इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका इटहरी उपमहानगरपालिकाको योजना शाखाका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका हुन । गत भदौ २५ गते आफ्नै कार्यकक्षमा अधिकारीमाथि चौधरीले कुटपिट गरेको भन्दै २७ गते इलाका प्रहरी कार्यालयमा प्रमाणसहित उजुरी दिएको भए पनि चौधरी पक्राउ परेका थिएनन् । गत असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि लामो समयसम्म पक्राउ गर्न सकेको थिएन,प्रहरीले । पक्राउ पूर्जी जारी भएको झण्डै महिना दिन पछि उनी पक्राउ परेका हुन । प्रहरीले उनलाई इटहरीको पश्चिम लाइनबाट पक्राउ गरेको हो ।
बिज्ञापन
योजनाका नाममा खाजा खर्च भन्दै रकम उठाउने र त्यसमा एलिनाको समेत नाम जोड्ने विषयमा विवाद भएको थियो । विवादकै बीच एलिनाको वडा नम्बर ९ बाट वडा नम्बर ३ मा सरुवा भएको थियो। सरुवाको विषयमा भएको विवादका क्रममा चौधरीले कार्यकक्षमै पुगेर एलिनामाथि हातपात गरेको बताइएको छ ।





























