालाई सचिवको जिम्मेवारी दिनुपर्ने माग अघि सारेका हुन्।

प्रदेशका कर्मचारीले सचिव बन्न आवश्यक योग्यता र अनुभव हासिल गरिसकेको अवस्थामा संघीय सरकारबाट कर्मचारी ल्याउने तयारी गर्नु प्रदेशका कर्मचारीको वृत्तिविकासमा अवरोध सिर्जना गर्ने प्रयास भएको उनीहरूको बुझाइ छ।

बिज्ञापन

स्वास्थ्य सेवाका ११औँ तहका एक कर्मचारीका अनुसार संघीय सरकारले प्रदेशका कर्मचारीको मागलाई बेवास्ता गरे मन्त्रालयमै धर्ना दिने, कामकाजमा असहयोग गर्ने र आवश्यक परे मन्त्रालयको नियमित कामसमेत ठप्प पार्नेसम्मका कार्यक्रम अघि बढाउने तयारी भइरहेको छ।

ती कर्मचारीले प्रदेशमा कार्यरत वरिष्ठ कर्मचारीको क्षमता र अनुभवलाई बेवास्ता गरेर संघीय कर्मचारीलाई मात्रै सचिवको जिम्मेवारी दिने प्रवृत्तिको विरोध भइरहेको बताए।बागमती प्रदेशका अन्य मन्त्रालयमा प्रदेश सेवाकै ११औँ तहका कर्मचारीले सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। केही वर्षदेखि प्रदेशकै कर्मचारीलाई मन्त्रालयको प्रशासनिक नेतृत्व दिने अभ्यास भइरहेका बेला स्वास्थ्य मन्त्रालयमा भने संघीय कर्मचारी पठाउने तयारीप्रति प्रश्न उठेको छ।

कर्मचारीहरूले अन्य मन्त्रालयमा लागू भएको अभ्यास स्वास्थ्य मन्त्रालयमा किन लागू हुन नसक्ने भन्दै प्रदेश सरकारसँग जवाफसमेत मागेका छन्। एउटै प्रदेश सरकारअन्तर्गतका मन्त्रालयमा सचिव नियुक्तिको फरक अभ्यासले कर्मचारीबीच असमान व्यवहार भएको उनीहरूको गुनासो छ।

संघीय सरकारले स्वास्थ्य सचिवका रूपमा कर्मचारी पठाउने निर्णय गरे पनि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस्ता कर्मचारीलाई हाजिर नगराई संघमै फिर्ता पठाउनुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

यसअघि स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेकी स्त्रीरोग विशेषज्ञ डा. गौतम संघीय दरबन्दीकी कर्मचारी हुन्। उनी २०८१ पुस ११ गतेदेखि बागमती प्रदेशको स्वास्थ्य सचिवका रूपमा हेटौँडामा कार्यरत थिइन्। उनको सरुवापछि पुनः संघीय कर्मचारी नै पठाउने तयारी भएको भन्दै प्रदेशका वरिष्ठ स्वास्थ्य कर्मचारी असन्तुष्ट बनेका हुन्।

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारलाई प्रशासनिक रूपमा सक्षम बनाउने विषय उठिरहेका बेला आफ्नै सेवामा योग्य जनशक्ति उपलब्ध हुँदाहुँदै संघीय कर्मचारीमाथि निर्भर रहनुपर्ने अवस्थाबारे समेत कर्मचारीहरूले प्रश्न उठाएका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष