राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले पार्टीको छानबिन समितिलाई महिलासँगको विवादसम्बन्धी अडियो आफ्नो नभएको बयान दिएका छन् । सांसद सुनारले अनुशासन समितिलाई लिखित रूपमा इन्कारी पत्र बुझाएका हुन् ।
बिज्ञापन
एक महिलासँगको विवादित संवाद सार्वजनिक भएपछि उनले उक्त अडियो आफ्नो नभएको र पूरै कृत्रिम (एआई प्रविधिबाट निर्मित) रहेको दाबी गर्दै पार्टीमा इन्कारी पत्र पेश गरेका हुन् ।
केही दिनअघि सुनार र एक महिलाबीच विवाद भइरहेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएसँगै रास्वपाले अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सांसद सुनारले यसअघि सामाजिक सञ्जालमा राखेका स्पष्टीकरणहरुकै आधारमा लिखित पत्र पेस गरेका छन् । सुनारले प्रहरीको भ्रष्टाचारको मुद्दा उठाएका कारण आफूमाथि सुनियोजित प्रहार भइरहेको जिकिर गर्दै आएका छन् ।
बिज्ञापन
सुनारले भने अडियो आफ्नो नभएको र एआईनिर्मित भएको भन्दै आफूलाई बदनाम गर्ने प्रयास भएको दाबी गर्दै आएका छन् । सुरुमै भिडियो सन्देश जारी गर्दै सुनारले इन्कार गरेको भए पनि उनीमाथि पार्टीले अनुसन्धान अघि बढाउनुका साथै सार्वजनिक कार्यक्रममा जान रोक लगाएको छ ।
उनले आरोप सीधै अस्वीकार गरेपछि छानबिन समितिले सत्यतथ्य पत्ता लगाउन ‘स्वतन्त्र प्राविधिक प्रमाण’ को खोजी तीव्र पारेको छ । समितिले उक्त सामग्री सार्वजनिक गर्ने ‘जनआस्था’ पत्रिकाबाट सम्पादन हुनुअघिको मूल अडियो मागेको छ भने, पीडित भनिएकी महिलाले दिएको अन्तर्वार्ताको अडियो प्राप्तिका लागि ‘न्युज २४’ लाई पनि पत्राचार गरेको छ । प्राप्त अडियोहरूलाई आन्तरिक रूपमा भेरिफाई गर्ने र आवश्यक परे प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायमा पठाइने पनि समितिले जनाएको छ ।





























