सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको एक गेस्टहाउसबाट १२० ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
बिज्ञापन
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले कात्तिक ९ गते राति काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नम्बर ६ बाट दुई जनालाई नियन्त्रणमा लिएको हो।
बिज्ञापन
पक्राउ पर्नेहरूमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–५ स्थायी घर भएका ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा परिचालित टोलीले लागुऔषध ब्राउन सुगरको बेचबिखन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बिज्ञापन
सशस्त्र प्रहरीले उनीहरूको साथबाट १२० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल फोन र चार हजार ५५० रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ।
लागुऔषधको अवैध कारोबार भइरहेको सूचनापछि एपीएफ इन्टेलिजेन्स ब्युरोले निगरानी तथा विशेष अपरेसन सञ्चालन गरेको थियो। सोही क्रममा गेस्टहाउसको कोठाबाट उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै जना तथा बरामद लागुऔषध, मोबाइल र नगद थप अनुसन्धान एवं आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता थापाले जानकारी दिए।
लागुऔषधको स्रोत, कारोबारमा अन्य व्यक्तिको संलग्नता र सम्भावित सञ्जालबारे थप अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।





























