अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। गृह मन्त्रालयको कात्तीक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सहज सेवा दिन प्रदेशअनुसार तीन जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराइने भएको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था लागू गरिएको हो । गृह मन्त्रालयले जुनसुकै जिल्लाको नागरिक भएता पनि नागरिकताको प्रतिलिपि दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।
बिज्ञापन
गृहको परिपत्रबमोजिम जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै आगलागी भएर वा पानीमा भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा सो सेवा लिन सक्ने जानकारी दिएको छ । जसअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले जिल्ला प्रशासन कार्यालय काठमाडौं वा मातहतका कार्यालयबाट, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले ललितपुरबाट तथा कोशी र मधेश प्रदेशका नागरिकले भक्तपुरबाट सेवा लिन सक्नेछन्।
बिज्ञापन
जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा भएको विवरणसँग हुबहु मिलेको अवस्थामा मात्र नागरिकताको प्रतिलिपि जारी गरिने प्रशासनले स्पष्ट पारेको छ । अभिलेख नमिलेमा, नाम, थर वा जन्ममिति सच्याउनुपर्ने भएमा अथवा नागरिकता शंकास्पद देखिएमा भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्ने जनाइएको छ । यसअघि नागरिकताको प्रतिलिपि सम्बन्धित जिल्लाबाट मात्रै लिनसक्ने व्यवस्था थियो





























